महेन्द्रनगर । निर्मला पन्त हत्या प्रकरण झन्पछि झन् पेचिलो र रहस्यमयी बन्दै गैरहेको छ । बलत्कार र हत्यामा संलग्न दोषी पत्ता लगाएर कडाभन्दा कडा कार्वाही अघि बढाउन चौतर्फी दबाब बढेपछि घटनाको २५ औँ दिनमा प्रहरीले उक्त घटनामा संलग्न रहेको भन्दै एक व्यक्तिलाई त सार्वजनिक गर्यो तर प्रहरीले सार्वजनिक गरेको व्यक्तिलाई ‘नक्कली’ भएको भन्दै स्थानीयले आन्दोलन झन् चर्काएका छन् । वास्तविक अपराधीलाई जोगाउन प्रहरीले ‘नक्कली अपराधी’ खडा गरेको स्थानीयको आरोप छ ।
गत साउन ११ गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै स्थानीयवासीले मङ्गलबार महेन्द्रनगर बजार बन्द गराउँदा आन्दोलनले उग्ररूप लिएपछि तनावग्रस्त बन्दै गएको छ । प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको र मानसिक सन्तुलन गुमेको व्यक्तिलाई पक्राउ गरेको भन्दै स्थानीय थप आक्रोशित भएका हुन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले हत्या भएको २५ दिनमा २०७५ भाद्र ४ गते पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीप सिंह विष्टलाई सार्वजनिक गरेको थियो । बागफाँटाका विष्ट मानसिक अवस्था ठिक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीको आरोप छ ।
नागरिक सङ्घर्ष समिति बनाएर स्थानीयवासी लामो समयदेखि आन्दोलनमा छन् । उनीहरूले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई बलात्कारपछि हत्या गरेको अभियोगमा सार्वजनिक गरेर प्रहरीले घटनाको वास्तविकता लुकाउन खोजेको आरोप लगाएका छन् । नागरिक समाज र अधिकारकर्मीले वास्तविक हत्यारालाई सार्वजनिक गर्न दबाब दिइरहेका छन् ।
निर्मला गत साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । स्थानीयले दिलिप वास्तविक हत्यारा नभएको र प्रहरीले पीडकलाई उन्मुक्ति दिन खोजेको आरोप प्रहरीमाथि लगाएका छन् । केही दिन अघि केन्द्रीय अनुसन्धान ब्युरो (सी.आई.बी.) र कञ्चनपुर प्रहरीको टोलीले विष्टलाई पक्राउ गरेको थियो । विष्ट यस अघि पनि आफ्नै भिनाजुको हत्या अभियोगमा २०६५ मा जेल परेका थिए । जेल सजाय काटेर निस्किएका विष्ट होटलमा भाँडा माझ्ने, मजदुरी गर्ने लगायत काम गर्दै आएका थिए । पक्राउ परेका विष्टलाई कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गराइएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संग्लन एक प्रहरीका अनुसार पक्राउ परेका विष्टले बयानका क्रममा आफूले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । “१० गते बाटोमा हिँडिरहेको बेला निर्मलाको साइकलको चेन खराब भएको थियो । चेन खराब भएपछि मैले मिलाइदिएँ, अनि कोही नभएको देखेपछि उखुबारीमा लगेर बलात्कार गरेँ । बलात्कार गर्दा उनी चिच्याउन थालेपछि पक्राउ पर्ने डरले मैले हत्या गरेको हुँ” अभियुक्त विष्टको भनाइ रहेको स्रोतको दावी छ ।
अविवाहित विष्टलाई प्रहरील केही दिन अघि नै पक्राउ गरेको भए पनि सार्वजनिक नगरी अनुसन्धान गरेको थियो । “प्रारम्भिक अनुसन्धानबाट विष्टको संलग्नता पुष्टि भएको छ, बाँकी अनुसन्धानकै क्रममा छौँ” एक प्रहरी अधिकारीले भने ।
निर्मला १८ वडामा रहेको साथी रोश्नी बमको घरमा गएकी थिइन् । साथीको घरमा गएकी निर्मला अर्को दिन उखुबारीमा मृत फेला परेकी थिइन् । प्रहरीले सोमबार पत्रकार सम्मेलन गर्दै विष्टले बलात्कारपछि निर्मलाको हत्या गरेको दाबी गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डी.एस.पी. ज्ञान बहादुर सेठीले प्रहरीले वास्तविक हत्यारालाई नै पक्राउ गरेको दाबी गरे पनि आन्दोलनले उग्र रूप लिदै गएको छ । अहिले कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर तनावग्रस्त बन्दै गएको छ । मङ्गलवार विरोध प्रदर्शनका क्रममा स्थानीयले जिल्ला प्रशासन कार्यालयको गेट तोडफोड गर्न खोजेपछि प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ ।
– लक्ष्मी चौधरी