जेठ २६, काठमाडौं । रातोपाटी डटकम पाँचौं वर्ष पूरा गरेर छैटौं वर्षमा प्रवेश गरेको छ । पाँचौ वार्षिकोत्सवको अवसरमा ‘आर्थिक समृद्धिका आधार र प्रतिबद्धताः नयाँ नेपालका लागि संकल्प’ विषयक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, नेकपाका महासचिव विष्णु पौडेल, सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा, ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री चक्रपाणि खनालसहित विभिन्न दलका नेता, कलाकार, उद्योगी व्यापारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा विभिन्न नेताहरुले के भने त्यस बारेमा हामीले राटोपार्टी डटकमबाट सारांश रुपमा टिपोट गरेका छौं ।
प्रचण्ड:
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिरता, विकास र समृद्धिलाई सँगसँगै जोडेर अघि बढाउनु पर्नेमा जोड दिएका छन् । ‘स्थिरता, सुशासन र समृद्धिलाई सँगसँगै अघि बढाउनु पर्छ । स्थिरता, सुशासन र समृद्धि एउटा मात्रै भएन भने समृद्धि अपांगजस्तो बन्न पुग्छ । यीनीहरु अर्कामा अन्तरसम्बन्धित रहेका छन् ।’
विष्णु पौडेल :
‘अपेक्षित उपलब्धि हासिल गर्नका लागि बजेट हो’, उनले भने, ‘ बजेट कार्यान्वयन हुनेमा प्रतिपक्षको आशंका छ, तर हामी कार्यान्वयन गरेरै छाड्छौं ।’
नेकपा नेतृत्वको सरकारले गरेका कामहरुमाथि खबरदारी गरिरहन आग्रह गर्दै उनले भने, ‘हामीले गरका काम मिडिया, प्रतिपक्षीले पनि हेर्नुहोस् । हामीले अब पनि विकास नगर्ने हो भने हामीलाई यस्तो अवसर कहिल्यै आउने छैन ।’
बाबुराम भट्टराई:
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकारले भूराजनीतिक सन्तुलनमा ध्यान दिनुपर्नेमा जोड दिँदै शान्ति सुरक्षा र सुशासनमा पनि केन्द्रीत हुन आग्रह गरेका छन् । ‘सरकारले भूराजनीतिक सन्तुलनमा ध्यान दियोस् । यो सरकारले सुशासन, शान्ति सुरक्षाको ज्ञारेन्टी गरोस्, अरु आर्थिक समृद्धिको माहोल बनाई नीजि र बाह्य क्षेत्रलाई जिम्मा दिइयोस् ।’
मिनेन्द्र रिजाल:
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले निर्देशनले मात्रै विकास हुन नसक्ने बताएका छन् । ‘हामीले विकासका लागि संरचना बाधक छ भनेर प्रचण्डज्यूहरुसँग सहकार्य गरेकै हो । भावी दिनमा पनि सहकार्य गर्नुपर्ने ठाउँमा सहकार्य गरौं’, नेता रिजालले भने ।
डाक्टर पुष्पराज कँडेल :
‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने अहिले हाम्रो नारा नै छ । मैले देखेको समृद्ध नेपाल भनेको चाहिँ पहिले सुखी नेपाली हो । यदि नेपाली सुखी छ भने त्यो समृद्ध नेपाल भयो ।
रेणु यादव :
सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएको छ । त्यसका लागि महत्वकाङ्क्षी बजेट पनि ल्याएको छ । तर त्यसलाई कसरी कार्यान्वयनमा ल्याउने त्यसको कुनै योजना छैन । उदाहरणका लागि –सरकारले पाँच वर्षमा कृषिको उत्पादनलाई दोब्बर गर्ने बजेटमार्फत घोषणा गरेको छ । तर पाँच वर्षमा उत्पादनलाई कसरी दोब्बर गर्ने त्यसको कुनै योजना छैन ।
सीपी गजुरेल:
‘समृद्ध नेपाल, सुखी नेपाली’ तत्कालीन एमालेको चुनावी नारा हो । चुनावमा यो आर्कषक नारा बन्यो । यो नाराले एमालेलाई धेरै सिट जित्न महत्वपूर्ण भूमिका खेल्यो तर नाराले मात्रै समृद्धि आउने त होइन । जहाँसम्म एमालेको नीति, विचार र सिद्धान्त छ, त्यसले समृद्धि ल्याउन सम्भव छैन ।
जनार्दन शर्मा ‘प्रभाकर’:
आम जनता र सबै क्षेत्रको परिचालनविना समृद्धि सम्भव छैन । नेताले भाषण गरेर समृद्धि हुँदैन । सपना देख्ने कुरा त हो, सपनालाई योजनामा लैजानुपर्छ । योजनालाई कार्यान्वयनमा लैजानुपर्छ । कार्यान्वयनले परिणाम दिनुपर्छ, तब मात्रै समृद्धि सम्भव हुन्छ । त्यसकारण समृद्धका लागि सरकारले जनतालाई अपिल गरेर जनताको अभियान सञ्चालन गर्ने कुरामा अघि बढ्न सकेको छैन ।
भानुभक्त ढकाल :
अब हामीले समृद्ध नेपाल बनाउने कुरामा चुनौती पनि छ । समृद्ध नेपाल बनाउने सन्दर्भमा धेरै पाटा छन् । यसमा चुनावमा गरेका घोषणाहरूमा तदारूकका साथ कार्यान्वयन गर्नुपर्छ । सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई पूरा गर्नुपर्ने हुन्छ ।
महन्थ ठाकुर:
नेपालका जनशक्तिको यस्तो डरलाग्दो अवस्था हुँदाहुँदै पनि आर्थिक समृद्धिको सपना देख्छन् । आर्थिक समृद्धिका लागि पाइला चाल्नका लागि पहिलो पाइला यसैमा चाल्नुपर्छ ।