-रामबहादुर बुढा
अर्काको सङ्कटमा आफुले फाइदा उठाउने काम विश्व राजनीति देखि राष्टिय राजनीति र स्थानीय राजनीति सम्म चल्दछ। यस्तो काम बिगत देखि आज सम्म चल्दै आएको छ । अहिले कोरोना भाइरस सङ्क्रमणले विश्व भरिकै मानिसहरु आक्रान्त छन। यस्तो बेलामा अर्काको दुखमा खुसी हुने र अप्ठ्यारो परेको मौका ढुकेर अर्कालाई ङ्याक्न खोज्ने हर्कत नगरेको राम्रो हुन्थ्यो। तर राजनीति यति निर्मम हुदो रहेछ कि शक्ति रास्ट्रहरुले यस्तै नीच व्यबहार गरेको देखियो ।
दोस्रो विश्व युद्धमा अमेरिका, बृटिश, शोभियत संघ लगायत एकातिर र जर्मन, जापान, इटली लगायत अर्कातिर थिए । दोस्रो बिश्व युद्धमा बिजय हासिल गरे पनि शोभियत संघले निकै ठूलो मूल्य चुकाउनु परेको थियो । शोभियत संघको दुई करोड जनशक्ति क्षति भएको थियो ।बृटिसको धेरै धन क्षति भएको थियो । तर अमेरिकाको खासै क्षति भएन । समुन्द्र पारी दुरीका हिसाबले धेरै टाढा भएकाले पनि ऊ युद्धको ठूलो क्षति हुनबाट जोगियो । दोस्रो विश्व युद्धले निम्ताएको सड्ढटबाट फाइदा उठाएर अमेरिका विश्वको नयाँ महाशक्ति रास्ट्र बन्यो । यसपटक गत २०१९ डिसेम्बरमा चिनको हुबेइ प्रान्तको राजधानी वुहानमा कोभिड -१९ कोरोनो भाइरस देखियो ।
वुहान केन्द्रिय अस्पतालका डाक्टर ली वेन लियाङले गत डिसेम्बर ३० का दिन समाजिक सन्जाल ग्रुप च्याट मार्फत भाइरस सङ्क्रमणको चेतावनी दिएका थिए । फेब्रुअरी ७ मा स्वयम् डाक्टर लीको मृत्यु भयो । चिन सतर्क भयो ।दिनदिनै सङ्क्रमित बिमारीहरु मरिरहेका खबरहरु आइरहेका थिए । उपचारमा जुटेका डाक्टरहरु मध्यका डाक्टरहरु मृत्युभएको, सङ्क्रमित क्षेत्र पूरै बन्द गरिएको खबरहरु आइरहेका थिए । एउटी उपचारमा रात दिन जुटिरहेकी स्वास्थ्यकर्मी आमालाई खाना पुर्याउन गएकी सानी बच्ची छोरी भाइरस सङ्क्रमणको डरले टाढै खानाको प्याकेट राखेर छाडिदिन्छिन । आफ्नै आमालाई भेट्न पाउदिनन । रुदैरुदै टाढै बाट हाबामा अङ्गालो मार्छिन, आमा खाना लिएर जान्छिन, जोखिम उच्च छ, फेरि भेट हुने हो वा हैन थाह छैन । आमा छोरी रुदै रुदै बिदा हुन्छन, यस्ता कारुणिक दृश्य सामाजिक सन्जालमा विश्वभरी प्रचारित भैरहदा तमाम मानिसहरू भावविह्वल भएका थिए ।
साम्राज्यवादीहरुमा अलिकति पनि मानवीय समवेदना हुदैन भन्ने देखियो । चिन पीडामा आकुलव्याकुल भइरहेकै बेलाअमेरिकी र युरोपियन देशका शासकहरु खुसी देखिन्थे । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प खुच्चिङ खुचिङको अभिनयमा प्रस्तुत भैरहन्थे । कुम हल्लाउदै कोरोना भाइरसलाई चाइनिज भाइरस भन्दै खिसिट्युरी गर्दै थिए । चिन र अमेरिकाको केही बर्ष देखि आर्थिक प्रतिद्वन्दिता ब्यापार युद्ध (ट्रेड वार)मा पुगेको थियो । अमेरिका चिनलाई जसरी पनि अपठ्यारोमा पारेर ओरालो पार्न चाहन्छ । प्रतिद्वन्द, प्रतिशोध, ईर्ष्याको नशामा आफुलाइ पनि प्राकृतिक बिपत्ती पर्छ भन्ने सम्मको होस नराखेर साम्राज्यवादीहरु अर्काको सङ्कटमा रमाउन सक्दा रहेछन भन्ने कुरा वर्तमान अमेरिकी शासकहरुको चालढालले प्रस्ट पार्यो । तर रोगले चिनियाँ र अमेरिकी छुट्टाउने वाला थिएन । अमेरिकामा कोरोना भाइरसको प्रबेश भइ सक्दा पनि अमेरिकीहरुले खासै ध्यान दिएनन । उनीहरुमा आफू ठूलो देशका हौँ र त्यस भाइरसलाई सजिलै सामना गर्छौ भन्ने अहम रहिरह्यो । स्वयं रास्ट्रपति ट्रम्पले सुरुमा कोरोना अमेरिका प्रबेश गरिसक्दा पनि भेटघाटलाई नियन्त्रण गर्नेतिर ध्यान दिएनन ।अमेरिका चिन जस्तो नियन्त्रित समाज भएको देश हैन, यो खुला प्रजातान्त्रिक देश हो भन्दै रहे । कोरोनाको संकट बढ्दै जादा बार, रेस्टुरेन्टहरु बन्द भए । मनोरन्जन गर्न पाइएन भनेर हातमा रक्सिको बोत्तल बोकेर युवा युबतीहरु समुन्द्री किनार तिर समुहिकरुपमा मनोरञ्जन गर्न गए । त्यसबाट अमेरिकामा कोरोना सङ्क्रमण ह्वात्तै बढेर गयो ।
चिनमा कोरोनाले निम्ताएको संकटले त्यहाँ आर्थिक मन्दी निम्तियोस, आर्थिक संकटले प्रतिद्वन्दी चिन ओरालो लागोस र आफ्नो एकाधिकार विश्वमा निर्बाध अगाडि बढोस भन्ने अमेरिकी साम्राज्यवादीहरुले चिताएका थिए । तर परिस्थिति सधै आफुले सोचे जस्तो हुदैन । त्यो सङ्कट अहिले अमेरिकाआफै माथि आइपरेको छ । उता चिनमा डिसेम्बरको अन्त्यमा सुरु भएको कोरोना भाइरस सङ्क्रमण गत फेब्रुअरीको अन्त्य तिर नियन्त्रण हुँदै गएको थियो ।
कोरोना भाइरस सङ्क्रमणको समस्या चिनमा न्यून हुँदै गएपछि उसले बिश्वका विभिन्न देशमा स्वास्थ्यकर्मी र स्वास्थ सामग्री पठाइरहेको छ ।अहिले विश्वको ठूलोभू-क्षेत्रमा मानिसहरु लक डाउनमा बसिरहेका छन । यातायात,उद्योग कारखानाहरु बन्द छन । तर चिनमा यातायात, उद्योग चलिरहेका छन । मास्क, हातमा लाउने ग्लोब, पि पि इ (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट
), किट्स (भाइरस परिक्षण गर्ने रसायन) लगायतका सामग्री उत्पादन गरिरहेको छ र चिनले बिश्वभरी व्यापार गरिरहेकोछ ।
एकातिर यसबाट चिनको प्रभाब बढेकोछ भने अर्को तिर उसको व्यापार बढिरहेकोछ । स्वयम् अमेरिकाले मास्क लगायतका स्वास्थ्य सामग्री चिनबाट खरिद गरिरहेको छ । चिनमा कोरोनाको समस्या न्यून हुँदा बित्तिकै उसले बिश्वका बिभिन्न देशलाइ के सहयोग गर्नु पर्यो भनेर सोध्यो र सहयोग गरि पनि रहेको छ । स्वास्थ्यकर्मी , स्वास्थ्य सामग्री र प्रबिधि विभिन्न देशमा पठाइरहेको छ । उसको यो शालीन व्यबहार केवल सहयोग, सद्भाव ,कुटनीति,व्यापार मात्र नभएर उसको राजनीति पनि हो । त्यो चिनको कोरोना पलिटिक्स हो । अमेरिका, युरोपको उग्र, दुश्मनीपुर्ण कोरोना पलिटिक्स देखियो भने चिनको शालिन, भद्र र जिम्मेवार ।
बिश्व राजनीतिमा चिनको यो प्रभाब बढिरहेको बेला अमेरिकाले पनि आफ्नो राजनीतिलाई अगाडि बढाइरहेको छ । रास्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधमा अमेरिकी कङ्रेसले गत चैत्र १३(2020मार्च 26)मा कोरोना भाइरसले निम्ताएको सड्ढट सामना गर्न दुई तृलियन डलर अनुमोदन गरेको छ । रास्ट्रपति ट्रम्पले बिस्वका बिभिन्न देशलाई सहयोग गर्ने घोषणा गरेकाछन ।भारतलाई मोटो रकम सहयोग गर्ने घोषणा गरेका छन।भारतलाइ किन ज्यादा महत्त्व दिए ? त्यो केवल कोरोना भाइरस सङ्क भाइरस सङ्क्रमण सम्बन्धी सहयोग मात्र हैन । अमेरिकाको चिन बिरोधी रणनीति इन्डोपेसिफिक स्ट्राटिजिमा भारतले सहमति जनाएको छ । भारतलाई अमेरिका आफ्नो क्याम्पमा बलियोगरीअठ्याएर राख्न चाहान्छ । भारतलाई गर्ने भनिएको त्यो सहयोग अमेरिकाको परराष्ट्र सम्बन्धी दीर्घकालीन रणनीतिक उद्देश्य सित जोडिएको कुरा सजिलैसँग बुझ्न सकिने विषय हो ।
भारतलाई मात्र हैन आफनो नजिकका अरु देशहरुलाई पनि अमेरिकाले सहयोग गर्ने भनेकोछ । आफ्नो नजिक रहेका वा कमजोर रास्ट्रहरुलाई उसलेआफ्नो प्राभाबमा राखिरहने योजना अन्तर्गत यो सहयोग कार्यक्रमलाई प्रयोग गरेकोछ । संयुक्त रास्ट्र संघले धनी रास्ट्रहरुलाई यस बिपत्तिको बेलामा गरिब रास्ट्रहरुलाइ मद्दत गर्न आह्वान गरेको छ । तर कथित ठूला देशहरुले गरिब देशहरुलाई सहयोग गर्ने भन्दा पनि यस सहयोगलाई आफ्नो साम्राज्यवादी स्वार्थ अन्तर्गत गरीब देशहरुलाई राखिरहने गरी प्रयोग गर्ने देखिएकोछ । आफ्नो पक्षमा नरहने गरिब देशलाई उनीहरुले मद्दत गर्दैनन ।
यो बिपत्तिका बेलामा एक देशले अर्को बिरोधी देशलाई वा बैचारिकरुपले फरक मत राख्ने देशलाइ वा समुहलाई सकेसम्म बदनामित गर्ने, अरुलाइ अगतिलो साबित गर्ने र आफुलाई असल देखाउन खोज्ने कोसिस गरेको पाइन्छ । चिनले यो कोरोनाभाइरसको उत्पत्ति र बिश्वब्यापी फैलावटमा अमेरिका दोषी छ भनेको थियो । उसको भनाइ थियो कि केही महिना पहिले अमेरिकी सेनाहरु वुहानको एक सैनिक कार्यक्रममा आएका बेला त्यो भाइरस यहा छाडेर गएका थिए।चिनलाइ ध्वस्त पार्ने षडयन्त्र अन्तर्गत किर्तिम भाइरस छाडियो ।भारतीय मिडियाहरुले चिनमा जङली जनावर हरु बिक्री गर्ने र खाने चलन छ । त्यो भाइरसको बैक हो भनेर लगातार प्रचार गरिरहेका छन।यसरी प्रचार गरे कि त्यो भाइरसको खतरा बारे विश्वलाई बेलैमा जानकारी नगराउनु चिनको गल्ती हो र त्यो गल्तीलाई ढाकछोप गर्ने डब्लु एच ओका प्रमुख टेड्रोसको कमजोरी हो । टेड्रोस अफ्रिकी देश इथियोपियाका पुर्ब मन्त्री हुन । उनी डब्लु एच ओ को प्रमुख बन्न चिनको भूमिका थियो ।त्यसैले चिनको कमजोरी ढाकछोप गर्ने र कोरोना भाइरस नियन्त्रण गर्न उसको ठूलो योगदान छ भनेर प्रशंसा मात्र गरिरहेका छन। यसरी भारत र भारतीय मिडियाहरुले चिन, डब्लू एच ओ र टेड्रोसको लगातार विरोध गरिरहेकाछन । अप्रील को पहिलो हप्तामा ड्ब्लु एच ओ ले भारतले कोरोना भाइरस नियन्त्रणमा गरेको योगदानको प्रशंसा गरे पछि त्यो समचार प्रचार गरिरहेका छन । डब्लु एच ओ ले चीनको प्रशंसा गर्दा बिरोध आफ्नो प्रशंसा गर्दा गौरब ,भारतीय शासकहरुको कति धेरै दोधारे चरित्र ? जहाँ सम्म यो जैबिक हतियार हो वा हैन? यदि हो भने यो चिनले निर्माण गर्यो वा अमेरिकाले ? भन्ने प्रश्न छ यो यस्तो जटिल बिषय हो कि कसैले जैबिक हतियार निर्माण गरेकै भए पनि अहिले कसैले स्वीकार गर्ने वाला छैन । साम्राज्यवादीहरुले जैविक हतियारको रुपमा भाइरस उत्पादन गर्दैनन भन्न पनि सकिँदैन किनभने दोस्रो विश्व युद्ध पछिको ठूलो युद्ध भियतनाम- अमेरिका युद्धमा अमेरिकाले जैविक हतियार प्रयोग गरेको थियो । भारत, युरोपियन ,अमेरिकन मिडियाहरुले भाइरस नियन्त्रन गर्न चिनले अपनाएको तरिकालाई निरङ्कुश तरिका भनेर सकेसम्म बदनाम गर्ने प्रयत्न गरिरहेका छन।भारतीय प्रहरीहरुले सरकारको निर्देशन उल्लंघन गर्नेहरुलाई वा लकडाउनको नियम पालन नगर्नेहरुलाई सडकमा कुखुरा बनाउने देखि डन्डा लगाउने सम्म काम गरिरहेकाछन । भारत, अमेरिका,युरोपियन देशले यस सन्दर्भमा अलोकतान्त्रीक तरिका भनेर चिनको विरोध गर्नुको कुनै तुक देखिदैन । यो केवल बिरोधीहरुलाई बदनाम गर्ने खेती मात्र हो। यो रुपमा पनि कोरोना पलिटिक्स विश्वब्यापीरुपमा चलिरहेको छ ।
हरेक देश भित्र कोरोना पलिटिक्स चलिरहेको छ । अतिहिन्दु अन्धरास्ट्रवादी भारतीय जनता पार्टी र उसको सरकारले यो कोरोना संकटको अवसर छोपेर मुस्लिम समुदायलाई सकेसम्म बदनाम गर्ने र ती अल्पसंख्यक समुदायहरुलाई दमन गर्ने कोशिश पनि गरिरहेको छ। गत मार्चकोअन्त्यमा (चैतको १७/१८ तिर )मुस्लिम धार्मिक सम्प्रदाय तब्लीकी जमातको दिल्लिमा जमघट भएको थियो । सरकारले भेला नहुन भन्दा भन्दै पनि भेला हुनु उनीहरूको कमजोरी हो । तब्लिकी जमातले धेरै ठाउमा कोरोना भाइरस सङ्क्रमण गराएको भनिएको छ । मार्च २३ मै प्रहरी प्रशासनले उनीहरुलाई जम्मा नहुन चेतावनी दिएको थियो । उनीहरु जम्मा हुँदै छन भन्ने सरकारलाई जानकारी थियो।जानकारी हुदाहुदै किन केही दिन सम्म कार्यक्रम चल्न दिइयो?उनीहरूलाई बदनाम गर्नका लागि कतै मुस्लिमहरुलाई जम्मा हुन दिइएको त थिएन? आगामी निर्बाचनहरुमा कोरोनाको बिषय धेरै देशमा चुनाबी अजेन्डा बन्नेछ । अमेरिकामा रास्ट्रपति निर्बाचन प्रक्रिया एक बर्ष सम्म चल्छ । कोरोना भाइरस सङ्क्रमणको समस्याले रास्ट्रपति चुनाब प्रक्रियामा अबरोध सृजना भएको छ । कोरोना सङ्क्रमण रोक्न ट्रम्पले लापरबाही गरे भन्ने दोष उनी माथि छ।आगामी रास्ट्रपति निर्बाचनमा उनी माथिको यो दोषलाई विरोधीहरुद्वारा व्यापक प्रचार गरिनेछ । नेपालमा कोरोना भाइरसको समस्याले निम्ताएको सङ्कटका बेला बिदेशबाट स्वास्थ्य सामग्री खरिद गर्दा,चिनबाट विद्यार्थीहरुलाई विमान भाडामा बूकिङ गरेर लिएर आउदा भ्रस्टाचार भएका, लक डाउनको मौका छोपेर कालो बजारी बढेको समाचार आइरहेका छन।५/६ दिनसम्म भारतबाट सिमानामा आएर नेपाल प्रबेश गर्न खोज्दा नेपालीहरु भोक भोकै दुख पाएर बस्नु परेको घटनाहरु दु:खद छन ।
देशमा कोरोनोभाइरसको समस्या देखिदासम्म पनि नेपालका अस्पतालहरुमा पि पि इ को ब्यबस्था हुन नसक्नु अर्को दु:खद कुरा हो । यद्यपि अहिले चिनबाट केही खरिद गरिएको बताइएको छ । नेपालमा सरकारले निकै राम्रो काम गरेको प्रचार गरिरहेको छ । काम भन्दा पनि प्रचार राजनीति चलिरहेको छ । कोरोना बिमारीलाई धनगढीमा डाक्टरहरुले राम्रोसँग हेरबिचार नगरेको बताइएको छ । निजी अस्पतालहरुले ज्वरोका बिमारीहरुलाई उपचार नगरिकन गेटबाटै पठाइदिएको समाचार आएकाछन । स्पेनमा बिमारी उपचार गर्न अस्वीकार गर्ने निजी अस्पतालहरुलाई सरकारले कब्जा गरेर राष्ट्रियकरण गरेको खबर छ ।
आफुलाई समाजवाद उन्मुख ब्यआफुलाई समाजवाद उन्मुख ब्यबस्थाको उद्देश्य बोकेको बताउने बर्तमान सरकारले के त्यसो गर्न सक्ला ? गाडीको सिन्डिकेट अन्त्य गर्ने क्षमता समेत नभएको सरकारबाट यति ठूलो कुरा सोच्न्न पनि सकिन्न । स्वास्थ्य र शिक्षाका माफियाको सङ्ररक्षणमा लागिरहेको सरकारले तेसो गर्लाकी भनेर सोच्नु सम्म पनि ब्यर्थ हो ।
कोरोना भाइरसले निम्ताएको संकटले मानिसलाई आफ्नो सोचाइ माथि पुनर्बिचार गर्न बाध्य बनाएको छ । आफुलाई शक्तिशाली शासक ठान्नेहरुलाई पनि आफ्नो सोचाई माथि पुनर्बिचार गर्न बाध्य बनाएको छ । दक्षिण एशियामा यस क्षेत्रको संगठन सार्कको सम्मेलन सन २०१६ मा भै सक्नु पर्ने थियो । भारत र पाकिस्तानको बिबाद खास गरि भारतीय शासकहरुको अहमताका कारण सार्क सम्मेलन हुन सकिरहेको छैन । बोलचाल सम्म पनि बन्द जस्तै भएको भारत र पाकिस्तानको सम्बन्धलाई कोरोना सड्ढटले बोल्चाल गर्नु पर्ने बनाइ दिएको छ । गत चैत्र २(२०२०मार्च १५)मा सार्क देशहरुका सरकार प्रमुखहरुका बीचमा कोरोना सड्ढटका बिषयमा भिडियो कन्फ्रेन्स भएको छ ।यो सड्ढट सामना गर्न सार्क स्तरीय कोष निर्माणगर्ने सहमति बनेकोछ । भारतले त्यसमा एक करोड अमेरिकी डलर राख्ने र अरुले स्वबिबेकले राख्ने भनिएको छ । सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले चिनको सङ्कटको बेला उसको खिल्ली उडाउदै हिडे तर आफू माथि नै सड्ढट आएपछि चिनका राष्ट्रपतिलाई फोन गरेर कोरोना सड्ढट सामना गर्न सहकार्य गर्न प्रस्ताव राखे ।
यो संकट कहिले सम्म रहन्छ अहिले नै भन्न सक्ने अवस्था छैन । कोरोना सङ्कटले आर्थिक,सामाजिक र राजनीतिक क्षेत्रमा पनि नया सड्ढटहरु निम्ताउनेवाला छ । साम्राज्यवादी बित्तीय सङ्स्था आइ एम एफ ले विश्वमा आर्थिक मन्दीको खतरा बताइरहेको छ । कोरोना सड्ढटबाट महाशक्ति राष्ट्रहरुको असली हैसियत सन्सारका सामु ध्वनित भएकोछ । उनीहरु सन्सारलाइ ध्वस्त पार्न सक्ने अनेकौ हतियार बनाएका छन । उनीहरु आफू शक्तिशाली बन्ने र बिरोधीलाई सखाप पार्ने प्रतिश्पर्धामा मात्र लागेका रहेछन । तर मानवीय बिपत्ती सित जुध्ने सम्बन्धमा उचित समरचना कति कमजोर रहेछ भन्ने कुरा कोरोना भाइरस सङ्क्रमणलाई सामना गर्ने सम्बन्धमा अमेरिका ,बृटेन,फ्रान्स ,इटली स्पेनजस्ता देशहरुको हालतले स्पष्ट गरेको छ ।यदि यो सङ्कट लम्बिदै गयो भने विश्वब्यापीरुपमा बेरोजगारी बढेर जाने छ । चैत्र १४(२०२०मार्च२७) को रिपोर्ट अनुसार अमेरिकामा मात्र ३२ लाख ८ हजार जनाले बेरोजगार सम्बन्धी फारममा नाम दर्ता गराएका थिए।सामाजिक हितका दृश्टिकोणले सप्रीएको पुजीवाद भन्दा बिग्रेको समाजवाद उत्तम हुदो रहेछ भन्ने देखियो । यस्तो महामारीका बेलामा उत्तर कोरिया ,भियतनाम ,क्युबा जस्ता आफुलाई समाजवादी बताउने देशहरुले कोरोना सङ्कटलाई सजिलै सामना गरेको देखियो ।क्युबाले जनताको स्वास्थ्यमा बिशेश ध्यान दिन्छ । अहिले क्युबाली स्वास्थ्यकर्मीहरु विश्वका विभिन्न देशहरुमा कोरोना सङ्क्रमित बिमारीहरुको उपचारमा खटिरहेकाछन । सङयुक्त राष्ट्र संघका बर्तमान महासचिव अन्टोनियो गुटेरसले भनेका छन कि यो संकट विश्वमा दोस्रो विश्व युद्ध पछिको सबैभन्दा ठूलो संकट हो । जताततै बेरोजगारी बढ्दै गयो र आर्थिक संकट बढ्दै गयो भने त्यसले सामाजिक र राजनीतिक क्षेत्रमा पनि सङ्कट निम्ताउने छ । विश्वभरी श्रम बजारमा छरिएका नेपाली मजदुरहरु नेपाल फर्कने स्थिति बन्यो भने त्यसले पक्कै नेपाली समाजमा नयाँ परिबर्तनको खोजी गर्न उद्देलित गर्नेछ । तर त्यो स्थितिअहिले नै बनी हाल्छ भन्ने हैन । जे होस एउटा कुरा पक्का हो कि बर्तमान पुजीवादी विश्व ब्यबस्था झन झन संकटमा पर्दै गएकोछ ।
कोरोना संकटले अर्को कुरा पनि स्पष्ट वोध गराएकोछ कि पुजीवादी भूमन्डलिकरणले राजनीती,सङ्स्कृती, व्यापारलाई मात्र भूमन्डलिकृत गरेको छैन । समस्याहरु पनि भूमन्डलिकृत भएकाछन । समाधानका उपायहरु पनि भूमन्डलीकृत हुन्छन । जसरी कोरोना भाइरस सङ्क्रमण गर्मीयाममा जङ्गलमा डढेलो लागेजस्तै विश्व भरी सल्कियो । त्यसरी नै जब पुजीवाद विरुद्धको संघर्ष को माहौल बन्नेछ कोरोना सङ्क्रमण फैलिए जस्तै पुजीवाद बिरुद्धको सङ्घर्ष पनि व्यापक बन्नेछ । त्यसको आधार तयार पार्न स्वयं पुजीवादी ब्यबस्थाले भूमिका खेलिरहेकोछ र अग्रगामी सोचाइ राख्ने कम्युनिस्ट पार्टीहरुले बदलिँदो परिस्थितिको यथार्थ मुल्याङ्कन गर्दै सङ्गठन ,संघर्ष सम्बन्धि उचित कार्यक्रम बनाउन ध्यान दिन जरुरी छ ।कोरोना भाइरस सित जोडिएको राजनीतिक पक्षलाई बर्गीय दृष्टिकोणबाट बुझ्ने प्रयत्न गरौ ।