पोखरा/ विश्वका सबैभन्दा होचा व्यक्तिको रुपमा विश्व किर्तिमान कायम गरेका खगेन्द्र थापामगरको निधन भएको छ । उनको शुक्रबार दिउँसो पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएकाे हो ।
स्वास्थ्यमा समस्या देखिएपछि थापालाई बिहीबार मणिपाल शिक्षण अस्पताल पोखरामा भर्ना गरिएको थियो । अस्पताल भर्ना लगत्तै उनलाई अस्पतालको आइसियु कक्षमा राखी उपचार गरिएको थियो । थापाको निधन निमोनियाको कारणले भएको चिकित्सकले बताएका छन् ।
खगेन्द्र थापाको उचाई २२ दशमलव ४ इन्च रहेको थियो । उनले विश्वकै होचा व्यक्तिको रुपमा २०६७ असोज २८ मा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ मा नाम लेखाउन सफल भएका थिए ।
बागलुङ जिल्लाको बरेङ गाउँपालिका वाड नं १ धुल्लुबास्कोटमा बाबा रूपबहादुर थापामगर र आमा धनमाया थापामगरको कोखबाट २०४९ साल असोज १८ गते जन्मिएका थिए । उनी सोह्र वर्षको उमेर देखि पोखरामा बस्दै आएका थिए ।
उनी जन्मिँदा उनको तौल ६०० ग्राम मात्र थियो भने अहिलेको तौल ५ दशमलव ५ किलोग्राम मात्र रहेको थियोे ।
यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक शोक वक्तव्य जारी गर्दै थापाको निधनले अत्यन्तै दुखी भएको उल्लेख गर्दै थापाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
खगेन्द्र थापाले विश्वकिर्तिमान कायम गरी गण्डकी प्रदेश र सिंगो नेपाललाई विश्वसामू परिचित गराएको भन्दै मुख्यमन्त्री गुरुङले थापाप्रति सरकारको उच्च सम्मान रहने बताएका छन् ।