आज ( बैशाख २ गते ) हिन्दमहासागरको छेउमा अवस्थित रामेश्वरम् टापूमा उभिएर हिजो प्रम ओलीले हिमालको काखमा रहेको अति मनमोहक रारातालबाट दिनुभएको लालित्यमय भाषण पढ्दा लागेका अनुभूति कोर्दैछु!
साहित्यका अनुरागी,भावुकतामा पग्लने, स्वैरकल्पनामा रमाउनेहरूकालागि प्रमको संवोधन वेजोड छ! चुनावीसभाबाट यो भाषण गरिएकोभए यसले श्रोताहरूको ताली र मनग्गे भोट तान्ने सामर्थ्य पनि राख्छ!
तर यो साहित्यिक प्रतियोगितामा प्रस्तुत निबन्ध वा चुनावीसभाको भाषण नभएर संसदमा तीन चौथाइ मत प्राप्त सरकार प्रमुखले नयाँ बर्षको उपलक्ष्य पारेर नेपाली इतिहासलाई नै नयाँ दिशामा मोड्ने महत्वाकांक्षासाथ प्रस्तुत गरेको नीतिगत घोषणाहो। परन्तु गहिरो दु:ख र चिन्तासाथ भन्नुपर्छ – भाषणको पूरा पाठ सुनिसक्दा ‘पहाड खन्यो, मुसा मात्र फेला पर्यो’ भने जस्तो अनुभूति मात्रै हुन्छ!
हाम्रा प्रमले साँच्चै देशलाई एकैचोटि चौथो औद्योगिक क्रान्तिको स्तरमा पुर्याउन खोजेको भए यसरी १८ पेजको अमूर्त साहित्यिक निबन्ध हैन बरू २ पेजको बुलेट प्वाइन्टमा ठोस नीतिगत घोषणा गरेको भए हुन्थ्यो! पाँच बर्षको ठोस लक्ष्य निर्धारण गरेर ‘केके गर्ने’ मात्र हैन ‘कसरी गर्ने’ भन्ने कुरा संगसंगै घोषणा गर्नसक्नु पर्थ्यो।साथै दर्जनौं कुरा एकैचोटि छासमीस पारेर बोल्नुसट्टा सबभन्दा मुख्य पाँचवटा कुराको प्राथमिकता निर्धारण गरेर तिनमा मात्रै फोकस गर्नुपर्थ्यो!
उदाहरणको निम्ति, प्राक्-औद्योगिक क्रान्तिको स्तरमा रहेको नेपाललाई एकैचोटि चौथो औद्योगिक क्रान्तिको स्तरमा पुर्याउन अहिलेको प्रतिव्यक्ति आम्दानी ( करिब आठ सय डलर ) लाई आउँदो २०/२२बर्ष भित्र कसरी २०/२२ हजार डलर पुर्याउन सकिन्छ त्यसको ठोय मार्गचित्र प्रस्तुत गर्नुपर्थ्यो! अर्थात दुइ दशकसम्म निरन्तर दुइ अंकको बृद्धिदर हासिल गर्न कुनकुन क्षेत्रमा कति लगानी गर्नुपर्छ, त्यसको श्रोत केके हुनसक्छ, त्यसकाकालि केके नीतिगत र कानूनी सुधार गर्नुपर्छ आदिबारे स्पष्ट खाका आउनुपर्थ्यो! खोइ?
त्यस्तै, देशको अर्थतन्त्रको मेरूदण्ड रहेको कृषिक्षेत्रमा आश्रित जनशक्तिलाई ५ बर्षभित्र कुन जादूको छडी प्रयोग गरेर २०% मा झार्ने हो? खोइ ठोस र साहसिक नीतिगत क्रमभंग? विद्यमान भूस्वामित्वको प्रकृतिमा आमूल परिवर्तन नगरी त्यो सम्भवै छैन! सक्नुहुन्छ- एउटै झट्कामा भूमिको स्वामित्व राज्य वा समुदायमा सार्न , व्यक्तिलाई निश्चित समय र प्रयोजननिम्ति भोगाधिकार मात्र दिन? तीनचौथाइ बहुमत प्राप्त सरकारले चाहे किन सक्दैन? नत्र तपाइँ प्रम का कुरा ‘सम्धीका गफ! मात्र हुनेछन्!
शिक्षाकै कुरा लिऊँ! सार्वजनिक शिक्षामा आमूल परिवर्तन नगरी र शिक्षाक्षेत्रमा व्याप्त व्यापारीकरण र सिण्डिकेटको अन्त्य नगरी प्रमले घोषणा गरेको प्राविधिक र सामान्य शिक्षाको अनुपात सत्तरी र तीस कसरी हुनसक्छ? सक्नुहुन्छ मुख्यत: एमालेकै नेता/कर्यकर्ताको चंगूलबाट शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुक्त गर्न?
अनि भारत र चीन वीच भित्रभित्रै पाक्दै गैरहेको प्रतिस्पर्धालाई कसरी व्यवस्थापन गरेर बाहिरी लगानी ठुलो पैमानामा भित्र्याउनुहुन्छ र तपाईंका रेल, पानीजहाज लगायतका सपना पूरा गर्नुहुन्छ?
त्यस्तै संविधान संशोधन नगरी मधेसी/थारू/जनजाति लगायतका माग कसरी सम्बोधन गर्नुहुन्छ र देशमा दिगो शान्ति कायम नगरी समृद्धिका सपना कसरी पूरा गर्नुहुन्छ?
सारमा, रारा सम्बोधनले ओली सरकारबाट आगामी ५ बर्ष नेपाली जनताले कुनै नयाँ कुरा पाउनेछैनन् भन्ने मात्र झल्कायो है!
(बाबुराम भट्टराईको फेसबुक वालबाट)