नेपालको राजनीतिमा चरित्रहत्याको धेरै लामो श्रृंखला रहँदै आएको छ । चुनावहरुमाव्यक्तिगत चरित्रहत्याको राजनीति प्रमुख रुपमा अगाडि आउँछ । यसपटक डाक्टर गोविन्द केसीको अनसनका क्रममा पनि मुद्दामा भन्दा बढी चरित्रहत्यामा केन्दि्रत भयो ।
डाक्टर गोविन्द केसीलाई समर्थन नगर्नेजति सबैलाई माफिया भनेर आरोप लगाइयो । अझ एक प्रकारले भन्ने हो भने डाक्टर केसीलाई आफ्नै स्वार्थले समर्थन गर्नेहरु अरुको चरित्रहत्या गरिदिएर माफियाबाट चोखो भए होलान् ।
गोविन्द केसीको अनसनको आलोचना गर्नेहरुले पनि विभिन्न व्यक्ति वा समूहको चरित्रहत्या गर्ने कार्यमा उत्रिएको देखियो ।
कुनै पनि आन्दोलन एजेण्डालाई लिएर गरिन्छ । आफ्नो एजेण्डालाई अगाडि बढाउने क्रममा बहस, छलफल हुने गर्दछन् । ती बहस, छलफल आवश्यकता र औचित्यका आधारमा गरिनुपर्दछ । तर धेरै कुराहरु सीधै लगेर चरित्रमा ठोकिदिने र उसलाई पत्तासाफ गर्ने प्रवृत्ति धेरै नै मौलाएको छ । त्यसो गरेपछि बहस पनि गर्नुपरेन ।
अर्काे पक्षको चरित्रहत्या गरिदिए पुगिहाल्यो । कतिपय अवस्थामा सञ्चारमध्यमहरुमा पनि व्यक्तिगत चरित्रहत्याका सामग्रीहरु पर्याप्त मात्रामा प्रचारप्रसार भए ।
सञ्चारमाध्यमहरु व्यक्तिगत चरित्रहत्याको माध्यम बन्नु अत्यन्तै दुखद् पक्ष हो ।एउटा भनाइ नै छ, महान् मान्छेहरु ज्ञान विज्ञानका कुरा गर्छन्, मध्यम खालका मान्छेहरु विषयवस्तुका कुरा गर्छन् भने तुच्छ मान्छेहरु अर्काका कुरा काट्छन् ।
यदि यही प्रकारले सबै व्यक्तिहरुको एक एक गरेर चरित्रहत्या गर्दै जाने हो भने यो देशमा चरित्र भएको व्यक्ति एक जना पनि भेटिने छैन । सबै नागरिकहरु चरित्रहीन हुनेछन् ।
अनसन अवधिभर भएको चरित्रहत्या
डाक्टर गोविन्द केसीको अनसनमा चरित्रहत्याको राजनीति धेरै नै भयो । केसीका समर्थक र आलोचक दुवै चरित्रहत्यामा उत्रिए । कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा अध्ययनरत नेपाली छात्राले कुनै न कुनै रुपमा आफूलाई सुम्पिएपछि सर्टिफिकेट लिने गरेको बताए ।
बंगलादेश पढ्न गएका छात्राहरुमाथि लगाइएको चरित्रहत्याको राजनीति ठीक थिएन । उनी सरकारका मन्त्री भएकाले गोविन्द केसीले उठाएमा मुद्दा बेठीक देखाउनु थियो भने उनका मागहरुमा छलफल र तर्कहरु दिनसक्नुपर्दथ्यो । तर उनले त्यसो गरेनन् ।
गोविन्द केसीको अनसनसित कुनै सरोकार नै नभएका बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरुलाई निशाना बनाए । देशभर त्यसको चर्काे आलोचना भएपछि पदबाट राजीनामा नै दिए । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले पनि बंगलादेश पढ्न गएका छात्राहरुको चरित्रहत्या गरिदिए ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ कक्षा पढेका प्रधानमन्त्रीले कानुन बुझ्न नसक्ने भन्दै चरित्रहत्यामा उत्रिइन् । डाक्टर गोविन्द केसीको मागको सन्दर्भमा प्रधानमन्त्रीको योग्यतासिन कुनै साइनो थिएन ।
फेरि प्रधानन्यायाधीश हुनको लागि जेजति योग्यता हुनुपर्ने कुरा संविधानमा व्यवस्था गरिएको थियो, त्यसप्रकारका योग्यताहरु प्रधानमन्त्री हुनको लागि आवश्यक पर्दैनन् भन्ने कुरा पनि संविधवानको पूर्व व्याख्याता श्रीमान् सुशीला कार्कीलाई थाहा हुनुपर्ने हो ।
तर उनी यति घटीया रुपले प्रस्तुत भइन् कि केपी शर्मा ओलीको चरित्रहत्या गरिदिएपछि मात्रै गोविन्द केसीका मागहरु पूरा हुनेछन् भनेर देखाउने प्रयत्न गरिन् ।
त्यसो भए एउटा चरित्रहीन प्रधानमन्त्रीले कसरी गोविन्द केसीका मागहरु पूरा गर्न सक्छ त ? उनले त्यसबारेमा कुनै विचार पुर्याउन सकिनन् ।
पूर्वमन्त्री गगन थापाले बंगलादेश, फिलिपिन्स, चीन जाने ९० प्रतिशत विद्यार्थीहरुले नपढीकनै पहिले सर्टिफिकेट आउने ग्यारेन्टी भएपछि मात्रै पढ्न गएको भाषणबाजी गरे । गोविन्द केसीलाई ठीक देखाउनको लागि उनले विदेश पढ्न गएका विद्यार्थीहरुको चरित्रहत्या गर्नु ठीक थिएन ।
नेकपा सांसद नवीना लामाले गोविन्द केसीलाई आतंककारी भन्दै देश निकाला गर्नुपर्ने भिडियो सार्वजनिक भयो । गोविन्द केसीलाई आतंककारी करार गरेर चरित्रहत्यामा उत्रिनु कुनै पनि हिसावले सही मान्न सकिंदैन ।
गोविन्द केसीले राखेका मागहरु उनलाई देश निकाला गर्नुपर्ने खालका थिएनन् बरु नवीना लामाले बाकेको राजनीतिलाई समर्थन गर्ने खालका थिए । कुनै न कुनै रुपमा योगेश भट्टराई जस्ता नेताहरु पनि अनावश्यक कुतर्कहरुमा तानिए ।
कुरा त्यतिमा मात्रै टुंगिएन, अनसन बसेका डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मान्छे मारेर आएको, डन, हत्यारा जस्ता शब्दहरुले गालीगलौज गरेको भिडियो सार्वजनिक भयो । उनीआफ्ना चिकित्सा शिक्षामा सुधारका मागका साथ अनसनमा थिए ।
स्वास्थ्य शिक्षासित सम्बन्धित माग राखेर अनसन बस्ने, अनि मुद्दासित कुनै सरोकार नै नभएको हत्यारा, डनको आरोप लगाउनु ठिक थिएन । उनले त भएजति सबै सभासद्हरुलाई धेरैपटक माफिया, भ्रष्टाचारी, हत्यारा भन्दै आएका छन् ।
चरित्रहत्याले भरिएको सामाजिक सञ्जाल
सामाजिक सञ्जाल त हेरिसक्नु नै थिएन । जसले सामाजिक सञ्जालमा अरुको चरित्रहत्या गर्दै हिंडेका छन्, भोलि तिनलाई पनि कसैले बाँकी राख्दैनन् । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालहरु कुनै पनि सार्वजनिक व्यक्तिको चरित्रहत्या गर्नमै केन्दि्रत हुन थालेका छन् ।
ठूलठूला गु्रप बनाएर आफूलाई मन नपर्ने व्यक्तिहरुको चरित्रहत्या गर्नको लागि सधैभरी कुनै न कुनै समूह देखापरिरहेका छन् । विशेषतः एनजीओ, आइएनजीओमा कार्यरत मान्छेहरुले राजनीतिक नेताहरुको चरित्रहत्या गर्नमै आफ्नो भएभरको बल लगाएका देखिन्छन् ।
नेपाल कम्युनिस्ट पार्टी होस् वा नेपाली कांग्रेसका कार्यकर्ता, अहिले एकअर्काका विरुद्ध सामाजिक सञ्जालमा चरित्रहत्या गर्नमै केन्दि्रत देखिएका छन् ।
सामाजिक सञ्जालमा देखापर्ने त्यसप्रकारका गतिविधिमा राजनीतिक दलका नेता पनि सामेल देखिन्छन् । आफूलाई खुबै चरित्रवान देखाउने नेपाली कांग्रेसका धनराज गुरुङले पनि व्यक्तिगत चरित्रहत्या गरिएका कैयौं ट्वीटहरुलाई रिट्वीट गरेका छन् । फेसबकुमा शेयर गरेका छन् ।
इतिहासमा चरित्रहत्या
धेरै टाढा जानुपर्दैन, नजिककै इतिहासमा चरित्रहत्या भएका धेरै घटनाहरु ताजै छन् । त्यसको सबैभन्दा पीडित त वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली हुन् । उनीहरुको अनैतिक सम्बन्ध छ भनेर नेपालको राजनीतिलाई पूरै तरंगित बनाइयो ।
माओवादीको ६ दिने काठमाडौं घेराउ आन्दोलनको नारा नै उनीहरुको चरित्रहत्या गर्नमा केन्दि्रत थियो । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह पनि पीडित हुन् ।
प्रचण्डले नै मोहनविक्रम सिंहको चरित्रहत्या गरेको अडियो सार्वजनिक भएको थियो । उनलाई त पाँचौं महाधिवेशनबाटै निस्कासन गरिएको थियो । माओवादी नेतृ पम्फा भुसाल र रामबहादुर थापालाई पनि बाँकी राखिएन ।
एमालेका ईश्वर पोखरेल र भरतमोहन अधिकारीको अचम्मलाग्दो तरिकाले चरित्रहत्या गरिएको थियो । तत्कालीन आपूर्तिमन्त्री ईश्वर पोखरेलले छतको ट्यांकीमा पैसा राखिएको भनेर चरित्रहत्या गरियो ।
त्यो कुनै पत्याउने विषय नै थिएन ।तत्कालीन शिक्षामन्त्री मोदनाथ पश्रतिलाई काठमाडौंमा घर बनाएको निहुँमा गौंथलीको गुँडको नामले व्यापक मात्रामा चरित्रहत्या गरियो ।
पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको पारिवारिक इतिहास अत्यन्तै पीडादायी रहेको तथ्य हुँदाहुँदै पारिवारिक रुपमा उनको धेरै चरित्रहत्या भयो ।
पाकिस्तानका सम्भावित प्रधानमन्त्री इमरान खानले तेस्रो विहे गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले आफूभन्दा २४ वर्ष जेठी तीन सन्तानकी आमा, पेशाले शिक्षिकासंग विहे गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दोस्रो विहे गरेका थिए ।
तर उनीहरुलाई विहेकै कारणले राजनीतिमा आउनको लागि कुनै कठिनाइ भएन । त्यो उनीहरुको निजी मामिला थियो । तर नेपालको सन्दर्भमा कसैको निजी मामिलाको सबैभन्दा धेरै जासुसी र खोजी हुने गर्दछ र त्यही विषयवस्तुलाई उठाएर चरित्रहत्या गरिदिने गरिन्छ ।
किन गरिन्छ चरित्रहत्या ?
नेपाली समाजले अरुको चरित्रहत्या गर्न पायो भने सबैभन्दा आनन्द महसुस गर्दछ । कसैका चरित्रमाथि भित्रभित्रै भुसको आगो नै सल्काइन्छ । वास्तवमा यो समाजको छाडा र विकृत रुप हो ।
यौनसित जोडिएको चरित्रलाई नेपालमा धेरै नै चियोचर्चाे गर्ने गरिन्छ । त्यसको प्रमाण कोहीकसैसित हुँदैन र त्यस्ता प्रमाणहरु अपवादबाहेक कसैले भेटाउन पनि सक्दैन । तर कुनै प्रमाण विना निरन्तर चरित्रहत्या गरिएकै हुन्छ ।
केपी ओली र विद्या भण्डारीको सम्बन्धको प्रमाण भेटाउने मान्छे कोही छ ? तर पनि उनीहरुको व्यापक रुपमा चरित्रहत्या गरियो । माधव नेपालले एउटा टेलिभिजन अन्तर्वार्तामा केपी ओली रोगी भएको भन्दै चरित्रहत्या गरिदिए ।
वास्तवमा केपी ओलीको रोगको कुनै दोष थिएन । नेपाली सिने जगत चरित्रहत्याको कारणले धेरै नै पीडित छ । कलाकारहरुको निरन्तर चरित्रहत्या गरिएका समाचारहरु दैनिकजसो आइरहेका हुन्छन् ।
यदि कोही नेताहरुसंग कसैलाई रिस उठ्यो भने उसको चरित्रहत्या गरिदिएर त्यसको रिस फेर्ने गरिन्छ । नेपालको राजनीतिमा अनगिन्ती पीडितहरु छन् ।
अरुको चरित्रहत्या गरिदिने चरित्रवान हो त ?
वास्तवमा केही व्यक्तिको खेती नै अरुको चरित्रहत्या गर्ने नै देखिन्छ । नेकपा एकताकेन्द्र मसलाका एक जना नेताले भन्थे, जसले संगठनमा केही पनि काम गर्दैन त्यसले बैठकहरुमा अरुले गरेका कामको गल्तीको चाङ देखाइदिने ।
अरुले काम पूरा गर्न सकेनन् भने त्यसको पनि खोइरो खन्ने । त्यसो गर्दा आफूले खुबै काम गरेजस्तो देखिने भयो । ठीक त्यस्तै कुनै व्यक्ति आफू चरित्रवान देखिनको लागि समाजमा भए जतिका व्यक्तिहरुको चियोचर्चाे गर्दै हिंड्ने, भए नभएका कुरा लगाउने र आफू धेरै चरित्रवान भएको भएको अभिनय गर्ने ।
वास्तवमा त्यो चरित्रहीन प्रवृत्ति हो । अरु व्यक्तिहरुको चरित्रहत्या गरेर कोही पनि व्यक्ति चरित्रवान बन्न सक्दैन । अरुलाई चरित्रहीन देखाएर आफू चरित्रवान देखिन खोज्ने प्रवृत्ति घातक प्रवृत्ति हो ।
चरित्रवान समाज निर्माण गरौं
चरित्र सधैभरी सापेक्षतामा हुन्छ । कुनै पनि समाजमा चरित्रहीन कुरा अर्को समाजमा खासै ठूलो कुरा बन्दैन । मोदनाथ पश्रतिले काठमाडौंमा घर बनाएपछि उनको राजनीतिलाई सिध्याउने धेरै प्रयत्न भयो ।
अहिले काठमाडौंमा धेरै नेताहरुको ठूलठूला घर, बंगला र गाडीहरु छन् । घर बनाउने कुरा राजनीतिक चरित्रसित जोड्न छोडियो ।
पहिले प्रेम गर्ने जोडीहरुलाई समाजले चरित्रहीन भन्दथ्यो भने अब त्यो क्रमशः हट्दै गएको छ । के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कुरा देशको संविधान, कानुन, धर्म, संस्कृति, सामाजिक परम्परा, रीतिथिति आदिबाट पनि थाहा हुन्छ ।
नेपालको संविधानले उच्च नैतिक चरित्रलाई प्राथमिकता दिएको छ । तर अदालतले प्रमाणित नगरेसम्म कुनै पनि व्यक्तिलाई दोषी प्रमाणित गर्न पाइदैन ।
भ्रष्टाचार, मानव बेचविखन, चोरी, डकैती, हत्या, बलात्कार, वन्यजन्तु तस्करी जस्ता फौजदारी अभियोग लागेका मुद्दामा दोषी प्रमाणित भएमा नैतिक पतन देखिएको मानिन्छ र तिनीहरु सरकारी सेवाको लागि अयोग्य मानिन्छन् ।
संविधानले नै त्यसप्रकारको व्यवस्था गरेको छ । नेपाली कांग्रेसका गोविन्दराज जोशी, खुमबहादुर खड्का, जेपी गुप्तालाई सर्वाेच्च अदालतले भ्रष्टाचार गरेको प्रमाणित गरिदियो । उनीहरुले प्रतिनिधिसभाको चुनावमा भाग लिनै नपाउने भए ।
संविधान र कानुनले गर्न नहुने काम नगर्नु नै चरित्रवान समाज निर्माणको आधार हो । राष्ट्रद्रोह, जातजातिबीच बैमनस्यता पैदा गर्ने, कसैको व्यक्तिगत मान मर्यादामा आँच पुग्ने कार्य गर्ने, गालीबेइज्जति, छुवाछूत गर्ने, भ्रष्टाचार, चोरी, डकैती, हत्या, बलात्कार, तस्करी, मानव बेचविखन, सरकारी सम्पत्ति हिनामिना, कर छल्नु, सार्वजनिक सम्पत्तिको दुरुपयोग जस्ता कार्यहरु गर्नको लागि संविधानले बञ्चित गरेको छ ।
तर संविधानले गर्न भनेका कामहरु गर्दा कोही कसैलाई पनि चरित्रहीन देखाइनु अपराधिक मानसिकता हो ।
समाजलाई उच्च नैतिकवान बनाउनको लागि विद्यालय, विश्वविद्यालय, घरपरिवार, समाज, जनप्रतिनिधिहरु, समाजका सबै पेशा र व्यवसायका व्यक्तिहरु र सबै जनता लाग्नुपर्दछ ।
कोही एक जना व्यक्ति वा एउटा समूह मात्रैको पहलले समाजलाई चरित्रवान बनाउन सकिंदैन । प्रगतिशील संस्कार र संस्कृतिको विकासको लागि सबै लाग्नुपर्दछ ।