ऐतिहासिक जितगढी किल्ला मणि मुकुन्द पार्क फूलवारीमा भारतीय सरकारको दबाबमा भू.पू. सैनिक पेन्सन क्याम्पको नाममा भारतीय सैनिक क्याम्प बनाउन नेपाल सरकारले जग्गा प्रदान गरेको विरोधमा यस क्षेत्रमा चरणबद्ध कार्यक्रमहरु सञ्चालन गरिदै आइएको छ । यसै क्रममा ऐतिहासिक जितगढी किल्ला बचाऊ अभियानले बुटवलमा एक हप्तासम्म सडक नाटक “जितगढीको आह्वान” प्रदर्शन गरेको छ । जितगढी किल्लाको इतिहासलाई समेटेर तयार पारिएको उक्त सडक नाटकले बुटवल क्षेत्रका दर्शकमा गहिरो प्रभाव पारेको छ ।
जितगढी किल्लाको वास्तिवक पहिचानलाई झल्काउने गरी रक्तिम परिवारका कलाकारहरुले सडक नाटक तयार गरेका हुन् । बुटवलका विभिन्न ठाउँमा सडक नाटक प्रस्तुत गरेर सर्वसाधारण नागरिकलाई सचेत गराइएको छ । संसारमा कहीँ कतै नहारेको बृटिस सेनालाई परास्त गरेर नेपाली भूमि बचाउन सफल भएको नेपाली सेनाको वीरताको लडाइँलाई नाटकमा कलाकारहरुले कुशलतापूर्वक उतारेका छन् ।
अङ्ग्रेज साम्राज्यवाद विरुद्धको लडाइँमा नेपालीहरुले विजय प्राप्त गरेको ऐतिहासिक स्थान जितगढी किल्लाको गौरवपूर्ण वीरगाथा र पछिल्लो पटक सरकारले गरेको राष्ट्रघाती सम्झौता विरुद्ध जनताको भावनालाई समेटेर तयार गरिएको सडक नाटक “जितगढीको आह्वान” बुटवलका चोकचोकमा प्रदर्शन गरिएपछि बुटवलवासी जितगढीलाई बचाउन अब उत्साहित भएर लाग्ने देखिएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७३ फागुन १७ गते जितगढी किल्लालाई स्थायी पेन्सन क्याम्पको नाममा त्यहाँको सम्पूर्ण स्वामित्व भारत सरकारलाई दिने निर्णयगरेको थियो । जसको नाटकमा सशक्त विरोध गरिएको छ ।
१८७१ मा बृटिस सेनालाई अन्तिमसम्म लडेर नेपाली सेनाले जितगढी किल्लालाई कसरी बचाउन सफल भएको थियो भन्ने भाव नाटकले झल्काएको छ । कर्नेल उजिर सिंहको नेतृत्वमा वीरतापूर्वक लडाइँ लडेर बचाएको भूमिलाई सुरक्षित गरेर संसारलाई चिनाउनु पर्ने नाटकको भाव रहेको छ ।
भारतले भूतपूर्व सैनिकहरुका लागि पेन्सन क्याम्प बनाउने नाममा वीरताको गाथा बोकेको भूमिलाई कब्जा गर्ने षडयन्त्रका विरुद्व एकताबद्व हुन सडक नाटकले आह्वान गरेको छ । अङ्ग्रेज सेनालाई परास्त गर्दाको क्षण र विजय मनाएको अवस्थालाई कल्पना गरेर नाटक तयार गरिएको छ ।
संसारलाई चिनाउने र संसारका अगाडि हामी नेपाली हौँ भन्न सिकाउने जितगढी किल्लाको क्षेत्रमा भारतले आँखा लगाएका कारण त्यसका विरुद्व नाटक बनाइएको कलाकार तथा रक्तिम सांस्कृतिक अभियानका महासचिव नारायण योगीले बताउनु भएको छ । सडक नाटक कुनैप्रति पूर्वाग्रही नभएको र आफ्नो देशको अखण्डता, एकताका लागि आफ्नो भूमिप्रति नेपाली जनतालाई सचेत गराइएको योगीले बताउनु भयो ।
रक्तिम सांस्कृतिक परिवारका कलाकार तथा साहित्यकार नारायण योगी र ऐतिहासिक जितगढी किल्ला बचाऊ अभियानका संयोजक सन्त बहादुर नेपालीको परिकल्पनामा सडक नाटक तयार गरिएको हो, जसको निर्देशन प्रणव आकाश (चौधरी) ले गर्नु भएको थियो ।
सडक नाटकमा कलाकारहरु नारायण शर्मा, दल बहादुर विक, डम्बर भण्डारी, दिलिप रसाइली, शिव रोका, लक्ष्मी गुरुङ, लक्ष्मी पौडेल, कमला केसी, ज्योति फौजा, सृष्टि बस्याल, सुमन भण्डारी, रमेश केसी, सरोजमान सिंह, सीता केसी, मिरा भुजेल, मुना रोका, मिलन परियार, अमर थापा र पुष्पा पौडेल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । नाटक वैशाख १८ देखि २३ गतेसम्म बुटवलका चादमारी, देविनगर, ट्राफिकचोक, पुष्पलाल पार्क, गोलपार्क, राजमार्ग चौराहा, जेसिसचोक, वी.पी. चोक, पुरानो बसपार्क, दिपनगर, जितगढी र बेलबास चोक लगायतका विभिन्न १३ स्थानमा प्रदर्शन गरिएको थियो । २३ वैशाखको दिन चाँदमारीमै एक समारोह गरी बुटवलमा संचालित सडक नाटकको समापन गरिएको थियो । समारोहमा बोल्दै आयोजकहरुले रक्तिम कलाकारहरुले नाटकमा निभाएको भूमिकाको खुलेर प्रशंसा गरेका थिए । कलाकारहरुले पनि ऐतिहासिक महत्वको विषयमा यसरी नाटक गर्न पाउनु आफूहरुलाई खुशीको विषय भएको प्रतिक्रिया दिएका थिए । अभियानका संयोजक सन्तबहादुर नेपालीको अध्यक्षता र सचिवालय सदस्य विनोद खनालको संचालनमा अघि बढेको सो समारोहमा पदम कार्की, नारायण योगी, नारायण शर्मा, ज्योति फौजा लगायतले बोल्नु भएको थियो ।
नेपाली भूमि जोगाउन पानीका भरमा लडेका हाम्रा वीर पुर्खाहरुको बहादुरीलाई झल्कने गरी सडक नाटक तयार गरिएको छ । अङ्ग्रेज सेनालाई हराउन प्रयोग गरिएको भूमिलाई भारतले आँखा लगाएपछि बीर पुर्खाहरुको याद आउने गरी सडक नाटक तयार गरिएको हो ।
ऐतिहासिक जितगढी किल्ला बचाउने दायित्व सबैको हो । त्यही दायित्वलाई बोध गरेर बुटवलमा रक्तिम परिवारका कलाकारहरुले सडक नाटक प्रदर्शन गरेका हुन् । नाटकमा सबै कलाकारहरुको भूमिका सशक्त देखिन्थ्यो । रूपन्देहीमा क्रियाशील राजनीतिक दल, विभिन्न सङ्घ/संस्था, नागरिक समाज, पत्रकार, कानुन व्यवसायी, लेखक, बुद्विजीवी, पर्यटन व्यवसायीहरुको सहभागितामा ऐतिहासिक जितगढी किल्ला बचाऊ अभियान नामक संस्थाको आयोजनामा सडक नाटक प्रदर्शन गरिएको हो । जितगढी किल्लाको क्षेत्रमा भारतीय पक्षले यो वा त्यो प्रकारले हडप्न खोजेको भन्दै आम सर्वसाधारणलाई सचेत बनाउने लक्ष्य सहित अहिले बुटवलबाट सडक नाटक देखाइएको बताइएको छ । बुटवलबाट सुरु भएको सडक नाटक अहिले बुटवलमा समापन गरिए पनि अब छिट्टै देशभर र विदेशमा पनि प्रर्दशन गरिने आयोजकहरुले बताएका छन् ।सुमन अधिकारी/बुटवल