संघर्ष गर्दै अगाडि बढ्नु पर्दछ : जनगायक जीवन शर्मा

0
487

धनगढी । रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष तथा जनगायक जीवन शर्माले जीवनमा अप्ठ्याराहरुसँग सम्झौता गरेर होइन, सङ्घर्ष गर्दै अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।

“मानिसका जीवनका मोडमोडमा समयले विभिन्न खालका अप्ठ्याराहरु तेर्साइदिन्छ, तर हामी त्यो समयसँग सम्झौता गरेर आत्मसमर्पण गर्ने होइन, दृढतापूर्वक सङ्घर्ष गरेर अगाडि बढ्नु पर्छ” रक्तिम कैलालीको दोस्रो जिल्ला सम्मेलनको २०७५ साउन २५ मा उद्घाटन गर्दै जनगायक शर्माले भन्नु भयो– “मान्छेको व्यक्तिगत जीवन, सामाजिक जीवन र साङ्गठनिक जीवनमा पनि यही कुरा सत्य हो, हामीले अप्ठ्यारा समस्या र विकृति, विसङ्गतिका विरुद्धमा निरन्तर सङ्घर्ष गर्दै जानु पर्दछ । मनमा हामीले सधै दृढ विश्वास लिनु पर्दछ– सत्यको जीत एक दिन अवश्य हुनेछ ।” यो भनाइको साथसाथै सम्मेलनका प्रमुख अतिथि जनगायक शर्माले लयबद्ध तरिकाले गाउनु भयो– “समयसँग सम्झौता होइन, सङ्घर्ष गर सङ्घर्ष, आउाछन् हजार चुनौती स्वीकार गर सहर्ष….।” सम्बोधनका क्रममा अध्यक्ष शर्माले सांस्कृतिक क्रान्ति जटिल विषय भएको बताउादै यसलाई निरन्तर सञ्चालन गरेर मात्र समुन्नत समाजको निर्माण गर्न सकिने स्पष्ट पार्नुभयो । “हाम्रो समाज अहिले पनि सामन्तवादी र साम्राज्यवादी संस्कृतिमा जकडिएको छ । साम्राज्यवादी संस्कृतिले नेपाली संस्कृतिमा नकारात्मक प्रभाव पारिरहेको छ” जनगायक शर्माले भन्नु भयो– “रक्तिमले साम्राज्यवादी तथा सामन्तवादी संस्कृतिका विरुद्धमा स्थापना कालदेखि नै सङ्घर्ष गर्दै आइरहेको छ । विभिन्न ज्वारभाटाहरुसँग जुध्दै रक्तिम सर्वहारा सांस्कृतिक क्रान्तिको दिशामा यसरी नै निरन्तर अगाडि बढिरहनेछ ।”

सम्मेलनलाई विशिष्ट अतिथिको आसनबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्रदेश नं. ७ का अध्यक्ष नन्दराज भट्टले सम्बोधन गर्नु भएको थियो । रक्तिमका केन्द्रीय सचिव दलबहादुर वि.क. र कोषाध्यक्ष भरत श्रेष्ठले समेत विशिष्ट अतिथिको आसनबाट सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । सम्मेलन उद्घाटन सत्र बाबुराम आचार्यको अध्यक्षता, लक्ष्मी रिजालको सञ्चालन र चक्र चनाराको स्वागत मन्तव्यबाट अघि बढेको थियो । सम्मेलन सफलताको शुभकामना दिने अतिथिहरुमा राजमो कैलालीका अध्यक्ष लक्षीराम आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार खड्क राना थारू, जातीय समता समाज ७ नम्बर प्रदेश समितिका संयोजक तिलक परियार, जन सांस्कृतिक महासङ्घ कैलालीका अध्यक्ष मेघनाथ खनाल, नेपाली लेखक सङ्घ कैलालीका अध्यक्ष गणेश नेपाली, नेपाल वाङ्मय परिषदका केन्द्रीय कोषाध्यक्ष तथा प्रलेस कैलालीका सचिव तिलक सिंह, सुपकला प्रतिष्ठानका सचिव गुणाकर पनेरू, अखिल नेपाल महिला सङ्घ कैलालीकी अध्यक्ष कृति पाण्डे, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव प्रशान्त थापा र अखिल (छैठौंं) का केन्द्रीय सचिव महेश जोशी रहनु भएको थियो । कैलाली जिल्लाको सदरमुकाम धनगढीस्थित निर्माण व्यवसायी सङ्घको सभा हलमा सम्पन्न रक्तिम कैलालीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन समारोहमा राजमो कैलालीका सचिव हुकुम साउद, अखिल (छैठौं) का केन्द्रीय सदस्य उमेश काडेल, कैलाली जिल्ला अध्यक्ष हेमराज भट्ट र पत्रकार नवराज धानुकको समेत आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here