खोलाको सतह उक्सिदै जाँदा मन्थलीको भविष्य समेत खतरामा
उदव मगर/ रामेछाप – रामेछाप जिल्ला स्थति रणजोर खोलाको सिरानमा रहेको घ्याप्चेको पहिरोको कारण सालु गैराथोकका १५ घर परिवाले आफ्नो पुर्खेउली थलो गुमाएका छन । उनीहरुको जग्गा जमिन र घर समेत पहिरोले सिध्याई दिएको छ । उनीहरु सो ठाउँ छाडेर अन्यत्रै गएका छन । एक सय घर परिवारका घरहरु पहिरोले तान्न लागेको छ । उनीहरुलाई तत्काल अन्यत्र सार्नु पर्ने अवस्था छ । अन्य ३ सय घर परिवार पनि सो पहिरोको कारण जोखिममा छन ।
स्थानीय शिक्षक सोप्रसाद भट्टराईका अनुसार घ्याप्चेबाट आएको पहिरोले गैराथोक गाउँनै जोखिममा परेको छ । गैराथोकमा जम्मा ४ सय २५ घर धुरी थिए । ती मध्ये १५ घर परिवारको जग्गा जमिनको चिनाचपेटा नै नभएको उहाँले बताउनु भयो ।
कतिपय घर सहितका जग्गाजमिन बगेर सरेका छन । उनीहरुलाई तत्काल अन्यत्र नसारे कुनै पनि बेला ठुलो विपत्ति आउने अवस्था छ । बाँकि ३ सय घर पनि पहिरोको जोखिममा छन । घ्याप्चेमा पहिरो जान लागेको ६ दशक भन्दा बढी भयो ।
सो स्थानमा २०११ सालबाट पहिरो जान लागेको हो । २०२२ साल पछि भने निरन्तर रुपमा पहिरो चलि रहेको छ । अहिले पहिरो नियन्त्रण भन्दा बहिर गई सकेको छ । घ्याप्चेमा केही वर्ष यता देखि हिँउदभरि पहिरो गएर माटो जम्ने र वर्षा लागेपछि माटो बग्न लागेको छ । माथिबाट ढुङ्गा माटो सहित आउने बाढीले गैराथोक, सिम्ले अर्चे,लगायतका स्थानका वस्तीहरुलाई समेत थर्काएर चर्काउने र भत्काउने गरेको छ ।
त्यतिमात्र हैन सो पहिरोको कारण रणजोर खोलामा वर्षामा पानी हैन लेदो माटो वग्ने गर्दछ । जसले गर्दा रणजोर खोला किनारका हजारौ रोपनि खेतियोग्य जमिन बगर बनेको छ । खोलाको सतह उक्सिदै जाँदा सदरमुकाम मन्थलीको भविष्य समेत खतरामा परेको छ ।