कर्णाली प्रदेशका कार्य सञ्चालनमा समस्या देखियो

0
263

वीरेन्द्रनगर । कर्णाली प्रदेशका मन्त्रालयको दैनिक कार्य सञ्चालन गर्न समस्या भएको छ । सङ्घीय सरकारको मातहतमा रहेका क्षेत्रीय निर्देशनालय तथा कर्मचारीको व्यवस्थापन हुन नसक्दा मन्त्रालयको दैनिक कार्य सञ्चालनमा समस्या देखिएको हो ।

कर्णाली प्रदेशका मन्त्रालय क्षेत्रीय निर्देशनालय रहेका भवनमा स्थापना गर्नु पर्ने अवस्था र क्षेत्रीय निर्देशनालयले पनि आफ्नो दैनिक कार्य सञ्चालन गर्नु पर्ने अवस्थाका कारण नयाँ संरचनाका मन्त्रालयले दैनिक कार्य सञ्चालनका लागि कठिनाइ भएको छ ।

पहिलो चरणमा मन्त्रालयका मन्त्री र सचिवको कार्यकक्ष सञ्चालन गर्न क्षेत्रीय कार्यालयका दुई कोठामा स्थापना गरिएको छ । नयाँ संरचनामा जान लागेका कारण केही समस्या आए पनि विस्तारै पूर्वाधार तयार भई रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव यज्ञराज बोहोराले बताए । सचिव बोहोराले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा मन्त्रालय तथा कर्मचारीको व्यवस्थापन छिटो भई रहेको समेत जानकारी दिए ।

क्षेत्रीय निर्देशनालयमा मन्त्रालय स्थापना गरी मन्त्री र सचिवको कार्यकक्ष स्थापना गरी दैनिक कामकाज सुरु गरिएको सचिव बोहोराको भनाइ छ । क्षेत्रीय निर्देशनालय व्यवस्थापन गर्दै मन्त्रालयलाई व्यवस्थित गर्दै लैजाने उहाँले बताउनु भयो । सङ्घीय सरकारले प्रदेशका मन्त्रालयमा खटाइएका कर्मचारी पनि आउने क्रम चली रहेको सचिव बोहोराले बताए । उनले हालसम्म प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र मन्त्रालयका गरी झण्डै ६० प्रतिशत कर्मचारी हाजिर भई सकेको समेत जानकारी दिए । क्षेत्रीय निर्देशनालय र मन्त्रालय एकै भवनबाट सञ्चालन गर्दा केही असहजता भए पनि त्यसलाई सहज बनाइदै अगाडि बढ्ने उनको भनाइ छ ।

सङ्घीय सरकारले प्रादेशिक सरकारको संरचनाको व्यवस्थापनमा चासो नदिएका कारण मन्त्रालय स्थापनामा जटिलता आएको छ । खटाइएका कर्मचारी प्रदेशका मन्त्रालयमा आई नपुग्नु र पूर्वाधार निर्माणका लागि क्षेत्राधिकार नतोकिनु नै व्यवस्थापन पक्षमा समस्याको रूपमा देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here