अखिल नेपाल किसान संघद्वारा घोर भ्रत्सर्ना प्रकट
चितवन । चितवनको कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले केरा बगान फँडानी गरेको छ । चौरमा स्थानीय १२ किसानले लगाएका तयारी अवस्थामा रहेको तीन हजार १०० भन्दा वढी केराका बोट रातको समयमा फाँडिएको थियो । सो क्षेत्रमा बस्ती केही पर केरा बगान रहेको छ । फँडानी भएको मध्ये सबैभन्दा बढी स्थानीय कोपिला दाहालको झण्डै १५ क्षेत्रफलमा लगाइएको केरा फाँडिएको छ । फँडानी गरिएका केरा अधिकांश पसाएको अवस्थाका थिए । वर्षभरिको मेहनत खेर गएको र बजार लैजाने अवस्थामा रहेको केरा एकाएक फँडानी भएपछि किसान चिन्तित बनेका छन् । केरा व्यवसायी समितिका जिल्ला अध्यक्ष विष्णुहरि पन्तले रातको १० बजेपछि रातभर केरा फँडानी गरिएको हुनसक्ने बताए । उनका अनुसार फाँडिएका केराको मूल्य १५ लाखभन्दा बढी छ ।
केही दिन अघिमात्रै सो क्षेत्रबाट लागुपदार्थ सेवन गरिरहेका युवालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको समूहबाट नै केरा फँडानी गरेको स्थानीयवासीले आशंका गरेका छन् । कालिका नगरपालिकाको पदमपुर क्षेत्र केराको पकेट क्षेत्रका रुपमा परिचित छ । पदमपुरका प्राय: घरमा केरा खेती गरिँदै आएका छन् । प्रहरीले रिसइबीका कारण केरा फँडानी गरिएको आशंका गर्दै दोषी पत्ता लगाएर कारवाही गर्ने जनाएको छ । चितवनमा दुई हजार ६५० बिगाहमा व्यावसायिक केरा खेती हुँदै आएको छ । छ सय ३० जना किसान यो व्यवसायमा आबद्ध छन् ।
यसै बीच अखिल नेपाल किसान संघका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले किसानको केराका बोट काट्ने र फाडने कार्यको निन्दनीय र अपराधिक कार्य भएको भन्दै घोर भ्रत्सर्ना गरेका छन् । साथै यस प्रकारको अपराधिक घटनामा संलग्न दोषीहरु पत्ता लगाई कडा कार्वाहीको माग समेत गरेको छ ।
केरा फडानीबाट भएको नोक्सानी र क्षेतिपुर्ति दिन नेपाल सरकार र सम्बन्धित निकायसँग जोडदार माग समेत संघले सोही विज्ञप्ती मार्फत गरेको छ । किसानको उत्पादनलाई आवश्यक सुरक्षाको दिर्घकालिन व्यवस्थ गर्न र किसानको हकहितको सुरक्षाका लागि नेपाल सरकार प्रत्यक्ष अग्रसर हुन समेत अखिल नेपाल किसान संघले माग गरेको छ ।