महिला मुक्तिका लागि स्वयं महिला जाग्नुपर्छ : केसी

0
640

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले महिलाहरुको आम मुक्तिका लागि महिलाहरु स्वयं नै जागृत हुनु पर्ने बताउनु भएको छ । “आम महिलाहरुको मुक्तिका लागि महिला आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँगै जोडेर अघि बढाउनु पर्छ” अध्यक्ष केसीले भन्नु भएको छ– “महिलाहरुको मुक्तिका लागि सबैभन्दा पहिला त महिलाहरु स्वयं नै जागृत हुनु पर्छ ।”

अध्यक्ष केसीले उक्त कुरा अखिल नेपाल महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा २०७५ जेष्ठ १५ गतेका दिन काठमाडौँको बागबजारस्थित होटल हार्दिकको सभाहलमा आयोजित “महिला अधिकारको सवाल” विषयक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै बताउनु भएको हो । सम्बोधनको क्रममा अध्यक्ष केसीले सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा महिला अधिकारका विषयलाई बेवास्ता गरेको बताउनु भयो । अन्धविश्वास र कुरीतिका कारण नेपालमा बोक्सी र छाउपडी जस्ता प्रथाबाट महिलाहरु अहिले पनि दर्दनाक किसिमले पीडित भइरहेको उदाहरणहरु प्रस्तुत गर्दै उहाँले वैदेशिक रोजगारीमा गएका नेपाली महिलाहरुको अवस्था झनै दर्दनाक रहेको बताउनु भयो । “देशभित्र बोक्सी र छाउपडी जस्ता कुप्रथाहरुको मारमा महिलाहरु परिरहेका छन्” अध्यक्ष केसीले भन्नु भयो– “देशभित्र मात्र होइन, बैदेशिक रोजगारीका सिलसिलामा अरबका खाडीहरुमा पुगेका महिलाहरुको अवस्था झनै दयनीय रहेछ । केही समय अघि म ओमन र युएई पुगेको थिएँ । त्यहाँ मैले पीडित महिलाहरुलाई पनि भेटे । त्यहाँ त नेपाली कामदार महिलाहरुलाई गाईवस्तु सरह खरिद–बिक्री गरिदो रहेछ । उनीहरुले त्यहाँ खेप्नु परेका पीडा निकै दर्दनाक रहेछन् ।” महिलाहरुको यो नारकीय अवस्थालाई बदल्नका लागि आन्दोलनको अर्को कुनै विकल्प नरहेको उहाँको थप भनाइ थियो ।

अन्तरक्रियालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रवक्ता तथा सांसद दुर्गा पौडेलले संविधानमा स्थापित भएका महिला हक–हित र अधिकारहरुलाई कार्यान्वयनमा ल्याउनका लागि सशक्त आन्दोलन अघि बढाउनु पर्ने बताउनु भयो । महिला अधिकारका लागि अखिल नेपाल महिला सङ्घले इतिहासमा चलाएका अभियान र दबाबमूलक आन्दोलनहरुको स्मरण गराउँदै प्रवक्ता पौडेलले नेपालको महिला आन्दोलनमा एसिया र विश्व महिला आन्दोलनका विषयहरु समेत जोडेर अघि बढाउनु पर्ने विचार व्यक्त गर्नु भयो ।

अनेमसङ्घकी कार्यवाहक अध्यक्ष तथा सांसद गोमा देवकोटाले अन्तरक्रियालाई सम्बोधन गर्दै नेपालको महिला आन्दोलन कठिन सङ्घर्षबाट गुज्रिरहेको बताउनु भयो । आफूलाई वामपन्थी र कम्युनिस्ट भन्ने पार्टीभित्रै ३३ प्रतिशत महिला सहभागिता नदेखिनु विडम्बनापूर्ण स्थिति भएको उहाँको थप भनाइ थियो । नेपाल महिला सङ्घकी पूर्व अध्यक्ष तथा सांसद डा. डिला सङ्ग्रौलाले अन्तक्र्रियालाई सम्बोधन गर्दै संविधानमा स्थापित महिला अधिकारका विषयहरु लामो सङ्घर्षकै परिणाम सम्भव भएको बताउनु भयो । संविधानमा स्थापित महिला अधिकारका विषयहरुलाई कार्यान्वयनमा लैजान अझै पनि दबाबमूलक आन्दोलनको आवश्यकता रहेको औल्याउँदै उहाँले सडक र सदन दुवै क्षेत्रबाट दबाबमूलक आन्दोलन अघि बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।
अखिल नेपाल प्रगतिशील महिला सङ्घकी उपाध्यक्ष जनक चालिसेले अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महिला मुक्तिका लागि संयुक्त सङ्घर्षलाई निरन्तर जारी राख्नु पर्ने बताउनु भयो । अन्तक्र्रियामा बोल्ने सबै अतिथि वक्ताहरुले अन्तक्र्रियामा प्रस्तुत अवधारणा पत्रको खुलेर प्रशंसा गरेका थिए ।

अन्तरक्रियामा अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष अधिवक्ता पदम रोकाले अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनको अध्यक्षता, महासचिव सरस्वती पौडेलको सञ्चालन र कोषाध्यक्ष मनु विकको स्वागत मन्तव्यबाट अन्तक्र्रिया कार्यक्रम अघि बढेको थियो । कार्यक्रममा अखिल नेपाल ट्ेरड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल युवक सङ्घका अध्यक्ष अनिल किशोर घिमिरे र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलको समेत आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here