दाङ । अखिल नेपाल किसान सङ्घले दाङ जिल्लामा किसान आन्दोलन उठाउने भएको छ । केन्द्रीय अध्यक्ष भैरव राज रेग्मी र केन्द्रीय सदस्यद्वय तुलसी सापकोटा र प्रेम नारायण आचार्यको विशेष उपस्थितिमा २०७५ असार १७ गते लमहीमा सम्पन्न अखिल नेपाल किसान सङ्घ दाङ, जिल्ला समितिको बैठकले दाङमा वर्गसङ्घर्षकै रूपमा किसान आन्दोलनलाई अगाडि बढाउने निर्णय गरेको हो ।
बैठकले मोहीयानी हकको संरक्षण, गुठी जग्गामा मोहीको हकको सुरक्षा, सुकुम्बासी समस्या दर्ता नभएका भोगचलन गरेर बस्ती विकास भएका ठाउँका जग्गाको नापी आदि विषयलाई लिएर किसान सङ्घर्ष सञ्चालन गर्ने निर्णय लिएको केन्द्रीय अध्यक्ष भैरव राज रेग्मीले बताउनु भयो । उहाँका अनुसार दाङ जिल्लामा किसान सङ्घर्ष अगाडि बढाउन केन्द्रीय सदस्य प्रेम नारायण आचार्यको संयोजकत्वमा पाँच सदस्यीय सङ्घर्ष समिति पनि गठन गरिएको छ । सङ्घर्ष समितिका सदस्यहरूमा जिल्ला अध्यक्ष मिनु सुवेदी, चन्द्र बहादुर केसी, विष्णु भुसाल र शशि बुढाथोकी रहनु भएको छ । यस्तै दाङ जिल्लामा किसान सङ्घर्षलाई वर्गसङ्घर्षकै रूपमा अगाडि बढाउनका लागि केन्द्रीय सदस्य तुलसी सापकोटालाई बैठकले ‘विशेष’ जिम्मा दिएको जानकारी पनि अध्यक्ष रेग्मीले दिनु भयो । सङ्घर्ष समितिले दाङ जिल्लाका विभिन्न गाउँबस्तीहरूमा गई सुकुम्वासी र गुठी जग्गाको तथ्याङ्क सङ्कलन गर्नुका साथै किसानहरूको अवस्था निरीक्षण र अवलोकन गरी मागपत्र तयार गर्नेछ र सङ्घर्षका ठोस कार्यक्रमहरू तय गर्नेछ ।
बैठकले स्थानीय तत्कालिक माग सहित महङ्गी र करवृद्धिका विरुद्ध श्रावण महिनाको अन्तिम साताभर प्रत्येक गाउँ एवं नगरपालिकाहरूमा किसान जुलुस सहित मागपत्र पेश गर्ने र धर्ना दिने लगायतका सङ्घर्षका कार्यक्रमहरू पनि बनाएको समेत अध्यक्ष रेग्मीले बताउनु भयो ।