१४ बर्षदेखि जरो गाडेर बसेको लोडसेडिङ मुलुकबाट सदाका लागि विदा,औद्योगिक क्षेत्र पनि लोडसेडिङबाट मुक्त, अध्याँरो अन्त्य मुलुकका लागि उज्यालोको संकेत
काठमाडौं । १२ बर्षमा खोलो पनि फर्कन्छ भन्ने उखानलाई चरितार्थ गर्दै नेपाल विद्युत प्राधिकरणले १४ बर्षसम्म जरो गाडेर बसेको लोडसेडिङ मुलुकबाट सदाका लागि विदा गरेको छ । विद्युत अभावमा औद्योगिक क्षेत्रमा विद्युत कटौती गर्दै आएको प्राधिकरणले विद्युतभार कटौती मुक्त गर्दा उद्योगी व्यवसायी हर्षित बनेका छन् ।
विद्युत अभावमा २०६१ सालदेखि नेपाल सरकारले लोडसेढिङ शुरु गरेको थियो । उपभोक्ताहरु बढेपनि सरकारसँग विद्युत उत्पादन गर्ने प्रशस्त जलविद्युत आयोजनाहरु नभएका कारण बर्षेनी मुलुकले लोडसेडिङको मार खेप्नुपरेको हो । मुलुकमा तत्कालीन संघर्षरत नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि जलविद्युत आयोजना निर्माणले गति पाउँदा बिस्तारै मुलुकमा विद्युत उत्पादन पनि बढ्न थालेको हो ।
परिणामस्वरुप घरायसी ग्राहकले गत वर्षको असोजदेखि नै नियमित रुपमा विद्युत् पाएका थिए । तर औद्योगिक क्षेत्रका ग्राहकले भने दैनिक तीन घण्टा विद्युतभार कटौतीको समस्या व्यहोर्दै आएका थिए । अहिले औद्योगिक क्षेत्रले पनि नियमति चौबिसै घण्टा विद्युत पाएका छन् । प्राधिकरणका अनुसार बढी विद्युत् माग हुने वीरगञ्ज र हेटाँैडा, विराटनगर, भैरहवा र नेपालगञ्जमा समेत नियमित विद्युत् आपूर्ति गरिएको छ । आयोजनाका जलाधार क्षेत्रमा नियमित वर्षा भइरहेको, हिमालका हिउँहरु पग्लिन थालेको र आयोजाहरु पूरा क्षमतामा चल्न थालेकोले विद्युत उत्पादनमा बृद्धि भएको प्राधिरकणले जनाएको छ ।
प्राधिकरणले अर्ध जलाशयुक्त १४४ मेगावाटको कालिगण्डकी–ए, ७० मेगावाटको मध्यमस्र्याङ्दी, ६९ मेगावाटको मस्र्याङ्दी, ३० मेगावाटको चमेलिया, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए र २२ मेगावाटको चिलिमेलाई पूरा क्षमतामा संचालन गरेको छ । औद्योगिक क्षेत्रमा पनि विद्युत कटौती नहुने व्यवस्था लागू भएकोमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । विद्युत अभावमा २–३ प्रतिशतमा झरेको उद्योग क्षेत्रको उत्पादन बढने र विद्युतको सहज आपूर्ति भएपछि अब औद्योगिक वातावरण बन्ने र आर्थिक विकासको युग पनि प्रारम्भ हुने महासंघको विश्वास छ ।
प्राधिकरणले हालसम्म ७६ जिल्लामा विद्युत् सेवा उपलब्ध गराएको छ । मनाङमा हालसम्म प्राधिकरणले विद्युत व्यवस्थापन गर्न नसकेपनि स्थानीय स्तरबाट उत्पादित विजुलीले मनाङको माग धानिरहेको छ । प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रुपमा काठमाडौँ उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई विद्युतभार कटौतीमुक्त गरेको थियो । अब यो लहरले समग्र देशलाई समेटेको छ । अध्याँरो यो अन्त्य उज्यालोको सुखद सुरुवात पनि हो मुलुकका लागि ।
न्यूज २४बाट