देशमा मान्छेभन्दा अरु उत्पादन नहुने, कसरी समृद्ध बन्छ ?

0
8861

“भ्रष्टाचारीहरुले ढुक्कसँग छातिफूलाएर हिंडेका छन् । बलात्कारीहरु निर्धक्क छन् । ज्यानमाराहरु सुरक्षित भइरहेका छन् ।”

बिर्तामोड । अनेरास्ववियु (छैठौं) को २१ औं सम्मेलनको प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले प्रश्न गर्नु भयो– यहाँ उत्पादन हुने मान्छे मात्रै, अनि कसरी बनाउनु हुन्छ देश समृद्ध ?
                   “साथीहरुले देश समृद्धी तिर लानुपर्छ भन्नु हुन्छ, कसरी लानु हुन्छ देश समृद्धि तीर ? शिक्षा निजीकरण, राज्यले शिक्षाको जिम्मा नलिने, बोर्डिङ खोल्नेहरुले कति र कसरी शुल्क लिने भन्ने व्यवस्था समेत नमिलाउने । अस्पतालमा जोसँग पैसा उसैले उपचार गरेर बाच्ने अधिकार छ, जोसँग पैसा छैन उसलाई मर्ने अधिकार छ– बाच्ने अधिकार छैन ।” केसीले सरकारमाथि प्रश्न सोझ्उँदै भन्नु भयो– “शिक्षा निजिकरण, स्वस्थ्य निजिकरण, आवश्यक खाद्यान्न विदेशबाट ल्याउनु पर्ने । यहाँ उत्तपादन हुने मान्छे मात्रै, अनि कसरी बनाउनु हुन्छ देशलाई समृद्ध ?”
                  “पहिले पनि महंगीको भार थियो, कुशासनको मार थियो । अहिले साथीहरुले दुई तिहाइको सरकार बनाउनु भयो । चुनावको बेलामा धेरै कुराहरु नेपाली जनतालाई आश्वासन दिनुभयो वहाँहरुले । तर नेपाली जनताले भोग्न के पर्यो भने यो सरकार आउनु भन्दा पहिले जेहालत थियो, त्यही हालत अझै बढेको छ ।” केसीले भन्नु भयो– “महंगीले ढाड भाँचिएको छ । भ्रष्टाचारीहरुले ढुक्कसँग छातिफूलाएर हिंडेका छन् । बलात्कारीहरु निर्धक्क छन् । ज्यानमाराहरु सुरक्षित भइरहेका छन् । ‘जुन मायाँ लाएनी, मलाई त त्यत्तीकै….’ भने जस्तो खासै नेपाली जनताले अनुभव गर्न पाएका छैनन् ।”
              “यो बन्नुभन्दा पहिलेका सरकारमा जुन विकृतीहरु थिए, विसंगती थिए त्यसमा वहाँहरुले सुधार ल्याउनु हुन्छ भन्ने हामीलाई पनि विश्वास थियो तर त्यो प्रगति भएन्” केसीले भन्नु भयो ।
                 दशैं आको छ, सरकारले ६३ रुपियाँदेखि ७० रुपियाँ किलो चिनी बेच्न भन्छ व्यापारीहरुलाई । तर दलाल व्यापारीहरुले पाकिस्तानबाट–हिन्दूस्थानबाट पहिल्यै चिनी ल्याइसके । सरकारले बल्ल भन्छ एकलाख टनभन्दा बढि चिनी विदेशबाट ल्याउन नपाइने । पहिल्यै चिनी ल्याउन दिने त्यसपछि रोक्नुको कुनै अर्थ नभएको केसीले बताउनु भयो ।
                    दलाल व्यापारीहरुले नेपाली चिनीको नाममा राष्ट्रको ढुकुटी स्वाह पार्नुका साथै उखु किसानहरुमाथि कुठारानघात गरेको केसीको भनाई थियो । सरकारले उखु किसानहरुलाई कहिल्यै पनि सहुलियत नदिएको तथा मदत नगरेको समेत केसीले उजागार गर्नु भयो । स्वयं उखु किसानहरुले खतरा मोलेर उखु उत्पादन गरिसकेपछि पनि सरकारले मुल्य निर्धारण नगर्नुको कारण विदेशी कम्पनीबाट नाफा पाउने र उनीहरुलाई रिझाउने उदेश्यले नै काम गरेको केसीले बताउनु भयो । “देशको राष्ट्रिय उद्योग, कलकारखाना चौपट हुनुको पछाडिको मुख्यकारण स्वदेशी दलाल व्यापारीहरु र उनीहरुलाई संरक्षण गर्ने राज्यव्यवस्था नै हो” केसी भन्नु भयो ।
                        कुनै वेला नेपालले उत्तर कोरिया, दक्षिण कोरिया र भारत समेतलाई दाल चावल निर्यात गर्ने गर्दथ्यो तर यो बर्षको बैशाखदेखि ६ महिनामा १७ अरबको अन्न आयात गर्नुपर्ने अवस्था अत्यन्तै दु:खद भएको केसीले बताउनु भयो । “तपाईले दाल अर्कैको देशबाट, चामल अर्कैको देशबाट, चिनी अर्कैको देशबाट, धनीयाँ सम्मन रुसबाट ल्याउनु पर्ने भए पछि कति दिन टिक्छ देश ? ल भन्नुस त…. देश यसरी चौपट भॉछ ।”
                    नेपाल विदेशीहरुको बजार, विशेष गरेर भारतको बजार केसीले बताउनु भयो । “अहिले त चाइनाको बजार पनि भइसकेको छ ।” केसीले थप्नु भयो– “जब तपाईले आफ्नो देशमा उद्योग धन्दा चलाउनु हुन्न, कलकारखाना खोल्नु हुन्न, तपाई प्राधिन बन्नु हुन्छ । तपाई प्राधिन भईकेपछि तपाईलाई प्राधिन बनाइराख्नका लागि संघीयता बोकाइ दिएको हो” केसीको तके थियो ।
                “संघीयता तपाई–हाम्रो समृद्धिको लागि होइन, विकासको लागि होइन, जनताको अधिकारको लागि होइन, संघीयता हिमाल र पहाडबाट तराईलाई अलग गर्ने, कालन्तरमा यसलाई सिक्किम–भुटान बनाउने छिमेकीको योजना हो ।” केसीले भन्नु भयो– “अमेरिकन र युरोपियनहरुको योजना– नेपालका १२५ जातिहरु छन् त्यस मध्यबाट ८–१० वटा जातिहरुलाई राज्य दिने र अरु जातिहरुसित लडाई गराउने उदेश्यका साथ आएको हो संघीयता ।”
             “हाम्रो समृद्धीका लागि, विकासको लागि होइन संघीयता भन्ने तपाइहरुले बुझिसक्नु भयो । तपाईको घर दैलोमा आइसक्यो संघीयता । त्यसो हुनाले यदि नेपाली जनताले संघीयता खारेज गरेनन् भने संघीयताले यो देश खारेज गर्दछ” केसीले थप्नु भयो ।
                  “आफ्नो देशको राष्ट्रपति आउँदा बाहुन राखेर चोख्याउने, प्रधानमन्त्री आउँदा सांसदहरुले बहिष्कार गर्ने, छिमेकी प्रधानमन्त्री आउँदा धुप हालेर बर्तबन्ध गर्ने के भयो संघीयता, बुझ्नु भएन ?” केसीले अगाडि भन्नु भयो– “त्यो दुई नम्बरका ८वटा जिल्लालाई हिमाल चाहिंदैन, पहाड चाहिंदैन ? कुनै प्रणाली सित राष्ट्रिय जनमोर्चाको पूर्वाग्रह  होइन ।”

संघीयता विष वृक्ष हो : सांसद दुर्गा पौडेल

                राजमो केन्द्रीय प्रवक्ता तथा प्रतिनिधि सभा सांसद दुर्गा पौडेलले सम्मेलनलाई शुभकामना मन्तव्य दिंदै संघीयता विष वृक्ष भएको बताउनु भयो । वहाँ भन्नु भयो– “संघीयता विष वृक्ष हो, यसलाई जति लामो समय राखि रहन्छौं यसले देशलाई नै खारेज गरिदिन्छ ।”
                 संघीयताले नेपाली जनतामाथि करको बोझ लादेको बताउँदै पौडेलले भन्नु भयो– “अहिले देशमा जुन कर लादिएको छ, त्यो देश विकासको लागि नभएर प्रादेशीक खर्च सञ्चालन गर्नका लागि जनता माथि जबरजस्ति लादिएको हो कर भार हो ।”
                  “प्रादेशिक प्रशासनिक खर्च चलाउनको निम्ती लगाइएको करले स्थानीय तहलाई विकासको मूल मुहानबाट नै कुण्ठित बनाइएको छ । विकासको बजेट समेत कटौती गर्नुको मूल कारण पनि प्रादेशि प्रशासन सञ्चालनका लागि यसो गरिएको हो” पौडेलले भन्नु भयो ।
                     प्रमुख अतिथि चित्रबहादुर केसीले दीप प्रज्वलित गरि उद्घाटन गर्नुभएको सो कार्यक्रम युनियनका अध्यक्ष विमल पोखरेलको अध्यक्षता र भिमलाल पोखरेलको सञ्चालनमा अगाडि बढेको थियो । उपस्थित जनसमुदायहरुलाई केन्द्रीय सदस्य बबिन राई र रक्तिमका कलाकारहरुले स्वागत गर्नुभएको थियो ।
                    सम्मेलनलाई नेपाल कम्यूनिष्ट पार्टी (मसाल) केन्द्रीय समितिका प्रवक्ता रामप्रकाश पुरी, ट्रेड युनियनका अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल किसान महासंघका शिवहरी खनाल, अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, जनजाति सम्मेलनका तुलमान राई, रक्तिम अभियान केन्द्रीय समितिका सदस्य हेमराज आश्रम लगायतका अतिथिहरुले आतित्थ्यता तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।
               त्यस्तै दिनेश थापा, घनश्याम न्यौंपाने, सुरेन्द्र भण्डारी, राधिका ढकाल,  मदन भट्टराई, सुनिता बराल, रेशम कंडेल, गणेश अधिकारी एसि भण्डारी लगायतले पनि आतित्थ्यता तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।

विर्तामोडमा अखिल (छैठौं)को झण्डा फरर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here