पोर्चुगलमा नेपालीबाटै नेपालीहरु ठगिएका छन् ।

0
18


पोर्चुगलमा नेपालीहरू नेपालीबाटै ठगिइरहेका छन्: राजदूत पौडेल
पोर्चुगलको आकर्षण भनेकै यहाँको खुकुलो अध्यागमन नियम हो। सहजै बसोबास अनुमति पाइने र यहाँको पासपोर्टसमेत पाउन सकिने रहेछ। यसले पनि धेरै नेपाली पोर्चुगल आउने रहेछन्।’

पोर्चुगलमा नेपालीहरू नेपालीबाटै ठगिइरहेका छन् राजदूत पौडेल
‘नेपालले राजदूतावास नै नखोली राजदूत नियुक्त गरिदिएको मुलुक’ भनेर चिनिएको दक्षिण युरोपेली मुलुक पोर्चुगलको लिस्बनमा एक महिनाअघि मात्रै दूतावास सञ्चालनमा आएको छ। २०८० माघमा शनिल नेपाल पोर्चुगलका लागि राजदूत नियुक्त भएका थिए। परिवर्तित सत्ता–समीकरणमा शनिल स्पेनमा राजदूत बनेर गएका छन् भने पोर्चुगलमा कूटनीतिक सेवाका सहसचिव प्रकाशमणि पौडेल नियोग प्रमुख बनेका छन्। पौडेल २०८१ मंसिरमा राजदूत नियुक्त भए पनि पोर्चुगलको नयाँ दूतावास सञ्चालन तयारी र प्रक्रियागत व्यवस्थापनका कारण एक महिना अघि मात्रै यो नियोग कार्यकारी तहमा खुलेको छ।

आवश्यक कागजी प्रक्रिया तथा कूटनीतिक सेवा–सुविधा पाउन लिस्बनस्थित नेपाली दूतावासमा मध्यरातदेखि नै सेवाग्राहीको भिडलाग्ने गरेको छ। यसले गर्दा कार्यालय परिसरका छिमेकीले आपत्ति जनाएको भन्दै राजदूत पौडेलले ‘यस्तै असहज स्थिति रहेमा दूतावास बन्द गर्न सकिने’ सूचना नै जारी गर्नुपरेको छ। जम्मा तीन जना कूटनीतिक कर्मचारी (राजदूतसहित) राखेर सञ्चालनमा आएको दूतावासमा देखिएको असहज परिस्थिति र बेहोर्नुपरेका समस्याबारे राजदूत पौडेलसँग गरिएको कुराकानी:

पोर्चुगलमा कति संख्यामा नेपालीहरू रहेका छन्? यो गन्तव्यमा नेपाली श्रमिकको बढी आकर्षण केमा देखिएको छ?

यति नै भन्न मुस्किल छ। पोर्चुगिज सरकारको औपचारिक तथ्यांकमा ३० हजार जति देखिन्छन् तर, कम्तीमा ६० हजार वा त्योभन्दा बढी नेपाली रहेको अनुमान छ। मुख्य गरेर सेवाप्रदायक (हस्पिटलसहित) स्थान र कृषिक्षेत्रमा धेरै नेपाली रहेका छन्। रेस्टुराँमा काम गर्ने पनि त्यत्तिकै भेटिन्छन्। धेरै त नेपाली व्यवसायीले सञ्चालन गरेकै रेस्टुराँ/होटल पनि छन्।

राजदूतावास नै नखोली राजदूत नियुक्त गरिदिएको मुलुक भनेर चर्चामा रहेको नियोगको कार्यसम्पादन शुरूमै विवादित बनेको छ नि?

होइन, यो भनाइमा कुनै तुक छैन। सबैकुरा निश्चित प्रक्रियाबाटै हुने हो, पुरा हुने हो। नयाँ दूतावास स्थापनाका क्रममा पनि हामीले समय तालिका बनाएरै काम गरेका छौँ। तर, नयाँ ठाउँमा हामीले भने जसरी सबै काम सहज नहुने रहेछ। उदाहरणका लागि, उपयुक्त किसिमको चान्सरी भवन खोज्न नै केही समय लाग्यो। तै पनि सेवाग्राहीलाई तत्काल सेवा–सुविधा दिन अस्थायी कार्यालय खोलेरै भए कूटनीतिक तथा कन्सुलर काम शुरू गरेका थियौँ। कूटनीतिक नियोगलाई ‘पोलिटिकल्ली एक्सपोज्ड इन्टिटी’ सरह मानेर बैंक अकाउन्ट खोल्न पनि लामो समय लाग्ने रहेछ, हाल यो काम पनि सम्पन्न भएको छ। सेवा प्रवाहमा थप सुधारका काम जारी छन्।

पुलिस रिपोर्टमा अनिवार्य ‘भेरिफिकेसन स्टाम्प’ लगाउनुपर्ने पोर्चुगल सरकारको नियमका कारण दूतावासमा भिडदेखिएको भनिएको छ। यो असहज अवस्था हो?

होइन, यो दूतावास खुलेको शुरूआती अवस्था भएर हुन सक्छ। अर्को कुरा, पुलिस रिपोर्टमा हामीले ‘भेरिफिकेसन’ (प्रक्रियागत चेकजाँच) गरी प्रमाणीकरण गर्ने हो, त्यसपछि मात्रै ‘एटेस्टेसन स्टाम्प’ हालिदिने हो। यसैका लागि भिडबढेको देखिन्छ। यत्ति हो कि, पोर्चुगल सरकारको नियमानुसार नचाहिँदो भिडगर्न र होहल्ला गर्न नपाइने अवस्थामा हाम्रै कारणले हामीलाई अप्ठ्यारो पर्ने हो कि भन्ने मात्रै हो।

दूतावासले केही गर्न सकेको छैन भन्दै नराम्रो टीकाटिप्पणी आइरहेको छ, यो त्यत्तिकै आएको हो र? कहीँकतै पुलिस रिपोर्ट एटेस्टेसनमा समेत अतिरिक्त पैसा लिने गरिएको आरोप आएको छ नि?

यो बिलकुल गलत कुरा हो। आजका मितिसम्म अबेर रातीसम्म बसेर भए पनि पाँच हजारभन्दा बढी सेवाग्राहीको काम गरेका छौँ। दूतावास खुलेपछि हामीलाई धेरै सहज भयो भनी धेरैले भन्ने गरेका छन्। नकारात्मक टिप्पणीको हकमा दूतावासको तत्कालको अवस्थालाई लिएर भन्दा पनि यहाँको विगतदेखिकै समग्र अवस्थालाई जोडेर चर्चा–परिचर्चा भएको हुन सक्छ। दूतावास औपचारिक रूपमा सञ्चालनमा आएकै एक महिना मात्रै हुँदै छ। यसअघि पेरिसस्थित नेपाली दूतावास र पोर्चुगलमा रहेको अवैतनिक नेपाली महा वाणिज्यदूतावासमार्फत नेपाली सेवाग्राहीको सरोकार सम्बोधन हुँदै आएको थियो। यो सबै छरिएको अवस्था र प्रक्रियालाई एकत्रित गर्दै एकमुस्ट सेवा प्रवाह गर्ने अवस्थामा हामी पुगेका छौँ।

हामीले पुलिस रिपोर्ट ऐटेस्टेसनमा नियमानुसार लाग्ने दस्तुर मात्रै लिएका छौँ। कहीँकतै अनधिकृत व्यक्तिहरूले दूतावासको नाम दुरुपयोग गरेर बदमासी गरेको भए यो अनुसन्धानको विषय बन्न सक्नेछ। यद्यपि सेवाग्राहीलाई स्वयं उपस्थित भएर सेवा लिन आग्रह गरिएकाले त्यस्तो बदमासी हुने प्रत्यक्ष सम्भावना देखिन्न।

पोर्चुगलमा नेपालीको संख्या यसरी किन बढेको हो, कामको अवसर अथवा युरोप छिर्ने ट्रान्जिटको खोजी?

खासमा यहाँको अवस्था निकै जटिल छ। खासगरी यहाँ आउने क्रममा नेपालीहरूबाटै नेपाली ठगिएका थुप्रै घटना पाइएका छन्। पोर्चुगलको आकर्षण भनेकै यहाँको खुकुलो अध्यागमन नियम हो जसले गर्दा सहजै बसोबास अनुमति र अन्ततोगत्वा पोर्चुगलको पासपोर्ट पाउन सकिने अवस्था रहेछ। यसकारण पनि धेरै नेपाली खासगरी पूर्वीयुरोप र मध्ययुरोपबाट पोर्चुगल आउने रहेछन्। हाल भने यस्तो निर्बाध आवागमन रोक्न केही कडाइ गरिएको खबर आएको छ। अर्कातिर, पोर्चुगलमा स्थायी बसोबास अनुमति वा यहीँको नागरिकता लिएकामध्ये केही राम्रो अवसरको खोजीमा अन्य मुलुक गएको पाइएको छ भने केही यहीँ व्यवसायमा सफल बनेका देखिन्छन्। यसकारण पोर्चुगललाई ट्रान्जिट मुलुक भनिहाल्न मिल्दैन होला।

पोर्चुगलभित्रै पनि बेरोजगारी, कुलत तथा पारिवारिक विखण्डन निकै रहेछ जसका कारण मानसिक समस्या र डिप्रेसनमा पर्नेको संख्या बढ्दो रहेछ। फेरि सामाजिक सञ्जालको अति उपयोग (दुरुपयोग)का कारण पनि यहाँका कुरा बढी फैलिएको हुन सक्छ। यस्ता हरेक कुरामा दूतावासलाई जोड्नु आवश्यक पनि छैन। यद्यपि अभिभावकीय भूमिकामा बसेको दूतावासले आफूले सकेसम्म सेवा प्रवाह जारी राख्नेछ।

पोर्चुगलसँग नेपाली कामदार, श्रमिकसँगको सम्बन्ध बाहेक अरू द्विदेशीय व्यापार अथवा भिन्न आयामका सम्बन्ध केही नभएकै हुन्?

त्यसो होइन, अहिले हामी शुरूआती फेजमा छौँ। पोर्चुगलसँग नेपालको व्यापार सम्बन्ध हाल नगण्य मात्रै छ। यहाँ ठूलो नेपाली डायस्पोरा रहेकाले केही नेपाली घरेलु उत्पादनको उपस्थिति रहे पनि यसमा वृद्धिको सम्भावना छँदै छ। साथै, पर्यटकीय तथा सांस्कृतिक सम्बन्ध बिस्तार गर्न सकिने अवसर र उपायको खोजीमा हामी निरन्तर लागेका छौँ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here