काठमाडौं । परियोजना पारित गर्ने सत्तारुढ दल नेकपाको सत्तारुढ नेकपाको केन्द्रीय कमिटि बैठक सम्पन्न भएको छ । माघ १५ देखि १९ गते सम्म काठमाडौंमा बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट परियोजना पारित गर्ने नेतृत्वको प्रयास असफल भएको छ । प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले ‘जसरी पनि एमसीसी संसदबाट पास गर्ने’ बताइरहँदा सत्तारुढ दलकै केन्द्रीय समितिबाट यो अनुमोदन हुन सकेन । एमसीसी विरुद्ध नेता भीम रावलको नेतृत्वमा बहुमत सदस्यहरु उभिएपछि नेतृत्वलाई संकट परेको हो ।
नेकपाले सो विषयमा अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा ३ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । जसमा स्थायी कमिटी सदस्यहरु भिमवहादुर रावल र प्रदिप ज्ञवाली सदस्य रहेका छन् । उक्त कार्यदलले १० दिन भित्रमा अध्ययन गरी सचिवालयमा सुझाव पेश गर्ने र सोही सुझवका आधारमा पार्टीले निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
ब्यानरमा जीवित नेताको फोटो नराख्ने
नेकपाले अबदेखि जीवित नेताको फोटो ब्यानरमा नराख्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकबाट आइतबार नेकपाले यस्तो निर्णय गरेको हो ।केन्द्रीय समितिको बैठकस्थलमा टाँगिएको ब्यानरमा अध्यक्षद्वय केपी ओली र प्रचण्डको तस्बिर राखिएकोमा नेताहरुले कडा आपत्ति जनाएका थिए ।
ब्यानरमा नेकपाका संस्थापक नेता पुष्पलाल र मदन भण्डारीको फोटो राखिएको थियो । त्यस भन्दा तल अध्यक्षद्वयको फोटो राखिएको थियो । केन्द्रीय सदस्यहरुले अध्यक्षद्वयको फोटो हटाउन माग गरेपछि नेकपाले अबदेखि जीवित नेताको फोटो ब्यानरमा नराख्ने निर्णय गरेको हो ।
अतिक्रमित भुमी समेटेर नक्सा जारी गर्न सरकारलाई सुझाव
बैठकले भारतले हालै जारी गरेको नयाँ नक्सा अमान्य हुने निर्णय गरेको छ। भारतले हालै नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्र आफ्नो भूभागमा समेटी नयाँ नक्सा जारी गरेको थियो । नेकपाले सो नक्सा अमान्य हुने घोषणासहित नेपाल सरकारलाई अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्न सुझाव पनि दिएको छ । बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।
पार्टीको महाधिवेशन २०७७ चैतमा गर्ने
बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०७७ चैत २५ देखि ३० गते सम्म सम्पन्न गर्ने निर्णय समेत गरेको छ । त्यस्तै जिल्ला अधिवेशन र प्रादेशिक अधिवेशन समेत आवश्यक तयारी गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै तीन महिने संगठनात्मक विस्तार तथा जनपरिचालनको विशेष अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।