समिर सिंह
मानिसहरुबीच अन्तरक्रियात्मक सम्बन्ध तथा त्यसको गतीशील स्वरूपको अध्ययन् नै समाजशास्त्र(sociology) हो । शाब्दिक रुपमा sociology भन्ने शब्द लेटिन शब्द societus र ग्रीक शब्द logos मिलेर बनेको हो । जहाँ societus को अर्थ society र logos को अर्थ study अथवा science हुन्छ । यसरी sociology को शाब्दिक अर्थ समाजको अध्ययन अथवा समाजको विज्ञान भयो ।
समाजशास्त्रसित विभिन्न पक्षहरू जोडिएका हुन्छन् । विशेषगरेर मानिसहरुको चेतना तथा शिक्षाले नै समाजको स्वरूपको निर्धारण गरिरहेको हुन्छ । तरपनि यी सबैको मूल आधार आर्थिक पक्ष नै हो । मानिसहरूको उत्पादन पद्धतिले नै उनीहरुको आर्थिक स्तर निर्धारण गरिरहेको हुन्छ । आजभन्दा लगभग २२ लाख बर्ष अघि जब मानिसले श्रमको प्रयोग गरेर हतियार निर्माण गथ्र्यो त्यो समय देखि ऊ सांस्कृतिक प्राणीको रुपमा प्रस्तुत भएको विश्वास गरिन्छ । तर आजभन्दा ८ लाख बर्ष अघिबाट नै मानिसले आगोलाई आफु अनुकुल प्रयोग गर्दै आयो र यस आधारमा नै मानिसले प्रकृतिमाथि विजय प्राप्त गर्यो । त्यस आधारमा पारिवारिक संरचनाको विकास भयो । आजभन्दा १० हजार बर्ष अघि खाडी मुलुक(इरान, इराक, टर्की, सिरिया, इजरायल) मा कृषिको विकास भएको पाइन्छ । जबकि ४ हजार बर्ष अघि धेरै ठाऊँहरुमा कृषिको विकास भयो । जबकि नयाँ संसार(उत्तर अमेरिका) मा धेरै पछि नै कृषिको विकास भयो । प्रारम्भमा जंगली खाद्यमा आधारित कृषिको सुरुवात भयो । जबकि इ.पु.६५०० तिर पाकिस्ताको मेहरगढमा धान खेतीको सुरुवात भएको पाइन्छ । यसरी कृषि युगको उत्पादन पद्धतिका आधारमा एउटा बेग्लै प्रकारको सामाजिक संरचना तयार हुँदै गयो ।
यसरी उत्पादनसित जोडिदै जादा मानिसहरूको चेतना, राजनीतिक स्तर, संसारलाई हेर्ने दृष्टिकोण आदि जस्ता विषयहरु त्यही रुपमा विकास हु्ँदै गयो । त्यसका साथै वैज्ञानिक अनुसन्धानहरुले पनि मानिसहरुको चेतनामा गुणात्मक परिवर्तन ल्यायो । खगोल विज्ञानको बारेमा ज्ञान नहँुदा प्राकृतिक रहस्यहरुसित विभिन्न अंधविश्वास तथा रुढीवादी प्रचलनहरु जोडिन पुगे । तर अहिलेको २१औं शताब्दीको वैज्ञानिक यूगमा मानिसको चेतनामा धेरै कुराहरुको विकास भएको छ । जसका कारण एउटा आधुनिक समाजको निर्माणको दिशामा महत्वपूर्ण आधारहरु तयार हुँदै गयो ।
मानव जातिको उत्पतिसंगै समाजले विभिन्न रुपहरू धारण गर्दै अगाडि बढ्यो । भिन्दा भिन्दै उत्पादन प्रणालीअनुसार समाजको स्वरूप निर्धारण हुँदै आयो । र, त्यो विषयमा संसारका विभिन्न समाजशास्त्रीहरुले विभिन्न प्रकारले समाजका विभिन्न पक्षहरुको अध्ययन् गर्दै आईरहेका छन् । सर्वप्रथम फ्रान्सका अगष्ट काम्टेले सन् १८३९ मा यो विषयलाई व्यवस्थित रूप दिए । उनले अन्य प्राकृतिक विज्ञानजस्तै समाजिक जीवनको अध्ययन्लाई पनि वैज्ञानिक पद्धतिद्धारा हुनुपर्ने बताए । उनले भने, ‘समाजशास्त्र, सामाजिक व्यवस्था(social progress)को विज्ञान हो ।’ यसरी अगष्ट काम्टेले दुईवटा पक्षहरुमा विशेष जोड दिएका छन्– सामाजिक व्यवस्था(संरचनात्मक पक्ष) र प्रगति(कार्यात्मक पक्ष) ।
त्यस्तै समाजशास्त्री ओडमले भनेका छन्, ‘समाजशास्त्र त्यो विज्ञान हो जसले समाजको अध्ययन् गर्दछ । टामस हब्स भन्छन्, ‘मानव जातीले आफ्ना विरुद्धका क्रियाहरुबाट बच्न जुन साधन बनाउछ त्यो नै समाज हो ।’ यसरी उनले समाजशास्त्रलाई मानव जातिले आफ्नो अस्तित्वको लागि गर्ने क्रियाशीलतालाई लिएका छन् । एडम स्थिमले मानव जातिको मितव्ययीताको कृतिम उपायलाई नै समाज भनेका छन् । समाजशास्त्री मेकीवर एण्ड पेज भन्छन्, ‘समाजशास्त्र समूहहरूको अध्ययन् हो, यी सम्बन्धहरुको जालोलाई समाज भनिन्छ ।’ हबर्ट स्पेन्सर भन्छन्, ‘समाजशास्त्र समाजको विभिन्न इकाइहरुबीचको अन्तरसम्बन्ध हो ।’ मेक्स बेबर भन्छन्, ‘समाजशास्त्र त्यस्तो विज्ञान हो जसले सामाजिक क्रियाको अर्थपूर्ण बोध गराउने प्रयत्न गर्दछ ।’ इमाइल दुर्खिम भन्छन्, ‘समाजशास्त्र व्यवस्थित विवरण र व्याख्या हो जसले समाजलाई सम्पूर्णता दिएको हुन्छ ।’
कार्ल माक्र्सले समाजलाई आधारसंरचना (infrastructure) र उपरीसंरचना (super strcture) का आधारमा व्याख्या गरेका छन् । आधार संरचना भनेको आर्थिक प्रणाली हो भने उपरीसंरचना भनेको धर्म, संस्कृति, राजनीति, सामाजिक मूल्य मान्यता आदि पर्दछ । समाजको स्वरूपको निर्धारण आर्थिक पक्षले गर्ने कार्ल माक्र्सको धारणा छ । उत्पादन प्रणालीमा भएको परिवर्तनले सामाजिक संरचनामा पनि परिवर्तन हुने उनको मत छ । उनको तर्क थियो, उत्पादनको साधनमाथिको असमान वितरणले समाजमा द्धन्द निम्तयाउछ । यस प्रकारको असमानताले नै सामाजिक तथा राजनैतिक विभेदको स्थिति सिर्जना हुन्छ । यसकारणले नै स्वास्थ्य, शिक्षा, र रोेजगारमा सबैमा पहुँच पुग्न सक्दैन । लैङ्गिक हिंसाको कारण पनि यही हो । यसप्रकारको असमानताले नै एउटा वर्ग शक्तिशाली हुन्छ भने अर्को वर्ग कमजोर । यस प्रकारको असमानताको कारण नै समाजमा विपरीत वर्गको जन्म हुन्छ र त्यसले वर्गसंघर्षको स्थिति सिर्जना हुन्छ । यो निरन्तर रूपमा चलिरहेको हुन्छ । यस प्रकारको वर्गसंघर्ष नै समाज परिवर्तनको महत्वपूर्ण आधार हो ।
यसरी यी विभिन्न समाजशास्त्रीहरूको भनाइहरुबाट पनि प्रष्ट हुन्छ, समाजशास्त्रले विशेष गरेर सामाजिक सम्बन्ध, उनीहरु बीचको व्यवहार, त्यसआधारमा तयार हुने समाजको गतीशील स्वरूपलाई प्रष्टयाउँछ । सबै समाजशास्त्रहरुको भनाईहरुबाट पनि प्रष्ट हुन्छ, सामाजिक अन्तरक्रिया नै समाजशास्त्रको केन्द्रीय अवधारणा हो । यसबाट नै समाजको स्वरूप तथा प्रवृत्ति बुझ्नलाई सहयोग प्राप्त हुन्छ । सामाजिक अन्तरक्रियाका आधारमा नै समाजमा अन्तरमिलन, एकता, द्धन्द, प्रतिस्पर्धा, सहकार्य जस्ता विषयहरुले प्रवेश पाएको हुन्छ । यी विषयहरुले नै मानव जातिको नयाँ नयाँ प्रकारका चेतनाहरूको विकास हुँदै गैरहेको हुन्छ । जसका कारण समाज, एउटा नयाँ–नयाँ रुपमा परिमार्जित हुँदै गैरहेको हुन्छ ।
नेपालमा समाजशास्त्रको आधार प्रारम्भिक धर्मग्रन्थहरु नै हुन् । वेद, पुराण, उपनिषद, गीता आदिको अध्ययन्बाट नै यसको प्रारभ्मिक अवस्थाको बारेमा जानकार हुन सक्छौं । सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदको प्रारम्भमा नै भनिएको छ, पृथ्वी र सूर्यको समागमबाट सृष्टिको उत्पति हो । पृथ्वी, जल, वायु, अग्नि आदिबाट सृष्टिको प्रारम्भ भएको हो । यो ग्रन्थको १२९ औं मन्त्रमा भनिएको छ, ‘यो संसार विवेकशुन्य पानीले भरिएको छ र पानीबाट नै अरु कुराको उत्पन्न भएको हो ।’ सोही मन्त्रमा अगाडि भनिएको छ, ‘सासविहीन सास जस्तै यो संसार आफैद्धारा संचालित हुन्छ ।’ यी तथ्यहरूबाट पनि के अनुमान गर्न सकिन्छ भने प्रारम्भिक समाज प्रकृतिवादी थियो ।
विभिन्न प्राकृतिक रहस्यहरु जस्तै पानी पर्नु, हुरीबतास आउनु, भूकम्प आउनु, जीवको उत्पति लगायतका विषयहरुको कारण थाहा नपाउदा प्रकृतिलाई शक्ति मानेर त्यसैको पूजा गर्ने र त्यही आधारमा सामाजिक संरचना तयार भएको अनुमान गर्न सकिन्छ । प्रकृतिलाई नै सर्वशक्तिमान भएको मान्दै तथा त्यसै आधारमा नियम र कानुन बनाएर सामाजिक संरचना चल्दै आएको अनुमान गर्न सकिन्छ । तर ऋग्वेदको अन्तिम कालखण्डमा कुनै अलौकिक शक्तिलाई आधार मान्न थालियो । कर्मकाण्ड, रहस्यहरुको विकास हुन थाल्यो । यसरी इश्वरीय शक्तिको आधारमा सामाजिक संरचना तयार हुन गयो । प्रारम्भिक दिनहरुमा प्रकृतिलाई खुशी पार्न होम गरिन्थ्यो भने पछिका दिनहरुमा पूरोहितहरु मार्फत कर्मकाण्डहरूमा आधारित होम गर्न थालीयो । आर्थिक रूपमा नीजि सम्पतिको विकासका संगै समाजमा यस प्रकारको आध्यात्मिक अवधारणाको विकास भएको पाइन्छ । यो अवधिमा नै समाजमा छुवाछुत प्रथाको विकास भएको पाइन्छ । प्रारम्भिक दिनहरूमा कर्मका आधारमा वर्णाश्रम धर्मको निर्धारण हुन्थ्यो भने पछिका दिनहरूमा वंशका आधारमा निर्धारित गर्न थाल्यो ।
मनुको मनुस्मृति, कौटिल्यको अर्थशास्त्र, बृहस्पतिको लोकायत दर्शन, कपिल ऋषिको सांख्य दर्शन, सिद्धार्थ गौतमको बुद्ध दर्शनको अध्ययन गर्ने हो भने पनि नेपाली समाजको प्राचीन स्वरूपका बारेमा जानकार हुन सक्छौ । लोकायत दर्शनले भौतिक जगत माथि नै विश्वास गर्दथ्यो । यसले स्वर्ग, नर्क, कर्मकाण्ड जस्ता चीजहरुलाई अस्वीकार गर्दथ्यो । गौतम बुद्धले प्रतीत्यसमुत्पादलाई आधार मान्दै समाजलाई एउटा नयाँ सोंच दिए । जहाँ प्रतीत्यसमुत्पादको अर्थ हो कुनै चीजमा निर्भर भएर नयाँ चीजको उत्पति हुनु । कारणबाट कार्यको उत्पति हुनु । यसरी समस्त जगत कार्य–कारणको श्रृंखलामा बाँधिएको र हरेक चीज परिवर्तनशील रहेको गौतम बुद्धको तर्क थियो ।
त्यस्तै प्राचीन नेपालको सांख्य दर्शनमा कपिल ऋषिले जगतको उत्पतिका सम्बन्धमा कुनै बाह्य शक्तिको आवश्यकता नपर्ने बताए । उनको तर्क थियो जसरी आमाको स्तनबाट स्वतः दुःध प्रवाहित हुन्छ, जसरी जल स्वतः प्रवाहित हुन्छ त्यसरी नै गति तथा कारणताको रहस्य स्वयं प्रकृतिमा अन्तरनिहित हुने उनको धारणा थिायो । यसप्रकारको व्याख्याका लागि उनले प्रकृति, बुद्धि, मनस्, अहंकार, पुरुष लगायत २५ वटा तत्वहरुको व्याख्या गरेको पाइन्छ । यस प्रकारको मान्यताले पनि समाजलाई एउटा नयाँ दिशा दिएको प्रष्ट हुन्छ ।
नेपालमा राजनीतिक रूपमा थालिएको परिवर्तनले पनि नेपालको सामाजिक संरचनामा व्यापक परिवर्तन हुँदै आयो । प्राचीन काल अन्तरगत गोपालवंशीहरूको काल, महिषपाल काल, किराँत काल, लिच्छवी काल हँुदै अगाडि बढ्दै आयो । यस दौरानमा राजा जनक, गौतम बुद्ध, यलम्बर, मानदेव, अंशु बर्मा, जस्ता विभिन्न राजाहरु देखा परे । नेपलाको इतिहास वि.सं.५१२ बाट राजा मानदेवबाट सुरुवात भएको मानिन्छ । (यद्यपि दैलेखका दुल्लुबाट पनि नेपालको इतिहास शुरु भएको तर्क गरिन्छ ।) यिनीहरुको मान्यता र सिद्धान्तहरुको आधारमा पनि नेपाली समाज समाज धेरै हदसम्म प्रभावित भयो । उजीरसिंह थापाको वीरताको इतिहासलाई पनि उल्लेख गर्नुपर्ने हुन्छ जसले बुटवलको किल्लाबाट अंग्रेज सेनालाई धपाएर लखनऊसम्म पुराएका थिए । राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपश्चात आधुनिक नेपालको शुरुवात भयो । तर पनि १०४ बर्षे राणा शासनकालमा नेपाली समाज शोषण, दमन, जातीय तथा धार्मिक भेदभावको स्थितिबाट अगाडि बढ्नु पर्यो । यस कालमा सती प्रथा, दास प्रथा उन्मुलन भए पनि नेपाली समाजले विभिन्न असमान व्यवहारको स्थितिहरूको सामना गरिरहनु पर्यो ।
अन्तराष्ट्रिय रूपमा ब्रिटेनमा भएको औद्योगिक क्रान्ति, बृटिश उपनिवेशको बिस्तार, फ्रान्सका राज्य क्रान्ति, चीन, रुस, वियतनाम लगायतका देशहरुमा भएको समाजवादी क्रान्ति तथा दोश्रो विश्व युद्धपछि एशियामा आएको जनजागरणको लहरबाट नेपाली समाज बच्न सकेन । राणा शासनको विरुद्ध नेपाली जनताले स्कुल, पुस्तकालय खोल्ने, धार्मिक भेदभावका विरुद्ध आवाज उठाउने जस्ता गतिविधिहरुले नेपाल समाज परिवर्तनको दिशामा अगाडि बढ्दै गएको प्रष्ट छ ।
२००७ को परिवर्तनपछि जातीय विभेदको कठोर अवस्था खुकुलो बन्दै गयो । नारी स्वतन्त्रता र शिक्षाको बिस्तार तीव्र रूपमा अगाडि बढ्यो । २०२० सालमा नयाँ मुलुकी ऐन कायम भएसंगै बालविवाह, बहुविवाह, अनमेल विवाहलाई कानुनी रुपमै अन्त्य गरियो । ३० बर्षे निर्दलीय पंचायती कालको अन्त्यसंगै नेपाली जनताले वाक् तथा लेखन स्वतन्त्रता जस्ता मौलिक अधिकारहरू प्राप्त गर्न सफल भए । २०६२–२०६३ सालको जनआन्दोलनले राजतन्त्रलाई सदाको लागि अन्त गर्यो । र, गणतान्त्रिक नेपालको स्थापना भयो । यस प्रकारको परिवर्तनले नेपाली समाजले एउटा नयाँ अध्यायको रूपमा आफूलाई स्थापित गर्न सक्षम भएको जगजाहेर नै छ ।
अहिलेको २१ औं शताब्दीमा विश्व एउटा गाऊँको रूपमा परिणत हुँदै गैरहेको छ । विज्ञान र टेक्नोलोजीको विकास, उत्पादनमा पद्धतिको आधुनिकता, सूचना, संचार, शिक्षाजस्ता विषयहरूको बिस्तारले पनि यस प्रकारको स्थिति सिर्जना भएको हो । भूमण्डलीयकरण(globlization) को स्थितिबाट अगाडि बढीरहेका कारण पनि सामाजिकरण(socialization) को विषय जटिल बन्दै गइरहेको प्रष्ट नै छ ।
२१ औं शताब्दीको सुरूवात संगै उत्पादनको आधुनिकताले मानिसको नैतिक तार्किकता त्यही रूपमा परिवर्तीत हुँदै गइरहेको छ । समाज तथा सिंगो विश्वलाई हेर्ने नैतिक दृष्टिकोणमा फरकपन आउदै गैरहेको छ । क्रमशः पूँजीवादी संरचनाको निर्माणले सामाजिक मूल्य, मान्यता तथा ज्ञानको स्वरूपमा व्यक्तिवादीता हावि हुँदै गैरहेको छ । हरेक चीजलाई व्यक्तिको स्वार्थ, उसको महात्वाकांक्षा तथा नाफामा केन्द्रित भएर विश्लेषण गर्ने पद्धतिको विकास हुँदै गैरहेको छ । यसप्रकारको परिस्थितिमा परिवार, समाज लगायत योसित जोडिएका हरेक चीजहरुको त्यही रूपमा विकास भैरहेको छ । पश्चिमी कला र संस्कृति तथा उच्छृंखल र छाडा संस्कृति हावी हुँदै गइरहेको अवस्था पनि छ ।
समाजमा देखा परेका यस प्रकारका चुनौतीहरूका बावजुद एउटा सभ्य र उत्कृष्ट समाजको दिशामा अग्रसर हुनु पर्ने नै हुन्छ । असत्य र सत्यबीचको द्धन्दमा जित सदैव सत्यको हुँदै आइरहेको इतिहासका तथ्यहरूबाट पनि पुष्टि हुन्छ । यी तथ्यहरुको आधारमा पनि के तर्क गर्न सकिन्छ भने सुन्दर समाजको भविष्य उज्वल छ । र, त्यो दिशामा सामाजिक अभियन्ताहरु राजनैतिक, आर्थिक, शैक्षिक पक्षहरुसित एकाकार हुँदै निरन्तररुपमा क्रियाशील भैरहनुपर्दछ । अन्तमा भारतीय समाजशास्त्री स्वामी विवेकानन्दले आफ्नो पुस्तक ध्इच्प्क् को पाँचौ खण्डमा भनेको यो धारणा, ‘ती सामाजिक नियमहरु जो स्वतन्त्रताको विकासमा अवरोध बनिरहेका हुन्छन्, ती हानिकारक हुन्छन् । ती नियमहरूलाई छिटो भन्दा छिटो अन्त गर्नका लागि अग्रसर हुनुपर्दछ । ती संस्थाहरूलाई नै प्रोत्साहन गर्नुपर्दछ, जसले मनुष्यहरुको दिशामा सहयोग गर्दछ ।’