ललितपुर । राष्ट्रिय जनमोर्चा सहितका नौ राजनीतिक दलको आयोजना आज देशका विभिन्न जिल्लाहरुमा विरोध कार्यक्रम सम्पन्न भएका छन् । त्यहि सिलशिलामा ललितपुर जिल्लाको लगनखेलबाट जुलुस सुरु भइ बजार परिक्रमा गरि जुलुस सहित विरोध सभा सम्पन्न भएको छ । भारतद्वारा गरिएको सिमा कब्जाको विरोध तथा एमसिसि सम्झौता खारेजीका लागि आयोजित सभालाई नौ राजनीतिक दलका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।
बिरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य घनश्याम न्यौपानेले एमसिसि सम्झौतालाई तत्काल खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले एमसिसि सम्झौता हिन्द प्रशान्त रणनीतिकै अँग भएको उल्लेख गर्दै चीनलाई घेर्ने रणनीतिकासाथ नेपालमा सैन्य अखडा स्थापना गर्ने उद्देश्यसहित आएकाले यसलाई नेपालमा कार्यान्वय गर्न नहुने उहाँको तर्क थियो । वर्तमान सरकार र प्रमुख प्रतिपक्ष नेपाली काँगे्रसले यो सम्झौता जसरी पनि पारित गर्न लागि पर्नुको पछाडिको कारण के हो भन्दै प्रश्न उठाउनु भयो । नेता न्यौपानेले सम्झौता लागु भएमा नेपाल अमेरिकी सामराज्यवादको सैन्य अखडामा परिणत हुने चेतावनी दिनुभयो । नेपालको राष्ट्रियता र स्वाधिनतामाथि नै गम्भीर आँच पुर्याउने यो राष्ट्रघाती सम्झौता दृढतपूर्वक अस्वीकार गर्नुपर्ने विचार व्यक्त गर्दै न्यौपानेले भारतीय सामराज्यवादद्वारा नेपालको सिमा अतिक्रमण हुदाँपनि वर्तमान सरकारले ठोस कदम नचालेकोप्रति खेद प्रकट गर्नु भयो ।
काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेकपा (मसाल)का जिल्ला प्रवक्ता जगत रेग्मीले देशलाई बन्धकी राखेर एमसीसी पास गर्न पाईंदैन भन्दै पश्चिमा साम्राज्यवादप्रति सरकार लाचार बनेको बताउनुभयो ।
शनिबार भक्तपुरको सुर्य्विनायक चोकमा सोही विषयमा विरोध सभा सम्पन्न भएको छ । सभालाई राष्ट्रिय जनमोर्चाका तर्फबाट अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले सम्बोधन गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका तिलक थापा, क्रान्तिकारी माओवादीका सोमानसिंह तामाङ, मालेका दिनेश खाती, जनसमाजवादीका गोविन्द बहादुर बुढा, देजमोका श्रीकृष्ण सुलु र नेकपाका प्रविन जोशीले सम्बोधन गर्नुभएको भक्तपुरबाट राजमो नेता शिवहरी फुयाँलले जानकारी दिनुभएको छ ।