जेरूसेलम । करिब एक हप्ता लामो सीमा विवादपछि इजरायलद्वारा गाजाबाट प्यालेस्टाइनी नागरिकका लागि प्रवेश गर्न खुला राखेको एक मात्र सीमा प्रवेशद्वार समेत आइतबारदेखि मानवीय सहायताका लागि वाहेक अन्य अवस्थामा बन्द गरेको छ ।
प्यालेस्टाइनी तथा इजरायली समूहबीच लामो समयदेखि कायम रहेको विवादलाई सुल्झाउन पछिल्ला केही महिना यता अन्तर्राष्ट्रिय समुदाय तथा संयुक्त राष्ट्र सङ्घ लगायतका सङ्घ/संस्थाले विवादलाई अन्त्य गर्न गरेका पहलहरू यससँगै तत्काललाईपछि धकेलिने सम्भावना बढेका छन् । इजरायलको पछिल्लो यो कदमले गाजावासीलाई इद–अल–अधाको अवसरमा पाउने एक हप्ता लामो विदाका लागि समेत बाटोको प्रयोगमा बन्देज लाग्ने भएको छ । मुसलमानहरूको उक्त पर्व सोमबार सुरु भई आगामी बिहीबारसम्म रहनेछ ।
इजरायली अधिकारीले उक्त नाका कति समयसम्मका लागि बन्द हुने हो ? यसबारे केही बताएका छैनन् । इजरायली रक्षामन्त्री अभिडोर लिबरम्यानद्वारा हस्ताक्षरित विज्ञप्तीमा सीमाक्षेत्रमा गत शुक्रबार भएका हिंसात्मक गतिविधिका कारण गाजाबाट इजरायलतर्फ प्रवेश गर्ने नाकालाई बन्द गरिएको बताइएको छ । नाकाबन्द गरिएको उक्त विषयलाई इजरायली नागरिक मामिला हेर्ने कार्यालयका अधिकारीले औषधि तथा अन्य मानवीय सहयोगका लागि वाहेक उक्त नाका बन्द रहने बताएका छन् ।
गत शुक्रबार सीमाक्षेत्रमा प्यालेस्टाइनी नागरिकहरूले गरेको प्रदर्शनमा दुई प्यालेस्टाइनीको मृत्यु भएको थियो । इजरायली सेनाले सीमा क्षेत्रमा हाते बम तथा घरेलु विष्फोटक पदार्थद्वारा समेत प्रदर्शनकारीले सीमाबारमा आक्रमण गरेको दावी गरेका छन् । प्रदर्शनका क्रममा इजरायली पक्षतर्फ कोही घायते भएको सूचना छैन भने सीमानाकाको प्रयोग गरी एकाध प्यालेस्टाइनी इजरायली क्षेत्रतर्फ जान सफल भएको बताइएको छ ।
इजिप्ट र संयुक्त राष्ट्र सङघ्का अधिकारीद्वारा इजरायली तथा हमास पक्षधरबीच शान्तिका लागि गरेको प्रयासका बाबजुद गत हप्ता उक्त प्रदर्शन भएको थियो । इजरायलले गाजातर्फबाट प्रवेश गर्ने हवाइ, जमिन तथा सामुद्रिक बाटोलाई एक दशकदेखि बन्द गर्दै आएको छ । तर केही प्यालेस्टाइनीलाई भने आवश्यकता तथा सुरक्षा अवस्थालाई निगरानी गर्दै प्रवेश दिने गरेको छ । दुई पक्षबीच २००८पछि तीन पटक लडाई भएको छ । – एजेन्सी