अमेरिकी साम्राज्यवाद यति क्रुर ! संसारलाई रुवाएका फोटोहरु
काठमाडौं । पश्चिम एसियाली देश सिरिया वर्षौंदेखि गृहयुद्धको चपेटामा छ । गृहयुद्धकै क्रममा पछिल्लो एक हप्तामा करिब पाँच सय जनाको मृत्यु भएको, हजारभन्दा बढी घाइते भएको, त्यसमध्ये सयभन्दा बढी सङ्ख्या बालबालिकाहरुको भएको र युद्धग्रस्त क्षेत्रमा करिब चार लाख मानिसहरु प्रभावित भएको सञ्चार माध्यमहरुले जनाएका छन् । यही फेबु्रअरी २४, २०१८ का दिन १५ सदस्यीय संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदबाट सिरियामा युद्धविराम सम्बन्धी प्रस्ताव पारित भएको छ । त्यससँगै गृहद्धयुद्ध स्थगित गरेर त्यहाँ ३० दिनसम्म राहत तथा उद्धार कार्य अगाडि बढाइने बताइएको थियो । तर युद्धविराम प्रस्ताव पारित भए पनि गृहयुद्ध भने अझैसम्म रोकिएको छैन । त्यसले गर्दा सिरियाको स्थिति गम्भीर बनेको छ ।
आम रूपमा थाहा भएको विषय हो– सिरियामा सन् २०११ देखि हालसम्म चली आएको गृहयुद्ध साम्राज्यवादी देशहरुको हस्तक्षेपको प्रतिफल हो । सिरियामा तत्कालीन राष्ट्रपतिलाई हटाउन चलेको आन्दोलनमा अमेरिकाले सहयोग, समर्थन गरेपछि त्यहाँको सङ्कट थप गहिरिएको थियो । सरकार विरोधी प्रदर्शनलाई गरिएको उक्त अमेरिकी सहयोग सिरियामा अहिलेसम्म पनि विभिन्न रूपमा कायमै छ । यतिखेर अमेरिकाले विभिन्न विद्रोही इस्लामिक सङ्गठनहरुलाई आर्थिक र भौतिक सहयोग गरी रहेको छ । यद्यपि अमेरिकाले यो तथ्यलाई खुल्ला रुपमा स्वीकारेको छैन । विद्रोहीहरुलाई सहयोग गरी द्वन्द्व चर्काएर सिरियामा स्थायी सैन्य क्याम्प कायम गर्ने उसको नियत रहेको बुझ्नमा कठिनाइँ छैन । त्यसका लागि सिरिया सरकारलाई कमजोर पार्नु अमेरिकी रणनीति हो । यसका लागि अमेरिकाले विद्रोही सङ्गठनलाई उपयोग गर्ने नीति अपनाउँदै आएको छ । त्यस क्रममा सुरक्षा परिषदमा खालि सरकारलाई मात्र लागु हुने तथा कुनै खास इलाका नतोकिकन प्रभावित हुने युद्धविराम प्रस्ताव गरिएको थियो । तर रुस लगायतका देशहरुको विरोधका कारण त्यही रूपमा उक्त प्रस्ताव पारित हुन सकेको थिएन । त्यसका बाबजुद प्रस्ताव पारित भएपछि पनि विद्रोहीलाई कारवाहीका लागि उक्साउनु, गृहयुद्धमा मृत्यु भएका मृतकहरुको सङ्ख्यालाई अतिरञ्जित बनाउनु, त्यस क्रममा ठुलो सङ्ख्यामा बालबालिकाहरुको विभत्स हत्या भएको समाचार, तस्बिर र भिडियोको प्रचार व्यापक बनाउनु जस्ता सुनियोजित काम अमेरिकी जासुसी संस्था सी.आई.ए. ले यतिखेर गर्दै आएको छ । अहिले सामाजिक सञ्जालभरि बालबालिकाका हत्यासित सम्बन्धित समाचार, विभत्स तस्बिर र भिडियोहरु भाइरल बनाएर सिरिया सरकारका विरुद्ध विश्व जनमतलाई उभ्याउन अमेरिकाले भरमग्दुर प्रयास गरी रहेको छ । यसबाट कथित इस्लामी आतङ्कवादको सवालमा अमेरिकी साम्राज्यवादको दोहोरो नीतिको मुकुण्डो च्यातिन पुग्छ ।
निश्चित रूपमा सिरियाका आफ्नै प्रकृतिका आन्तरिक समस्याहरु छन् । अहिलेको गृहयुद्धमा रुसको भूमिका पनि अनावश्यक छ । आफ्ना आन्तरिक समस्याहरुको समाधान सिरियाको सरकार र जनता आफै गर्न सक्षम छन् र गर्नु पनि पर्दछ । तर अमेरिका, रुस लगायतका साम्राज्यवादी देशहरुको हस्तक्षेप वा घुसपैठ तीव्र भई रहेको सन्दर्भमा सिरियाली राष्ट्रिय स्वाधीनताको रक्षा प्राथमिकतामा पर्न पुगेको छ । आफ्नो राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सिरियाली जनताका जनतन्त्र र जनजीविकाको प्रत्याभूति त्यहाँको आन्तरिक मामिला हो । त्यस कारण त्यहाँ सर्वप्रथम वैदेशिक हस्तक्षेप तत्कालै बन्द हुनु पर्ने आवश्यकता छ । इस्लामिक सङ्गठनहरुले पनि आफ्ना हिंसात्मक गतिविधि तत्कालै बन्द गर्नु पर्दछ । अमेरिकी साम्राज्यवादले विश्वको अन्य देशहरुमा जस्तै सिरियामा पनि सरकारको विरुद्धमा अशान्ति फैलाउन बन्द गर्नु पर्दछ । विदेशी हस्तक्षेप वा घुसपैठलाई बन्द गरेपछि मात्र सिरियाको आन्तरिक जीवनमा लोकतान्त्रिक प्रणाली बहाल गर्न सम्भव हुने छ । त्यसपछि मात्र सिरियाली जनताले आफ्ना सबै खाले समस्या समाधानको दिशामा व्यापक छलफल चलाउन सक्नेछन् । आफ्नो आन्तरिक समस्या आफै समाधान गर्नु सिरियाली जनताको अधिकार पनि हो । त्यसका लागि अमेरिकी साम्राज्यवाद र अन्य मुलुकहरुको हस्तक्षेप वा घुसपैठ बन्द हुनु पर्दछ । वर्तमान सिरियाको गृहयुद्ध बन्द गर्ने सही तरिका यही हुन सक्दछ ।
यस्ता छन् संसारलाई नै रुवाएका फोटोहरु