नुवाकोट । यहाँ वृद्धि हुँदै गएको क्षयरोगको पहिचान, निवारण र नियन्त्रण गर्न राष्ट्रिय क्षयरोग केन्द्रले ‘जिन एक्सपर्ट उपकरण’ जिल्ला अस्पताल त्रिशूलीलाई उपलब्ध गराएको छ ।
उक्त उपकरण केन्द्रका निवर्तमान निर्देशक डा केदारनरसिंह केसीले जिल्ला अस्पतालका व्यवस्थापन समितिको अध्यक्ष पारस अधिकारीलाई २०७४ चैत्र २४गते प्रदान गर्नुभयो । दुई घण्टामा नै क्षयरोगको पहिचान गर्न सकिने भएकाले नुवाकोटसहित आसपासको जिल्ला रोगको ‘हब’ बन्दै गएकाले छोटो समयमा नियन्त्रण गर्नसक्षम हुने डा केसीले बताउनुभयो ।
सन् २०३५ सम्म क्षयरोग शुन्यमा ल्याउने सरकारी लक्ष्य पूरा गर्न जिल्ला अस्पतालबाट पहिचान र उपचार पाउने भएपछि सम्भव बनाउन सहयोग पुग्ने केसी ले बताउनु भयो ।
उहाँका अनुसार रु ३६ लाख पर्ने उक्त उपकरण क्षयरोगको पहिचान र उपचारका लागि अहिलेसम्मकै अत्याधुनिक प्रविधि मानिएको छ ।
निजी अस्पतालमा क्षयरोगको परीक्षण गराउन रु पाँचदेखि आठ हजारसम्म शुल्क लाग्ने हुँदा त्यो बिरामीको पहुँच बाहिर हुँदा रोग बल्झने गरेकाले अस्पतालबाट सेवा नि:शुल्क हुने व्यवस्थापन समितिका अध्यक्ष पारस अधिकारीले बताउनुभयो ।