राजमो नेता मनोज भट्ट पितृशोकमा

0
612
धनगढी । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बुवा नन्दलाल भट्टको ८३ वर्षको उमेरमा निधन भएको छ । भट्टको २०७५ भाद्र १८ गते सााझ धनगढी तारानगरस्थित आफ्नै निवासमा निधन भएको हो ।
                     नेता भट्टका बुबाको निधनप्रति राष्ट्रिय जनमोर्चाले दु:ख व्यक्त गरेको छ । अध्यक्ष चित्रशहादुर केसीले एक शोक वक्तव्य प्रकाशित गरी मृतकप्रति श्रद्वाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको हो । भदौ १९ गते जारी शोक वक्तव्यमा अगाडि भनिएको छ– “राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बुबा नन्दलाल भट्टको दु:खद निधन भएको छ । यस दु:खद घडीमा हाम्रो पार्टी मृतक भट्टप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवार जनमा हार्दिक समवेदना प्रकट गर्दछ ।”
भट्टका बुबा नन्दलाललाई लामो समयदेखि हृदय तथा फोक्सो सम्बन्धी समस्या थियो । भट्टको मङ्गलबार बिहान मोहनाघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अघि उहाँको पार्थिव शरीरमा प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधि सभा सदस्य प्रेम आले, धनगढी उपमहानगरपालिकाका प्रमुख नृप ओड लगायतले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
शोकसभामा राजमोका केन्द्रीय सदस्य नन्दराज भट्टले सञ्चालन गर्नु भएको थियो भने राजाराम चौधरी, राजमो जिल्ला अध्यक्ष लोकेन्द्र लम्साल, प्रदेश सभा सांसदहरु टेक बहादुर रैकाल, पूर्ण जोशी र डोटी गाउँपालिकाका अध्यक्षहरुले मन्तव्य राख्नु भएको थियो । त्यस्तै, श्रद्वाञ्जली सभा तथा अन्त्येष्टिमा प्रदेश नंं. ७ लगायतका स्थानबाट राजमो नेता कार्यकर्ता, पत्रकार, व्यापारी, बुद्विजीवी तथा आफन्तजनको बाक्लो उपस्थिति रहेको थियो ।
काजकिरिया नगरिने
यसैबीच, बुबाको निधनप्रति परम्परागत रुढिवादी ढङ्गले काजकिरिया नगरिने मनोज भट्टले बताउनु भएको छ । उहाँले आधुनिक प्रगतिशील संस्कार अनुसार बुबाप्रति श्रद्वाञ्जली अर्पण गरिने बताउनु भयो । नेता भट्टको राजनीतिक जीवनमा बुवा नन्दलालको सधैं साथ र सहयोग रहँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here