ने.क.पा. (मसाल)को छैठौं राष्ट्रिय भेला हालै सम्पन्न भएको समाचार प्राप्त भएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले शनिवार एक विज्ञप्ती जारी गरी जानकारी गराएका छन् । विज्ञप्तीमा उल्लेख भए अनुसार त्यो राष्ट्रिय भेला खालि दुई विषयहरुबारे मात्र विचार गर्नलाई आयोजित गरिएको थियो ।
प्रथम, प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको समीक्षा ।
द्वितीय, पार्टीभित्रको अनुशासनको समस्याको मूल्याङ्कन ।
भेलामा चुनाव वा पार्टी अनुशासन सम्बनधी कमजोरी माथि प्रकाश हालिएको छ । त्यस प्रकारका कमजोरीहरुलाई स्वीकार गर्नुका पछाडि पुन: तिनीहरुलाई सुधार्ने दृढ इच्छा र नैतिक बलले नै काम गरेको बताइएको छ । गत चुनावमा वामपक्षीय गठबन्धनलाई समर्थन गर्ने वा वामसित तालमेल गर्ने नीतिलाई राष्ट्रिय भेलाले सही ठहराएको छ ।
“पार्टीले संसदीय चुनावमा भाग लिने नीति अपनाएदेखि नै आवश्यकतानुसार आफ्ना उम्मेदवारहरुलाई बदल्ने, फिर्ता लिने वा अन्य पक्षहरुसित तालमेल भएपछि अन्य उम्मेदवारहरुलाई आवश्यकतानुसार समर्थन गर्ने पार्टीले पहिलेदेखि अपनाउँदै आएको अभ्यास हो । पार्टीमा संसदीय बोर्ड, कार्यालय वा कतिपय अवस्थामा महामन्त्रीद्वारा पनि त्यस प्रकारका परिवर्तनहरु गर्ने गरिएका कैयौं उदाहरणहरु छन् । त्यस प्रकारको पृष्ठभूमिमा अहिले अपनाइएको नीति पनि गलत थिएन भन्ने कुरा राष्ट्रिय भेलाले ठहर गरेको छ ।
कम्युनिष्ट पार्टीले राजनीतिक शक्तिहरुलाई वर्गीय रुपमा मित्र र दुश्मन शक्तिहरुका रुपमा बाँड्दछ । त्यस अनुसार सामन्त, दलाल र नोकरशाही पूँजीपतिहरुलाई प्रतिनिधित्व गर्ने राजनीतिक शक्तिहरु नयाँ जनवादी क्रान्तिका दुश्मन शक्तिहरु हुन् । राष्ट्रिय पूँजीपति वर्ग, धनी किसान र मध्यम किसानहरु वा निम्नपूँजीपति वर्गहरुलाई प्रतिनिधित्व गर्ने राजनीतिक शक्तिहरु नयाँ जनवादी क्रान्तिका मित्र शक्तिहरु हुन्, यद्यपि उनीहरुमा ढुलमुल, अवसरवादी र सम्झौतापरस्त प्रवत्ति पनि हुन्छ । एमाले र माओवादीहरुले निम्नपूँजीपति वर्गको प्रतिनिधित्व गर्दछन् । त्यसकारण तिनीहरु नयाँ जनवादी क्रान्तिका मित्र शक्तिहरु हुन् ।
चुनावका बेलामा वामपक्षीय गठबन्धनको नेतृत्व तहसित भएको समझदारी अनुसार हामीलाई राष्ट्रिय सभाको एउटा सीटमा समर्थन गर्ने हाम्रो प्रस्तावमा उनीहरु सकारात्मक भएको बताएका थिए । अर्घाखाँचीमा ता त्यसबारे लिखित सहमति नै भएको थियो । तर राष्ट्रिय सभाको चुनावमा उनीहरु त्यस प्रकारको बचनबाट विमुख भए । पहिले पनि उनीहरु आफ्ना बचनबाट विमुख भएका कैयौं उदाहरणहरु छन्, जस्तै कि पहिले राष्ट्रियसभाको चुनावमा र कपिलवस्तुको चुनावमा हामीसित भएको सहमतिका विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुलाई जिताएको वा कर्मचारीको चुनावमा परस्परमा सहमति गरेर चुनाव लडेको भए पनि पछि हामीलाई निर्वाचित एउटा सिट दिने भनेकोमा त्यो दिन अस्वीकार गरेको आदि । तर हामीले आफ्ना तर्फबाट मौखिक वा लिखित रुपमा भएका सबै बचनहरुलाई पालन गर्ने गरेका छौं वा कतिपय अवस्थामा राजनीतिक आवश्यकतामाथि ध्यान दिंदै उनीहरुका कतिपय नीति वा सरकारहरुलाई पनि समर्थन गर्ने गरेका छौं । उनीहरुको हामीहरुसित भएका सहमतिहरुलाई भंग गरेका कैयौं उदाहरणहरु भएपनि यसपल्ट प्यूठान र बाग्लुङमा भएको तालमेलमा उनीहरुले इमान्दारितापूर्वक हाम्रा उम्मेदवारहरुलाई मत हालेका छन् ।
जेहोस्, उनीहरुको व्यवहार अविश्वसनीय प्रकारको हुने गरेको भएपनि कुनै राष्ट्रिय आवश्यकताअनुसार उनीहरुलाई समर्थन गर्ने, उनीहरुसित तालमेल गर्ने वा आवश्यक भएमा उनीहरुका विरुद्ध संघर्ष गर्ने हाम्रो पहिलेदेखिको नीति यथावत नै छ र रहने पनि छ ।
भेलाले पार्टीभित्रको अनुशासनको समस्याबारे पनि गम्भीरतापूर्वक विचार गरेको छ । त्यस सिलसिलामा भेलाद्वारा पारित राजनीतिक प्रस्तावमा देशमा प्रभावशाली प्रकारको राजनीतिक भूमिका खेल्नका लागि पार्टीभित्र जनवादी केन्द्रियतामा आधारित अनुशासन र एकताले निर्णयात्मक महत्व राख्दछ । पार्टीमा अनुशासन र एकतालाई सुदृढ पार्नका लागि एकातिर, पार्टीका सदस्यहरुको सैद्धान्तिक स्तर र, अर्कातिर, आवश्यकतानुसार अनुशासनको कारवाही गर्नुपर्ने आवश्यकतामाथि पनि भेलाले जोड दिएको छ । भेलाले अहिलेसम्म अनुशासनको प्रश्नमा देखाइने उदारवादी प्रकारको दृष्टिकोणको विरोध गर्दै आवश्यकतानुसार त्यसमा कडाई गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।
चुनावमा अनुशासन सम्बन्धी कैयौं कमजोरीहरु देखापरेका छन् । कांग्रेस पक्षीय गठबन्धनका ठाउँमा वामपक्षीय गठबन्धनसित तालमेल गरेको वा प्यूठान र बाग्लुङमा तालमेल गरेका कार्यहरुको पनि सार्वजनिक रुपमा नै विरोध गर्ने काम भएको छ । खास गरेर सामाजिक सञ्जालहरुमा त्यस प्रकारको अनुशासनविहिनता अत्यन्त भद्दा र विकृत रुपमा देखा पर्यो । त्यस सन्दर्भमा क्षेत्रीयतावाद वा कतिपय उम्मेदवारहरुको व्यक्तिगत टिकाटिप्पणी गर्ने र चरित्र हत्या गर्ने जस्ता कामहरु पनि भए । बुर्जुवा पार्टीहरुमा पनि आफ्नै पार्टीका उम्मेदवारहरुको कसैले विरोध गर्यो भने त्यसलाई गम्भीर प्रकारको अपराधका रुपमा लिइन्छ र त्यस प्रकारको कार्यका विरुद्ध कडा कारवाही गर्ने गरिन्छ । त्यो अवस्थामा ने.क.पा. (मसाल) जस्तो अत्यन्त अनुशासित पार्टीमा त्यस प्रकारका प्रवृत्तिहरु देखा पर्नु चिन्ताको कुरा हो । तैपनि यस सन्दर्भमा यो उल्लेखनीय छ कि पार्टीका कुनै जिम्मेवार नेता वा पार्टी सदस्यहरुले त्यस प्रकारका गैरजिम्मेवार कामहरु गरेका छैनन् । तैपनि अहिले सामाजिक सञ्जालको व्यापक प्रचारका कारणले एकाध गल्तिद्वारा त्यस प्रकारको कार्य गरिए पनि त्यसको असर व्यापक हुन्छ । त्यसले गर्दा त्यस प्रकारका गल्तिहरु थोरै भएको भएपनि पार्टी सदस्यहरुको सक्रियता र एकतालाई त्यसले केही न केही क्षति पुर्यायो र चुनावमा पनि त्यसको केही असर पर्यो । भेलाले सामाजिक सञ्जालमा देखापर्ने सबै अनुशासनविहीन गतिविधिलाई नियन्त्रित गर्न सबै पार्टी समिति वा सदस्यहरुले ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिएको छ ।
जनवादी केन्द्रीयता वा छलफलमा स्वतन्त्रता र काममा एकताको लेनिनवादी सिद्धान्त अनुसार हामीले कुनै विषयमा निर्णय गर्दा छलफलको स्वतन्त्रतालाई पूरै पालना गर्नुपर्दछ । तर कामको दौरानमा पूरै नै एकता वा अनुशासनलाई पालना गर्नुपर्दछ । कामको दौरानमा देखाइने मतभेद वा अनुशासनविहिनता लेनिनवादी संगठनात्मक पद्धति वा अनुशासनका विरुद्धको कुरा हो । गतकालमा हाम्रो पार्टीमा त्यस प्रकारका कमजोरीहरु पनि केही न केही देखापर्ने गरेको कुरालाई अस्वीकार गर्न सकिन्न । त्यो अराजकतावादी चिन्तन प्रणालीको परिणाम हो । त्यसकारण त्यस प्रकारको चिन्तन प्रणालीलाई सैद्धान्तिक वा आवश्यक भएमा अनुशासनको कारवाहीद्वारा सुधार र नियन्त्रण गर्ने प्रयत्न गर्दै पार्टी अनुशासन र एकताको रक्षा गर्न हामीले विशेष ध्यान दिनुपर्दछ । त्यसरी नै पार्टीले अनुशासित र एकतावद्ध भएर आफ्ना जिम्मेवारीहरु पूरा गर्न सक्नेछ भन्ने कुरा पनि राजनीतिक प्रस्तावमा स्पष्ट गरिएको छ ।
हामीलाई चुनावमा जुन उपलब्धि प्राप्त भएको छ, देशव्यापी रुपमा विचार गर्दा त्यो अत्यन्त कम छ । चुनाव हाम्रो रणनीति नभएर सैद्धान्तिक प्रचार, जनसम्पर्क वा जनआधारको एउटा माध्यम मात्र हो । त्यसैले चुनावमा सफलता कम भए पनि हामीले पुन: नयाँ प्रकारले आफ्ना संगठनात्मक र राजनीतिक गतिविधिहरुलाई अगाडि बढाउन संगठित रुपले काम गर्न ध्यान दिनु पर्दछ । तैपनि समग्र रुपमा चुनावमा प्राप्त परिणाम हाम्रो संगठनात्मक स्थिति अनुरुप नै छ । त्यसैले अहिलेको संगठनात्मक स्थिति तथा पार्टी अनुशासनको स्तरलाई माथि उठाउने दिशातिर हामीले विशेष प्रयत्न गर्नुपर्ने आवश्यकता छ, जसबाट चुनावमा वा आन्दोलनमा बढी सफलता प्राप्त गर्नु सम्भव होस् ।
हाम्रो भेला दुईटा विषयमा छलफल गर्नका लागि मात्र भएको थियो : चुनावको समीक्षा र पार्टी अनुशासनको मूल्यांकन । खास गरेर एक वर्षमा हुने पार्टीको आठौं महाधिवेशनमा पार्टीभित्र स्वस्थ र अनुशासित वातावरणको निर्माण गर्नका लागि नै हामीले अहिलेको भेलाको आयोजना गरेका थियौं । तैपनि त्यो भेलाको सिलसिलामा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय महत्वका कैयौं विषयहरुमा पनि छलफल गरेको छ र त्यस सम्बन्धी कतिपय आगामी नीति र कार्यक्रमहरु पनि निश्चित गरेको छ ।
गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता तथा राष्ट्रिय हितमा अहिले पनि गम्भीर आँच पुग्ने खतरा छ । राजावादी, पृथकतावादी, मधेशवादी वा भारतीय विस्तारवादले त्यसका लागि लगातार प्रयत्न गरिरहेका छन् । त्यो अवस्थामा उक्त विषयहरुमा आँच पुर्याउन खोज्ने कुनै पनि प्रयत्नहरुका विरुद्ध उच्च प्रकारको सतर्कता र संघर्ष गरिरहनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । त्यसका साथै जनताका प्रगतिशील र न्यायपूर्ण मागहरु पूरा गराउन पनि लगातार संघर्ष गर्ने हाम्रो नीति हुनेछ ।
संघीयता देशका लागि उपयुक्त छैन भन्ने हाम्रो पहिलदेखिको अवधारणा अहिले आर्थिक, राजनीतिक र व्यवहारिक रुपले नै प्रमाणित हुँदै गएको छ । त्यसको परिणाम स्वरुप देशको राष्ट्रियता वा विकास कार्यमा प्रतिकूल असर झन् पछि झन् बढ्दै गइरहेको छ । त्यसैले त्यसका विरुद्ध वा त्यसलाई खारेज गराउने हाम्रो पार्टीले संसदभित्र वा बाहिर लगातार आफ्नो संघर्षलाई अगाडि बढाउने प्रयत्न गरिरहने छ । त्यसका साथै संघीय व्यवस्था खारेज गराउन संविधानमा संशोधनका लागि पनि हामीले पहल गर्नुपर्ने आवश्यकता छ ।
बुटवलको ऐतिहासिक स्थल जितगढीको नजिक र आसपासका क्षेत्रमा भारतले बनाउन थालेको पेन्सनक्याम्पका विरुद्ध त्यहाँका स्थानीय जनताले गरेको आन्दोलनलाई ने.क.पा. (मसाल)ले समर्थन गर्दछ र त्यो संघर्षसित ऐक्यवद्धता प्रकट गर्दछ । वास्तवमा त्यो सामान्य पेन्सन क्याम्प मात्र नभएर त्यसद्वारा नेपालको सुरक्षा र राष्ट्रियताका विरुद्ध आँच पुग्ने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।
तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा आफ्नो पार्टी पराजित भइसकेपछि र आफ्नो सरकारका अन्तिम दिनहरुमा पनि राष्ट्रिय कोषको दुरुपयोग गर्ने र आफ्ना कार्यकर्ताहरुलाई स्वेच्छाचारी प्रकारले वितरण गर्ने जुन कार्य गरे, त्यसको हाम्रो पार्टीले विरोध गर्दछ र नयाँ सरकारसित त्यसबारे छानवीन र आवश्यक कारवाही गर्नका लागि माग गर्दछ ।
देशमा बढिरहेको भ्रष्टाचार, महंगी तथा पेट्रोलको मूल्यमा बारम्बार बृद्धि जस्ता कार्यहरुबाट जनताले धेरै नै पीडित हुनुपरेको छ । नयाँ सरकारद्वारा उक्त कार्यहरुमा सुधार र नियन्त्रणका लागि आवश्यक र प्रभावशाली कदम उठाउनु पर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौं ।
लामो समय बितिसक्दा पनि भूकम्प पीडितका घरहरुको निर्माणको कार्य हुन सकेको छैन र उनीहरुलाई आवश्यक सहायता प्राप्त हुन सकेको छैन । त्यसले गर्दा उनीहरुले वर्षा र जाडोमा समेत अत्यन्त दयनीय अवस्थामा जीवन बिताउन परिरहेको छ । उक्त विषयमा सिघ्र प्रभावशाली कदम उठाउनका लागि हामीले सरकारसित माग गर्दछौं ।”
weroyas a01e64a247 https://wakelet.com/wake/hj6Qxdo3S1WEG7Dug04qJ