डा. गोविन्द केसी र सरकार बीच भएको संझौतालाई मसालद्वारा समर्थन र स्वागत

0
1159
साउन १३, काठमाडौं । चिकित्सा शिक्षाबारे सरकार र डा. गोविन्द के.सी.का बीचमा भएको सम्झौतालाई ने.क.पा. (मसाल)ले समर्थन र स्वागत गरेको छ । पार्टी महामन्त्री मोहनविक्रम सिंहले एक विज्ञप्ती जारी गरि सम्झौतामा अझै पनि अरू कैयौं सुधारहरू गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । सम्बन्धित सबै पक्षहरूले त्यसबारे ध्यान दिंदै जानुपर्ने र तत्काल मूल रूपमा त्यो सम्झौता सही रहेको महामन्त्रीले सिंहले प्रेस विज्ञप्तीमा जनाउनु भएको छ ।
विज्ञप्तीको पूर्ण पाठः
“चिकित्सा शिक्षाबारे सरकार र डा. गोविन्द के.सी.का बीचमा भएको सम्झौतालाई ने.क.पा. (मसाल)ले समर्थन र स्वागत गर्दछ । त्यो सम्झौतामा अझै पनि अरू कैयौँ सुधारहरू गर्नुपर्ने आवश्यकतालाई अस्वीकार गर्न सकिन्न । सम्बन्धित सबै पक्षहरूले त्यसबारे ध्यान दिंदै जानुपर्नेछ । तै पनि तत्काल मूल रूपमा त्यो सम्झौता सही छ ।
पहिले पनि डा. गोविन्द के.सी.को अनसनको सन्दर्भमा बारम्बार सम्झौताहरू हुने गरेका छन् । तर तिनीहरूलाई कार्यान्वयन गर्नेबारे सरकार इमान्दार रहने गरेको छैन । त्यसैले नै त्यसबारे बारम्बार विवाद उत्पन्न हुने र डा. के.सी. अनसन बस्न वाध्य हुनुपर्ने स्थिति उत्पन्न हुने गरेको छ । अब त्यस्तो नहोस् र अहिले भएको सम्झौतालाई कार्यान्वयन गर्न सरकार इमान्दार हुनेछ भन्ने हामीले आशा गर्दछौँ ।
त्यो सम्झौताअनुसार संसदमा सरकारले पेश गरेको चिकित्सा शिक्षा विधेयकमा कतिपय संशोधनहरू पारित हुनुपर्ने आवश्यकता छ । संसदमा भएका सबै पक्षहरूले त्यस अनुसार अहिलेको सम्झौतामा भएका बुँदाहरूलाई पारित गराउन मद्दत गर्नेछन् भन्ने पनि हामीले आशा गरेका छौँ ।
सरकारले डा. के.सी.का मागहरूबारे सम्झौता गर्न जुन तत्परता देखायो, त्यसले सरकार कमजोर भएको होइन, त्यसले जनमतलाई आदर गरेर लोकतान्त्रिक पद्धतिलाई मजबुत पार्न प्रयत्न गरेको नै देखिन्छ । त्यसका लागि हामीले सरकारलाई धन्यवाद दिन चाहन्छौँ । बङ्गलादेशमा मेडिकल साइन्स पढ्ने छात्राहरूप्रति पूर्व न्याय तथा कानूनमन्त्रीले दिएको आपत्तिजनक अभिव्यक्तिका लागि पनि सम्बन्धित मन्त्रीलाई राजिनामा गर्न लगाउने सरकारको जुन कार्य गर्‍यो, त्यसका लागि पनि हामीले सरकारलाई धन्यवाद दिन चाहन्छौँ । भविष्यमा पनि सरकारले पहिलेको आफ्नो प्रतिबद्धता र जनमतको आदर गर्दै लोकतान्त्रिक पद्धतिलाई मजबुत पार्न र देशको विकासका लागि लगातार ध्यान दिनेछ भन्ने हामीले आशा गरेका छौँ । सरकारका त्यस प्रकारका सबै नीति र कार्यहरूलाई समर्थ गर्ने हाम्रो नीति हुनेछ ।
डा. के.सी.का माग र उनको अनसन तथा उनको जीवन रक्षाका लागि देशव्यापी रूपमा देखापरेको जनमतलाई हामीले उच्च मूल्याङ्कन गर्दछौँ । त्यस प्रकारको जनमतका आधारमा नै देशको लगातार विकास र उन्नति हुँदै जानेछ भन्ने कुरामाथि हाम्रो विश्वास छ । अहिले डा. के.सी.को अनसन र मागहरूबारे देखापरेको जनमतजस्तै देशका अन्य सबै राष्ट्रिय र महत्वपूर्ण प्रश्नहरूमा पनि जनतामा त्यही प्रकारको जागरण आउँदै जानेछ भन्ने हामीले आशा गरेका छौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here