राजमोद्वारा दुई महिने आन्दोलन घोषणा

0
358

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सङ्घीयता, करवृद्धि, महङ्गी र भ्रष्टाचारका विरुद्ध यही भदौ र असोज गरी दुई महिने सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । राजमो अध्यक्ष चित्र बहादुर केसीद्वारा २०७५ भदौ १२ गते एक प्रेस वक्तव्य जारी गर्दै सो जानकारी दिइएको हो ।

वक्तव्यमा करवृद्धि सङ्घीयताकै परिणाम भएको उल्लेख गर्दै सङ्घीयताको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणालीको स्थापनामा जोड दिइएको छ । त्यसका लागि आन्दोलनको आवश्यकतामाथि जोड दिइएको छ । वक्तव्यमा स्थानीय निकायले लगाउने करमा कमी ल्याउन केन्द्रले स्थानीय निकायलाई दिने अनुदानमा वृद्धि गर्न आग्रह गरिएको छ ।

अध्यक्ष केसीद्वारा हस्ताक्षरित वक्तव्यमा अगाडि भनिएको छ– “देशमा बढिरहेको करवृद्धिप्रति राष्ट्रिय जनमोर्चाले तीव्र असन्तोष र विरोध प्रकट गर्दछ । अहिले भइरहेको करवृद्धि सङ्घीयताको नै परिणाम हो । सङ्घीयताको सन्दर्भमा प्रादेशिक संरचनाको बढेको खर्चले गर्दाखेरी नै सरकारले कर बढाउादै लगेको छ । त्यसकारण सङ्घीयतालाई खारेज गरेर नै अहिलेको बढेको करलाई कम गर्न सकिन्छ र गर्नु पर्दछ भन्ने हाम्रो पार्टीको दृढ मत छ । हाम्रो यो स्पष्ट मत छ कि सङ्घीयतालाई खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणालीको स्थापना गर्नु पर्दछ । त्यस प्रकारको प्रजातान्त्रिक विकेन्द्रीयताका पक्षमा आधार तयार पार्नका लागि स्थानीय तहलाई अरु शक्तिशाली र अधिकारसम्पन्न बनाउनु पर्ने आवश्यकता छ ।

अहिले स्थानीय तहमा बढिरहेको करवृद्धिप्रति पनि हाम्रो पार्टीले गम्भीर चिन्ता प्रकट गर्दछ र त्यसलाई कम गर्नु पर्ने आवश्यकता छ । सङ्घीयता अन्तर्गत प्रादेशिक संरचनाको अत्यधिक खर्च बढेको हुनाले स्थानीय तहलाई केन्द्र सरकारबाट मिल्ने अनुदान धेरै नै कम भएको छ । त्यसलै हाम्रो जोड स्थानीय तहले लगाउने कर कम गरेर उनीहरुलाई केन्द्रबाट मिल्ने अनुदान बढाउनु पर्दछ । त्यसो भयो भने स्थानीय तहले लगाएको कर कम हुन सक्नेछ ।

करमा वृद्धिका साथै देशमा महङ्गी र भ्रष्टाचार पनि धेरै बढेर गएको छ । त्यसैले राष्ट्रिय जनमोर्चाले करमा भएको वृद्धिका साथै महङ्गी, भ्रष्टाचार तथा सङ्घीयता समेतका विरुद्ध देशव्यापी रुपमा आन्दोलन गर्नका लागि सम्पूर्ण जनतासित अपिल गर्दछ । त्यसका लागि हाम्रो पार्टीले भाद्र र असोज २ महिनासम्म जिल्ला स्तरमा विभिन्न जिल्लाहरुले आफ्नो आफ्नो आफ्नो कार्यक्रम बनाएर उक्त विषयहरुमा आन्दोलन सङ्गठित गर्नका लागि पार्टीका सबै समिति, सदस्य तथा समर्थक समेतसित अनुरोध गर्दछौा । उक्त कार्यक्रमहरुलाई सफल पार्न विभिन्न जनवर्गीय सङ्गठनहरुका साथै अन्य विभिन्न पक्षहरुसित पनि समन्वय गरेर कार्यक्रम सफल पार्न हामीले प्रयत्न गर्नु पर्नेछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here