संघीयताको भेट्नो कुहिन थाल्यो : केसी

0
6910
बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष जनप्रिय नेता चित्र बहादुर केसीले सङ्घीयताको भेट्नो कुहिन थालेकाले अब केही वर्षमै यसको पुरै फल झर्ने बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा बागलुङले जैमिनी नगरपालिकाको कुश्मिसेरामा २०७५ असार १ गते आयोजना गरेको प्रचारत्मक सभामा बोल्दै अध्यक्ष केसीले भन्नु भएको छ– “सङ्घीयताको भेट्नो कुहिँदै कुहिँदै गएको छ । तपाई हेर्दै जानुुस्, अब केही वर्षमै यो सङ्घीयताको फल भुइँमै झर्नेछ ।”
           उहाँले नेपाल जस्तो सानो मुलुकमा केन्द्र, प्रदेश, स्थानीय तह धान्ने बजेट नभएको यथार्थता प्रष्ट्याउँदै अधिकार बाँडफाँडमै तीन तहबीच द्वन्द्व सुरु भइसकेको बताउनु भयो । उहाँले त्यस अवस्थालाई सङ्घीयताको भेट्ना कुहिन थालेको सङ्ज्ञा दिँदै खस्नको लागि भेट्नो कुहिन केही समय लाग्ने समेत उल्लेख गर्नु भयो । वर्तमान सरकारले महङ्गी नियन्त्रण गर्न नसकेको उल्लेख गर्दै केसीले महङ्गी र चौतर्फी करका कारण जनता झनै थिचिएको स्पष्ट पार्नु भयो । विदेशीले भिराएको सङ्घीयताको विपक्षमा ठुलो जनमत रहेको भन्दै केसीले ढिलोचाँडो सङ्घीयता खारेज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घीयताले नेपाललाई कमजोर बनाउने भन्दै सङ्घीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीकरण सहितको एकात्मक शासनतर्फ जानु पर्ने सुझाव दिनु भयो ।
             नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतालाई राष्ट्रिय जनमोर्चाले स्वागत गरेको केसीले बताउनु भयो । तर राष्ट्रिय जनमोर्चा पनि ढिलोचाँडो नेकपामा समावेश हुन्छ भन्ने हल्ला हल्ला मात्र भएको बताउनु भयो । “एमाले र माओवादी केन्द्र अहिले एउटै पार्टी भएका छन् । त्यो एकतालाई हामीले स्वागत पनि गरेका छौँ । भातभान्सा सबै मिल्नेहरुले अलग अलग चुल्हो बाल्नु आवश्यक थिएन । मिले ठिकै भयो” अध्यक्ष केसीले भन्नु भयो– “तर त्यसमा राष्ट्रिय जनमोर्चा पनि सामेल हुँदैछ भन्नु त्यो हल्ला मात्र हो । त्यो हुनै नसक्ने कुरा हो ।”
           राष्ट्रिय जनमोर्चाका ४ नम्बर प्रदेश इन्चार्ज तथा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले सङ्घीयता राष्ट्रको वस्तुस्थितिसँग मेल नखाने र राष्ट्रको राजस्वले धान्न नसक्ने अवस्था भएको भन्दै सङ्घीयता असफल बाटोतर्फ उन्मुख भएको बताउनु भयो । उहाँले विकास निर्माणका कार्यमा भएका अनियमितता, ढिलासुस्ती, भ्रष्टाचारलाई रोक्न कडा कानुन बनाइनु पर्नेमा समेत जोड दिनु भयो ।
            सभामा जनगायक जीवन शर्माको पनि उपस्थिति अर्को आकर्षणको केन्द्र बनेको थियो । रक्तिमका अध्यक्ष जनगायक शर्माले सभालाई सम्बोधन गर्दै खबरदारीपूर्ण आन्दोलनको उठान गर्न जनतासँग आह्वान गर्नु भयो । भ्रष्टाचारका विरुद्धमा र राष्ट्रिय स्वाभिमानका पक्षमा सरकारलाई काम गर्न बाध्य बनाउन जनताले सडकबाट निरन्तर सशक्त आन्दोलन चलाउनु पर्ने उहाँको भनाइ थियो । मन्तव्य मात्र होइन जनगायक शर्माले गीतबाट पनि भ्रष्टाचारको विरुद्धमा सशक्त आवाज उठाउन आह्वान गर्नु भयो– “… कालो धन थुपारेर ढल्की हिड्नुभन्दा, हलो जोत्नु गिटी कुट्नु होला राम्रो धन्दा… ।” शर्माले मञ्चबाट भ्रष्टाचारका विरुद्धमा यो गीत प्रस्तुत गरिरहँदा उपस्थित जनमासले तालीको गडगडाहतले समर्थन जनाइरहेको थियो । शर्माले भ्रष्टाचार विरुद्धको उक्त गीतको अलवा “उडी हिड्ने बादल जस्तै मेरो जीवन कथा, जता लान्छ आन्दोलनले जान्छु त्यतैत्यता” बोलको गीत पनि प्रस्तुत गर्नु भएको थियो ।
             सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ नगरपालिका वडा न. ३ की अध्यक्ष लक्ष्मी बास्कोटा, जिल्ला सचिव धर्म बहादुर कुँवर, बरेङ गाउँपालिका अध्यक्ष कृष्णराज पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार नरबहादुर पुन लगायतका अतिथिहरुले समेत सम्बोधन गर्नु भएको थियो ।
           सभा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर बहादुर थापाको अध्यक्षता, जिल्ला सदस्य डिल बहादुर श्रीसको स्वागत र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) का  महासचिव भीमलाल पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
           त्यस्तै, सोही कार्यक्रम अन्तर्गत राष्ट्रिय जनमोर्चा बागलुङले गल्कोट नगरपालिकाको हटियामा २०७५ असार २ गते प्रचारात्मक सभा सम्पन्न गरेको छ । सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, केन्द्रीय सदस्यद्वय राजेन्द्र ढुङ्गाना, लक्ष्मी बास्कोटा र जिल्ला अध्यक्ष अमर बहादुर थापा र रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष जीवन शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो । सभा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष बेदिलाल सापकोटाको अध्यक्षता, गल्कोट नगर अध्यक्ष टङ्क बहादुर केसीको स्वागत र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौं) का महासचिव भीमलाल पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो । – मित्र थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here