मसाल महामन्त्री सिंहको कांग्रेस मोह

0
24

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको कांग्रेस मोह झनै घनीभूत रुपमा प्रकट भएको छ । आठौं महाधिवेशनबाट पारित मसालको राजनैतिक दस्तावेजमा समेत मसालले नेपाली कांग्रेसलाई ‘वर्गशत्रु’ को कोटामा राखेको छ । तर त्यही वर्गशत्रुसँग सत्ता गठबन्धन र चुनावी गठबन्धन गरेर मोहन विक्रम सिंहको मसालले प्रतिनिधि सभामा बागलुबाट एक सिट जितेको छ । मंसिर चारमा सम्पन्न संसदीय चुनाव पश्चात् अहिले नयाँ सरकार गठनका बेला कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन टुटेपछि मोहन विक्रम सिंह विक्षिप्त र आक्रोशित देखिएका छन् । सिंहको त्यो विक्षिप्तता उनीद्वारा जारी प्रेस वक्तव्यमा प्रष्ट झल्किएको छ ।

नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले २०७९ पौष १० गते जारी गरेको वक्तव्यमा भनिएको छ–“पाँच दलीय गठबन्धनले लामो समयदेखि एमालेले नेतृत्व गरेको प्रतिगमनको विरुद्ध सङ्घर्ष गर्दै आएको थियो । गत निर्वाचनमा प्रतिगमन विरुद्ध पाँचदलीय चुनावी तालमेलसमेत गरेको थियो । गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य हो । त्यो कार्य जनतासित ठुलो धोका पनि हो ।

प्रधानमन्त्री बन्नका लागि उनले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय साम्राज्यवादपरस्त तत्वहरूसित पनि गठबन्धन गरेका छन् । उनको त्यो कार्यको हामीले कडा शब्दमा निन्दा र भत्र्सना गर्दछौँ ।”

यसरी उक्त वक्तव्य हेर्दा प्रष्ट हुन्छ कांग्रेसले सरकारको नेतृत्व गर्न नपाएकोमा सबै भन्दा ठूलो पीर मोहनविक्रम सिंहलाई परेको छ । एमाले र माओवादी केन्द्रको गठबन्धनलाई सिंहले “सिद्धान्तहीन, अराजनैतिक र हददर्जाको अवसरवादी कार्य” बताएका छन् । सबैलाई थाहा भएको तथ्य हो कि–माओवादी केन्द्र र एमाले दुवैले आफूलाई कम्युनिस्ट पार्टी बताउने गरेका छन् । तर सच्चा क्रान्तिकारीका दृष्टिमा यी दुवै वाम आन्दोलनका दक्षिणपन्थी अवसरवादी मार्गमा दु्रततर गतिमा दौडिरहेका राजनैतिक पार्टीहरु हुन् । यी दुवैको नीति र कार्यक्रम जति मेल खान्छ त्यति नेपाली काँग्रेससँग खाँदैन ।

२०७४ सालको संसदीय निर्वाचन पश्चात् २०७५ भदौमा पुगेर तत्कालिन नेकपा(एमाले) र माओवादी केन्द्र मिलेर नेकपा (नेकपा) को गठन गर्दा यिनै मोहन विक्रमले वक्तव्य जारी गर्दै असिम खुशी प्रकट गरेका थिए । त्यतिबेला एमाले–माकेको चुनावी गठबन्धनलाई सिंहले स्वागत गर्दै ऐतिहासिक कार्य बताएका थिए । तर अहिले तिनै दुई पार्टी मिलेर नयाँ सरकार गठन गर्दा सिंहले –“सिद्धान्तहीन, अराजनैतिक र अवसरवादी कार्य” देखेका छन् ।

आफूलाई वामपन्थी हुँ भन्ने कुनै पनि व्यक्ति या संगठनले देशमा कांग्रेस नेतृत्वमा सरकार बन्नु भन्दा एमाले या माके नेतृत्वमा सरकार बन्नुलार्ई नकारात्मक मान्न सक्दैन । तर मोहनविक्रम सिंहले नकारात्मक मान्ने मात्र होइन उनी विक्षिप्त जस्तै देखिएको उनको वक्तव्यमा  उल्लेखित  वाक्यांसहरुले प्रष्ट पार्दछन् । स्वयं मोहन विक्रमको २०७५ सालमा नेकपा (नेकपा) बनेपछि स्वागत गर्दै जारी गरिएको वक्तव्यमा उल्लेखित विश्लेषण अनुसार पनि एमाले–माके गठबन्धनबाट निर्मित प्रचण्ड नेतृत्वको वर्तमान सरकार तुलनात्मक रुपमा सकारात्मक मान्नु पर्ने हुन्छ । तर उनै मोहन विक्रमको विश्लेषण अहिले किन बदलियो ? कांग्रेस प्रतिको मोह मोहन विक्रममा किन यति धेरै बढेर गएको होला ? एमाले प्रति झनपछि झन सिंह किन आगो बनिरहेका होलान् ? सिंहलाई नजिकबाट बुझेका राजनैतिक विश्लेषकहरु यसमा आफ्नी श्रीमती चुनावमा पराजित भैसकेपछि सिंहमा आएको मानसिक विक्षिप्तता देख्छन् । “सिंहकी जीवन संगिनी दुर्गा पौडेल प्यूठान जिल्लाबाट चुनावमा पराजित भएकी थिइन ।

पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार रहेकी पौडेललाई एमालेका सूर्य थापाले ठूलो मतान्तरले हराएका थिए । त्यस यता मसालका महामन्त्री  सिंह एमालेप्रति झनै आक्रोशित देखिंदै आएका छन् । तर उनको यो आवेगात्मक विश्लेषण हो ।” ती विश्लेषकहरु भन्छन्–“आफूले सबै भन्दा बढी प्रेम गर्ने व्यक्तिकै खुशी छिनिएपछि मान्छेमा विछिप्तता आउनु स्वाभाविकै हो । साहजहाँले बेगम ममताज प्रतिको प्रेमलाई जीवित राख्न ताजमहल बनाए, खडक सम्सेरले रानीमहल बनाए, प्रताप मल्लले रानीपोखरी बनाए ।

राष्ट्रकवि माधव घिमिरेले पनि वियोगमा गौरी महाकाव्य नै लेखे । त्यसो हुँदा मोहन विक्रमले आफ्नी जीवन संगिनी चुनावमा पराजित हुँदा यत्तिको आक्रोशित भएर वक्तव्य जारी गर्नु त्यो कुनै ठूलो र नौलो कुरा होइन ।

चुनावमा आफ्नी जीवन संगिनी पराजित भएसँगै सिंहका धेरै सपनाहरु भत्किएको हुनुपर्छ । श्रीमतीलाई सांसद हुँदै मन्त्री बनाउने  उनको सपनामा बज्रपात प¥यो । ती सबै सपना साकार बनाउनकै लागि सिंहले नीति सिद्धान्तबाट च्यूत हुँदै ‘वर्गसत्रु’ कांग्रेसको यो हदसम्मको दलाली र चाकडीगरेका थिए । तर त्यही कांग्रेस त्यसमा पनि तिनै देउवा प्रधानमन्त्री बन्न नसक्ने भएपछि सिंह आक्रोशित बन्नु स्वाभाविकै हो ।यसलाई अनौठो नमान्दा हुन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here