जागरण अभियानमा संलग्न रहेको भन्दै नेता कार्की राजमोबाट निष्काशित

0
446
नेपालगंज । राष्ट्रिय जागरण  अभियानको  केन्द्रमा  रहेर पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै राष्ट्रिय जनमोर्चाका युवा नेता गौरीलाल कार्की पार्टी  कार्वाहीमा परेका छन ।
राष्ट्रिय जनमोर्चा बाँकेका पुर्व अध्यक्ष समेत रहेका कार्कीलाई पार्टीको हित विपरीत गतिविधिमा संलग्न भएको भन्दै कारबाही गरीएको हो ।
राष्ट्रियजनमोर्चाका बांके जिल्ला अध्यक्ष भिमप्रसाद देवकोटाद्वारा आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेता कार्की  पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनिश्चितकालका लागि निष्काशन गरिएको जनाइएको छ ।
विज्ञप्तिमाभनिएको छ, ‘पार्टीको हित विपरीत र अनाधिकृत रुपमा केही व्यक्तिहरुको फुटपरस्त उद्देश्यद्वारा गठित कथित ‘राष्ट्रिय जागरण अभियान’को केन्द्रमा रही गौरिलाल कार्कीले आफ्नो गतिविधि गरेको प्रति राष्ट्रिय जनमोर्चा बाँकेको ध्यान आकृष्ट भएको छ । वहाँको उक्त कार्य पार्टी तथा संगठनको अनुशासनको गम्भीर उल्लंघन ठहर गरी गौरिलाल कार्कीलाई राष्ट्रिय जनमोर्चाको साधारण सदस्यबाट अनिश्चितकालको लागि निश्कासन गरिएको जानकारी गराइन्छ । साथै राष्ट्रिय जनमोर्चाका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु वहाँको त्यसप्रकारको अनुशासनविहीन र पार्टी तथा संगठनको हित विपरीत गतिविधिको भ्रममा नपर्न र वहाँसँग सम्पर्क नगर्न अनुरोध गरिन्छ ।’

राष्ट्रिय जनमोर्चाले कथित ‘राष्ट्रिय जागरण अभियान’ पार्टीमा फुट पार्ने उद्देश्यसहित गठन भएको उल्लेख गर्दै आफ्ना नेता कार्यकर्ताहरुलाई त्यसमा सामेल नहुन निर्देशन जारी गरेको छ । सो समूहमा संलग्न केही व्यक्तिलाई राजमोले यस अघि पनि कारबाही गरेको थियो ।

अन्य संघ संस्थामा रहेर काम गर्न सक्ने पार्टीको नियम अनुसार नै म जागरण अभियानमा बसेको हुँ- कार्की

यसैबिच राष्ट्रिय जनमोर्चा बाँकेका पुर्व अध्यक्ष गौरीलाल कार्कीले अन्य संघ संस्थामा रहेर काम गर्न सक्ने पार्टीको नियम अनुसार नै म जागरण अभियानमा बसेको बताएका छन । पार्टीले कारबाही गरे लगत्तै कार्कीले एकएक विज्ञ निकालेर आफु पार्टी फुटाउने कुनै पनि गतिविधिमा संलग्न नभएको स्पष्ट पारेका छन ।

कार्कीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष कमरेड भिमप्रसाद देवकोटाले वक्तव्य जारी गर्दै म राष्ट्रिय जागरण अभियान नामक सामाजिक संस्थामा आवद्ध भएकै कारण त्यसलाई पार्टी फुट परस्त गतिविधिको संज्ञा दिएर मलाई पार्टीको साधारण सदस्य समेतबाट अनिश्चित कालका लागि निष्कासन गरेको खबरले स्तब्ध भएको छु । यसबारे सामान्य प्रष्ट पार्न यो वक्तव्य प्रेषित गर्दछु ।राष्ट्रिय जागरण अभियान कुनै राजनैतिक पार्टी होइन, नितान्त सामाजिक संस्था हो । कुनै सामाजिक संघ संस्थामा रहने अधिकार सबै सदस्यहरुलाई रहेको छ । हाम्रो पार्टीका थुप्रै सदस्य यस प्रकारका विभिन्न संघ संस्थामा रहदै आउनु भएको छ । यसबारे मैले ‘फुटको हल्लाः भ्रम र वास्तविकता’ शिर्षक हाँकमा प्रकाशित लेखमा सामान्यतया प्रष्ट पारेको छु । म हाम्रो पार्टी फुटाउने उदेश्यले कुनै गतिविधिमा संलग्न छैन बरु हाम्रो पार्टी भित्र देखा परेका भिन्नमतमा इमानदारी पुर्वक छलफलमा नियमानुसार खुलेर भाग लिदै आएको थिए र छु । यसको उदेश्य पार्टी अझै क्रान्तिकारी बनोस् भन्ने मात्रै थियो र छ । राष्ट्रिय जागरण अभियानमा रहेको कारणले मात्रै यस्तो निर्णयमा पुग्नु या त पार्टी नै भ्रममा छ, या त भिन्नमत राखेकै कारण यस्तो निर्णय भएको हुनुपर्छ । जे सुकै होस्, त्यो भविष्यमा खुल्दै जानेछ । म के प्रष्ट पार्न चाहन्छु भने मैले राष्ट्रिय जनमोर्चा छोडेको छैन । मलाई राष्ट्रिय जनमोर्चाको नेता वा कार्यकर्ता भनेर चिन्नुहुने सम्पुर्ण न्यायप्रेमी जनसमुदायमा यस वक्तव्यको पछि लागेर म माथिको दृष्टिकोण नबनाउन आग्रह गर्दछु । म माथि अन्याय भएको छ । म यसबारे थप प्रष्ट पार्ने छु । त्यसैले पार्टीलाई पनि म आग्रह गर्दछु कि यो भ्रमबाट मुक्त भएर निर्णय फिर्ता लिनु नै पार्टीको लागि श्रेयष्कर हुनेछ र म माथि न्याय हुनेछ भन्न चाहन्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here