राष्ट्रिय सभाः ‘८ किसिमका मतपत्र हुनसक्ने’

0
196

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आठ प्रकारका मतपत्र प्रयोग गर्ने विकल्प अघि सारेको जनाएको छ।

प्रत्येक प्रदेशबाट विभिन्न चार समूहमा उम्मेदवारहरु चयन गरिने भए पनि उनीहरुलाई चुन्ने निर्वाचक मण्डलमा रहने स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेश सभा सदस्यको मतभार फरक भएकाले आठवटा मतपत्र प्रयोग गर्दा सहज हुने आयोगका अधिकारीहरुले बताएका छन्।

राष्ट्रिय सभाको निर्वाचनमा प्रत्येक प्रदेशबाट ‍तीन महिला, एक दलित, अपांगता भएका वा अल्पसंख्यक एकजना र ‍खुला समूहबाट बाँकी तीनजना गरी आठ सांसद चुनिने छन्।

तिनीहरु चुन्नका लागि आठ किसिमका मतपत्र प्रयोग गर्ने विकल्प आफूहरुले अघि सारेको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए।

सम्भावना

उनले भने, “प्रदेश सभाका सदस्यहरुको ४८ मतभार छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ रहन्छ। त्यसैले त्यो दुईवटा छुट्टयाउनका लागि पनि आयोगले दुईवटा रंगको मतपत्र प्रयोग गर्नुपर्छ। त्यसैले ८ किसिमको मतपत्र हुने सम्भावना छ।”

राष्ट्रिय सभाको निर्वाचनको मिति तोकिएर उम्मेदवारी दर्ता भएपछि मतपत्रबारे आफूहरुले अघि सारेको विकल्पले औपचारिकता पाउने उनले बताए।

महिला, दलित र अपांगता भएका वा अल्पसंख्यकको सहभागिता निश्चित संख्यामा पक्का गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले ती समूहका उम्मेदवारलाई अन्य समूहसँगै राख्न नहुने विज्ञहरुले औंल्याइरहँदा आयोगले पछिल्लो विकल्प अघि सारेको हो।

राष्ट्रिय सभामा सातैवटा प्रदेशबाट चुनिने ८/८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने तीन गरी ५९ सांसद रहनेछन्।

निर्वाचित हुने ५६ जना चुनिने प्रक्रियाबारे आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्याल भन्छन्, “खुला सदस्य र महिलाको एकल संक्रमणीय पद्धति भएकोले मतपत्र फरक हुने भयो, अनि दलित र अल्पसंख्यकको बहुमतीय प्रणाली हुने भएकोले एकै स्थानमा हुँदा अलमल हुने भएकोले दुई फरक मतपत्र हुनेछ।”

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख गरी २,०५६ जना मतदाता हुनेछन्।

बिबिसी नेपाली सेवाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here