नवलपुर । कल्पना फाउन्डेशन नेपालले विजय निमावि गैडाकोट नवलपुरमा अध्ययनरत गरिब तथा जेहेन्दार दुई विद्यार्थीहरूलाई यस वर्ष पनि छात्रावृत्ति प्रदान गरेको छ । २०७४ चैत ३० गते विद्यालयमा एक विशेष समारोहको आयोजना गरी फाउन्डेशनले सो छात्रावृत्ति प्रदान गरेको हो ।
छात्रावृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा ६ मा अध्ययनरत छात्रा चिनिमाया खाम्चा र कक्षा ४ मा अध्ययनरत छात्र साजन पौडेल रहेका छन् । उनिहरु दुबै मजदुरी गरेर दैनिक छाक टार्ने परिवारका बालबालिकाहरु हुन । गरिब र विपन्न परिवारमा जन्मेर पनि अनुशासित यी छात्रा–छात्र पढाइमा भने अब्बल छन् । छात्रवृत्ति प्राप्त गरेका ती विद्यार्थीहरू कक्षा प्रथम त हुन नै त्यसको साथै चिनिया विद्यालयको सर्वप्रथम हुन भने साजन बिद्यालयको तृतीय भएका छन् । अत्यन्त गरिब परिवारमा जन्मेका बिद्यार्थीहरु कोहि पनि पढाईबाट बन्चित हुन नपरोस् भनेर फाउन्डेसनले विगत चार वर्षदेखि यसै गरी छत्रावृत्ति प्रदान गर्दै आइरहेको छ ।
छात्रवृत्ति बितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गैंडाकोट नगर पालिका ८ वडा अध्यक्ष तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिलाराम रिजालले कल्पना पौडेल “जिज्ञासु“ जस्तो सहयोगी र समाजसेवी ब्यक्तित्व गैंडाकोटले पाउनु समग्र नगरको लागि खुसीको कुरा रहेको बताए । उनले आफु सो कार्यबाट उत्साही भएको र सम्पुर्ण उपस्थित जनसमुदायलाई यस प्रकारको सहयोग गरि समाजमा अनुकरणीय भुमिका खेल्न समेत आग्रह गर्नु गरे । कल्पनाले विदेशमा पसिना बगाएर पनि दुःखी, गरिब असहाय र समस्यामा परेका बालबालिकालाई शिक्षामा पहुँचको लागि सहयोग पु¥याएकोमा जनप्रतिनिधि र बिद्यालयको अध्यक्षको हैसियतले धन्यवाद समेत दिए ।
प्रधानाध्यापक तिलक पराजुलीका अनुसार कल्पना फाउन्डेशनले २०७२ सालमा पहिलो छात्रवृत्ति दिंदा बिद्यालयका गरिब तथा जेहेन्दार दुई विद्यार्थीहरूलाई विद्यालय स्तरको अध्ययन अवधिभरि कापी, कलम, ड्रेस आदिमा लाग्ने सम्पूर्ण खर्च यही छात्रवृत्तिको रकमबाट प्रदान गरिने समझदारी भएको थियो । पराजुलीले भने– “धेरैले आफ्नै सन्तानका बारेमा मात्र सोंच्छन्, उनीहरूको खुशीका निम्ति मात्र कमाउँछन् । तर कल्पनाजीले समाजका असहाय बालबालिकाका निम्ति यति राम्रो अभियान सुरु गर्नु भयो, यो सह्रानीय कार्य हो ।”
फाउन्डेशनले प्रदान गरेको छात्रवृत्तिको यो रकम छात्रवृत्ति प्राप्त गर्ने दुई विद्यार्थीका नाममा छुट्टा छुट्टै खाता खोली सहकारी संस्थामा राखिएको छ । विद्यालयका एक शिक्षकको संरक्षकत्वमा किसान वचत तथा ऋण सहकारी संस्थामा दुवै बालकको नाममा खाता खोली सो रकम राखिएको छ ।
संस्थाकी अध्यक्ष कल्पना पौडेल रोजगारीका सिलसिलामा लामो समय इजरायलमा कार्यरत रही स्वदेश फर्किनु भएको छ । कल्पना फाउन्डेशनलाई बैधानिक रुपमा दर्ता गरि विभिन्न सामाजिक कार्यहरूमा सहयोगी भुमिका खेल्नुको साथै महिला, बालबालिका र अशक्त असहाय मानव केन्द्रित कार्यहरूको लागि बृहत् उदेश्य राखेर समाजमा विशेष सहयोगी भुमिका खेल्न संस्था दर्ता गरिएको उक्त संस्थाका सचिव संजाल शर्माले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम रिजालको अध्यक्षता र शिक्षक तारा रिजालको सञ्चालनमा अघि बढेको सो समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।