काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रवक्ता तथा सांसद दुर्गा पौडेलले नागरिकतासम्बन्धी नीति फितलो पारिएकोमा संसदमा रोष प्रकट गर्नु भएको छ । गृहमन्त्री राम बहादुर थापाले नेपाल नागरिकता पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भनी संसद बैठकमा राखेको प्रस्तावमाथि छलफलका क्रममा २०७५ साउन २९ गते बसेको संसद बैठकमा बोल्दै सांसद पौडेलले उक्त रोष प्रकट गर्नु भएको हो ।
“प्रस्तुत विधेयकमा नागरिकतासम्बन्धी नीति झनै फितलो बनाइएको छ” उहाँले भन्नु भयो– “सभामुख महोदय, नागरिकता दिने विधि बसको टिकट जस्तो बनाउनु हुँदैन । यस विषयमा राज्य कठोर बन्नै पर्दछ ।” सांसद पौडेलले बोल्ने क्रममा छिमेकी मुलुकमाभन्दा हाम्रोमा नागरिकताको नीति फितलो रहेको बताउनु भयो । “छिमेकी मुलुकमा बुहारीले नागरिकता पाउन ७ वर्ष कुर्नु पर्छ” उहाँले प्रश्न गर्नु भयो– “हाम्रोमा फितलो नीति किन ?” हाम्रो देशको सन्दर्भमा नागरिकतासम्बन्धी नीति अपनाउँदा झनै गम्भीरता र कठोरता अपनाउनु पर्नेमा उहाँको जोड थियो । “हाम्रो देशको वस्तुस्थितिमाथि विचार गर्ने हो भने नागरिकतासम्बन्धी नीति अपनाउँदा हामी झनै गम्भीर बन्नु पर्दछ” उहाँले भन्नु भयो– “नागरिकता दिने विधि कदापि फितलो बनाउनु हुँदैन ।”
सोही संसद बैठकमा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले नेपाली पाहेक अन्य मुलुकका नागरिकले नेपालमा सन्तान जन्माएकै आधारमा नागरिकता दिन नसक्ने व्यवस्था गर्नु पर्ने बताउनु भयो । “सरकारले अघि सारेको विधेयकमा नागरिकता लिन बसको टिकट लिनुभन्दा पनि सहज भयो” सांसद सुवालले भन्नु भयो– “कुनै पनि अवस्थामा विदेशीले नेपाली नागरिकता पाउनु हुँदैन । यसलाई सच्चाउनु पर्छ ।” सत्ता पक्षीय सांसद भिम रावलले उक्त छलफलमा बोल्दै सरकारले संसदमा ल्याएको विधेयक संविधानसँग बाूझिएको बताउनु भयो । उक्त दिन गृहमन्त्री थापाद्वारा राखिएको सो प्रस्तावमाथिको छलफलमा सांसदहरू डिला सङ्ग्रौला, शान्ति तामाङ, लक्ष्मी परियार, विन्दा पाण्डे, सरला कुमारी यादव, अनिल कुमार झा र ह्दयेश त्रिपाठी लगायतले समेत बोल्नु भएको थियो ।
गृहमन्त्री थापाले सांसदहरूले उठाएका विभिन्न जिज्ञासाहरूको जबाफ दिदै प्रस्तुत विधेयक विभेदकारी लाग्छ भने सदनले परिमार्जन गरेर सच्चाउन सक्ने बताउनु भएको थियो ।