तिलक थापा, अध्यक्ष, अखिल नेपाल युवक संघ
० राष्ट्रिय सम्मेलनको तयारी के कस्तो चलिरहेको छ ?
– “राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तन : युवा अधिकार र जनतन्त्रको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ अखिल नेपाल युवक सङ्घको सातौँ राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न हुन गइरहेको छ । यही वैशाख २८ देखि ३० गतेसम्म हुने भएकाले यस सम्मेलनको अन्तिम तयारीमा हामी जुटेका छौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष कमरेड चित्र बहादुर केसीले सम्मेलनको उद्घाटन गर्नु हुने छ । देशभरबाट हजारौँको सङ्ख्यामा युवाहरु सहभागी हुनेछन् । उद्घाटनको दिन युवा मार्चपास समेत गरिने छ । त्यसको तयारीमा केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र राष्ट्रिय परिषद सदस्य लगायत शुभचिन्तकहरु समेत राष्ट्रिय सम्मेलनको तयारी प्रचार प्रसारमा लागिरहनु भएको छ ।
० राष्ट्रिय सम्मेलनका मूल एजेन्डा के के छन् नि ?
– हामीले मूल नारामा पनि भनिसकेका छौँ कि मुलुकको स्वाधीनता, राष्ट्रियता, अखण्डता कमजोर बन्दै गइरहेको छ । यसलाई बलियो बनाउनका लागि युवा आन्दोलनलाई प्रभावकारी बनाइने छ । गणतन्त्र स्थापना भए पनि सामन्ती, केन्द्रीकृत र नोकरशाही प्रवृत्तिहरुको अन्त्य हुन सकेको छैन । हामीले विकसित, सभ्य र सुसंस्कृत समाज निर्माणमा जोड दिने छौँ । अहिले पनि भ्रष्टाचार, अनियमितता, गुण्डागर्दी, सामाजिक अपराधहरु बढ्दै गएका छन् । यसले समाजलाई दुर्गन्धित बनाइरहेको छ । यसका विरुद्ध युवाहरुलाई सचेत बनाई आन्दोलित गरिने छ । युवाहरु बेरोजगारीका कारण लाखौँको सङ्ख्यामा विदेशिएका छन् । देशभित्र उपयुक्त वातावरण सिर्जना गर्ने र युवा पलायनलाई रोक्नु जरुरी छ । यस विषयमा सम्मेलनले स्पष्ट दिशानिर्देश गर्ने छ । जनताका आधारभूत समस्याहरुको समाधान यो वर्तमान व्यवस्थाबाट सम्भव छैन, केही सुधारात्मक कार्य मात्र गर्न सकिन्छ । त्यसका लागि यो संरचनामा आमूल परिवर्तन गर्नु पर्दछ । यिनै उद्देश्य र एजेन्डा सहित राष्ट्रिय सम्मेलन सम्पन्न गरिने छ ।
० स्वाधीनतामाथि खतरा भन्नु भएको छ । खास खतरा के हो ?
– विश्वमा नेपाल स्वतन्त्र र सार्वभौम मुलुक भनेर चिनिन्छ । यो देश कहिल्यै कसैको गुलाम भएर बस्नु परेन । तर १८१६ को सुगौली सन्धि, १९५० को असमान सन्धि र अहिले अरूण तेस्रो सम्झौतासम्म आउँदा थुप्रै राष्ट्रघातहरु बेहोर्नु परेको छ । शासकहरुले विदेशी शक्तिका सामु आत्मसमर्पण गर्ने र आफ्नो कुर्सी बचाउने खेलमा सीमित भएका छन् । यति सुन्दर र मनोरम देशको प्राकृतिक स्रोत–साधनलाई दोहन गर्ने, सीमाना क्षेत्रमा बाँध बाँधेर वर्षेनी नेपालीहरुलाई डुबानमा पार्ने काम भारतबाट भइरहेको छ । सीमा अतिक्रमण लगातार भइरहेको छ । नेपालको व्यापार क्षेत्रमा एकाधिकार कायम गर्दै लगिएको छ । भूमण्डलीकरण, उदारीकरणको नाममा बहुराष्ट्रिय कम्पनीहरुको खुल्मखुल्ला छुट दिइदा नेपालको स्रोत, सम्पत्ति, पैसा सबै विदेशिएको छ । आत्मनिर्भर अर्थतन्त्रको विकास हुन सकेको छैन । यसैले यहाँको स्वाधीनता, राष्ट्रियता र स्वतन्त्रतामाथि खतरा छ भनिएको हो ।
० युवकहरुको नेता भएको हैसियतले अहिलेको देशको परिस्थितिलाई कसरी हेर्नु भएको छ ?
– मुलुक अहिले पनि गोलचक्करमा फसिरहेको छ । विभिन्न पार्टीहरुले देशको समृद्धिको एजेन्डा देखाएर चुनाव जित्ने गर्दछन् । अहिले आफूलाई वामपन्थी भन्ने पार्टीको सरकार पनि छ । तर चुनावका आश्वासनहरु सधैँभरि खोक्रा हुने गरेका छन् । सत्ताधारी पार्टीहरुले राष्ट्रिय आवश्यकता, जनताको समृद्धि, युवाहरुको अधिकार, सामाजिक, आर्थिक विकास आदि बारेमा कहिले पनि चिन्तन गरेको पाइदैन । नयाँ संविधान बन्यो, गणतन्त्र आयो । यो खुशीको कुरा हो । तर सामन्ती सोचाइ र प्रवृत्तिहरु जहाँको त्यहीँ छन् । राज्य पुनर्संरचनाको नाममा देशको आवश्यकता र हित विपरीत सङ्घीयता प्रवेश गराइएको छ । यसले गर्दा देशमा केन्द्र प्रदेश र स्थानीय तहमा स्रोत–साधन, शक्ति विभाजनमा समस्या पैदा भएको छ । प्रदेशको संरचना बनाइए पनि त्यसले काम पाउन सकिरहेको छैन । अनावश्यक आर्थिक भार देशले खेप्नु परिरहेको छ । स्थानीय तहमा पनि सक्षम प्राविधिक जनशक्ति नहुँदा आर्थिक चलखेलहरु भइरहेको देखिन्छ । मुलुकको माथिल्लो तहमा पुगेका नेता र प्रशासकहरुको भ्रष्टाचार, ठगी, अपराधिक क्रियाकलापमा सम्बन्ध रहेको समाचार आइरहेका छन् । यसले मुलुकलाई सही बाटोमा लैजादैन । त्यसैले जनसरोकारका यस्ता तमाम मुद्दालाई अध्ययन गरी युवाहरुलाई खबरदारी आन्दोलनमा परिचालन गर्नु पर्ने आवश्यकता देखिएको छ ।
० सम्मेलनले नेतृत्व पनि चयन गर्ने होला, को को आउनु हुन्छ नेतृत्वमा ?
– राष्ट्रिय सम्मेलन भन्दा बित्तिकै विधान संशोधन, नयाँ नेतृत्वको चयन, आगामी कार्यक्रमको तय, विगतको समीक्षा आदि हुने गर्दछन् । स्वाभाविकै रूपमा चार/चार वर्षमा हुने राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयन गर्नु पर्दछ । हाम्रो निश्चित सङ्गठनात्मक प्रणाली छ । प्रणालीभन्दा बाहिर गएर अनुशासनहीन र अराजक ढङ्गले नेतृत्व हत्याउन पाइँदैन । सम्मेलनमा आएका प्रतिनिधिहरुले जनवादी केन्द्रियताको पद्धतिभित्र रहेर व्यापक छलफल गर्दछन् र त्यहीँभित्रबाट नेतृत्व चयन हुन्छ । सम्मेलनले बनाएको केन्द्रीय समितिको बैठक बसेर पदाधिकारी चयन गरिन्छ । हाम्रो सङ्गठनमा अरू पार्टीका सङ्गठन जस्तो पदका लागि झैझगडा अनावश्यक विवाद खडा गरिदैन । पदको दुरूपयोग गर्ने र शक्तिको आडमा गलत काम गर्ने नियत बोकेकाहरुले पद हत्याउन अनेक षडयन्त्र गर्ने गर्दछन् । हाम्रो सङ्गठनमा त्यस्तो परम्परा छैन ।
० अन्त्यमा केही छ कि ?
– युवा सक्रिय र सचेत नभए देश बन्दैन । युवाले राष्ट्रका लागि केही लगानी गर्नै पर्छ । राष्ट्र र जनताको मुक्तिको लागि वर्ग सङ्घर्षलाई अगाडि बढाउँदै जनवादी क्रान्तिको दिशामा युवा आन्दोलनलाई अगाडि बढाउनु पर्दछ । यसका लागि सबै युवा सङ्गठित बन्दै जान आह्वान गर्दछु । जनप्रिय पत्रिका हाँक साप्ताकिहले पनि त्यो दिशामा प्रचार प्रसार गरोस् भन्ने अनुरोध गर्दछु ।