भारतमा रहेका सिङ्गै उपमहादिपको सवालमा नेपाल सरकारको रवैया औपचारिकप्रकारको छ । भारतका तत्कालिन सामन्तहरूबाट पद्वी लिने परम्पराबाट सुरू भएको भारतपरस्त रवैया अहिलेका शासकहरूमा अझ बढी विकसित (?!) भएको अवस्थामा भारतस्थित नेपालीहरूको हकमा पनि त्यसकै छायाँ परिरहेको स्थिति छ । राजदुतावासजस्ता वैधानिक निकायको भुमिकालाई एकातिर राखेर सिधै नेपाली राष्ट्र प्रमुखहरूको बारेमा कुरा गर्ने हो भने स्थिति निराशाजनक नै छ । अहिलेसम्म जति पनि प्रधानमन्त्री, मन्त्रीहरू भारत जाने गरेका छन्, उनीहरूले दुतावासमा औपचारिक कार्यक्रम राखेर भेटघाट, चियापान गर्ने कार्यक्रम त छ तर समस्या समाधानका लागि पहलकदमी भएको पाइँदैन । भारत पुग्ने नेपाली राष्ट्र प्रमुखहरूको साझा अभिव्यक्ति हुन्छ- ‘तपाईहरूले यहाँ (भारतमा) सिकेको सिप, कला लिएर नेपाल फर्कनुहोस् । हामी तपाईहरूलाई स्वागत गर्न तयार छौँ ।’ अहिलेसम्मका सबै राष्ट्र प्रमुखहरूले भारतस्थित नेपालीहरूका समस्याका बारेमा कुराकानी गर्नेसम्मका आश्वासन दिन सकेका छैनन् । जहाँसम्म दुतावासको सवाल हो, त्यो एउटा प्रशासकीय इकाई भएकाले र नेपाल सरकारको निर्देशनमा चल्ने भएकाले आफ्नो चरित्रअनुसार भुमिका खेल्ने गर्दछ । प्रष्टै छ कि सरकारको भुमिका नै असन्तोषजनक भएको स्थितिमा दुतावासको भुमिका सन्तोषजनक हुँने त सम्भावना नै रहेन ।
भारतका सङ्गठनहरूले नेपाली राष्ट्र प्रमुख (कतिपय अवस्थामा राजनीतिक दलका प्रमुखहरूलाई पनि) हरूलाई ज्ञापन दिएर समस्याबारे अवगत गराउँछन् । त्यसवाहेक व्यक्तिगतरुपमा पनि समस्या राख्ने गरिन्छ तर त्यसप्रति सरकारको पहलकदमी देख्न पाइँदैन । हामीकहाँ त भारतले गरेका टिप्पणीको पनि जवाफ दिने परम्परा छैन, पहलकदमी त टाढाको विषय भयो । केही महिनापहिले भारतका गृहमन्त्रीले ”नक्सलवाडी“ हरूलाई नेपालबाट हतियार मिलेको अभिव्यक्ति दिदा पनि सरकारले प्रतिक्रिया व्यक्त नगर्नु एउटा उदाहरण होइन र ? यस्तो अवस्थामा भारतस्थित नेपालीहरूले नेपाल सरकारबाट के अपेक्षा राख्ने ? जबकि भारतस्थित नेपालीहरू चाहान्छन्- सर्वप्रथम त नेपालीहरूलाई स्वदेशमा नै रोजगारको व्यवस्था गरियोस् । द्वितीय, भारतमा रहेका सबैखाले नेपालीहरूको हक, हित र अधिकारका पक्षमा सरकार क्रियाशील रहोस् तर अहिलेसम्म त्यस्तो हुन सकेको छैन । भारतमा नेपालीहरू ”रामभरोसे“ भएर बस्नुपरिरहेको छ ।
निष्कर्ष:
माथि हामीले भारतस्थित नेपालीहरूको समस्याबारे सङ्क्षिप्तमा छलफल गरेका छौँ । त्यसका अतिरिक्त यहाँका नेपालीका समस्याहरू बढी गम्भीर छन् । सामान्यतः नेपालीहरू भारतमा कुल जनसङ्ख्याको एक-चैथाईभन्दा बढी रहेको अवस्थामा नेपाल सरकारको उनीहरूप्रतिको उत्तरदायित्व बढी गहन हुन जान्छ तर स्थिति त्यसप्रकारको पाइएको छैन । आगामी समयमा सरकारको भुमिकामा परिवर्तन हुँनु आवश्यक छ । त्यसका साथै भारतस्थित नेपालीका समस्याहरूका बारेमा नेपाली मीडिया, बुद्धिजीवी र राजनीतिक पार्टीहरूको पनि ध्यान जानुपर्ने आवश्यकता छ । अहिले लाखौँ नेपालीहरू भारतमा रहेको अवस्था र भोलि भारतमा उनीहरूमाथि अझ बढी भेदभाव र दमन बढेको अवस्था-यी दुवै स्थितिमा नेपालको दायित्व अरू गम्भीर बन्ने प्रष्ट छ । त्यसकारण स्थितिलाई विष्फोटक हुन नदिई समयमै समस्याप्रति समुचित ध्यान दिनुपर्ने आवश्यकता छ ।