नेकपा जिल्ला अध्यक्ष शर्मा ज्यु, अभिवादन !
जिल्ला पार्टीको अध्यक्षको हैसियतमा पत्रकार सम्मेलनमा तपाईंले दिएको अभिव्यक्ति समाचार पढेर थाहा भयो । र, यसलाई जबाफ दिनु आवस्यक ठानेर जमर्को गरिरहेको छु ।
दुई पार्टी-केन्द्रमा एउटा सहमति भयो, वामपन्थी तालमेल गरेर निर्वाचनमा होमिने ! सोही बमोजिम बाग्लुङको प्रदेश सभा २ को ख र प्युठानको ऐरावती -२ मा नेकपाले राजमोलाई समर्थन गर्ने र बाँकी देशभर नेकपाका उमेदवारलाई समर्थन गर्ने, सहयोग गर्ने । यसलाई हाम्रो पार्टीको तर्फबाट पुरा पालना भएको छ ।
तर नेकपाले केन्द्रीय स्तरमा गरिएको सहमतिलाई केन्द्रीय नेतृत्व कै उपस्थितिमा उल्लंघन गरिएको छ । यसको प्रमाण हो- निर्वाचनका समयमा वामदेव गौतमको प्युठान उपस्थिति र चुनावी सभा(सार्वजनिक मंच) मार्फत पुर्वनिर्धारित केन्द्रीय सहमतिको विरुद्ध जिल्लामा भइरहेका नेकपाका राजनीतिक गतिविधिमा मौन समर्थन ! नेकपा स्थाई कमिटी सदस्य मणि थापा, नेकपाको तर्फबाट विजयी प्रदेश सभा सदस्यहरु कृष्णध्वज खड्का र हरि रिजालको बागी उमेदवारको पक्षमा चुनावी सभामा भएको सहभागिता आदिलाई समेत मान्न सकिन्छ ।
हो, नेकपा (मसाल) कम्युनिस्ट पार्टी हो । र, विश्व कम्युनिस्ट आन्दोलनको इतिहासलाई हेर्ने हो भने कम्युनिस्ट पार्टी भुमिगत नै हुन्छन् । यसको लागि तपाईंले इतिहासको थप अध्यन गर्नुपर्ने हुनसक्छ । यस हिसाबले नेकपा (प्रतिक्रियावादी राज्यसत्तामा सामेल बुर्जुवा पार्टी) सँग नेकपा (मसाल) निर्वाचनका विषयमा छलफल र बहस नि गर्दैन । यसमा पनि तपाईं स्पष्ट हुँदा हुन्छ । किनकि नेकपा (मसाल) अर्धभुमिगत कम्युनिस्ट पार्टी हो, निर्वाचन लगायतका विषयमा निर्णय लिने जिम्मा पार्टीको वैधानिक मोर्चा- राष्ट्रिय जनमोर्चालाई दिएको छ । पार्टीको मातहतमा राजमोले यस्ता विषयमा पार्टीसँग समन्वय गरेर सुझबुझपुर्ण रूपमा निर्णय गर्ने गर्दछ ।
कम्युनिस्ट पार्टी-संगठनको अनुभव नभएको कारण यस्ता तर्क गर्नुलाई हामीले आश्चर्य मानेका छैनौं । र अर्को विषय पनि पत्रकार सम्मेलनमा उठाउनुभएको रहेछ – निर्वाचनका विषयमा मात्रै सहमति हुन सक्दैन, यसलाई प्याकेजमा सहमति खोजिनुपर्छ । त्यसमा झिम्रुक गा.पा. ८ को वार्ड कार्यालयको विषय, मल्लरानी स्थित चुंजाठाटी स्वास्थ्य चौकीमा कार्यरत एक कर्मचारीको विषयमा परेको मुद्दा, सांसद विकास कोष परिचालनको विषय र उप-निर्वाचन सम्बन्धि विषय ! यी सबै विषयमा प्याकेजमा सहमति जुट्नुपर्छ भन्ने तपाईंहरुको हठले जिल्लाको वामपन्थी समीकरण भंग भएको छ र यसको भविष्य समेत अन्योलग्रस्त पारिएको छ । यसको सम्पुर्ण जिम्मा नेकपा हो र नेतृत्वको हिसाबले तपाईंहरु !
वार्ड कार्यालयको विषयमा धेरै पटक छलफलहरु भएका छन्, तर सहमति जुट्न नसक्दा वहुमतिय प्रणालीअनुसार यसको टुंगो लगाइएको छ ।
मल्लरानी गा.पा. स्थित चुजाठाटी स्वास्थ्य चौकीका इन्चार्जले एकजना स्वास्थ्य सेवाग्राहीलाईगरिएको भनिएको अभद्र व्यवहारको मुद्दा, जसलाई सम्बन्धित स्थानीय सरकार वा स्वयं अदालतले नै यसको टुंगो लगाउनेछ । र अघिल्लो निर्वाचनका समयमा आगामी दिनमा प्रतिनिधि सभा, संघ र स्थानीय तहको बजेट (संसद विकास कोष, पुर्वाधार विकास कोस, स्थानीय तहको बजेट ) लाई संयुक्त रूपमा परिचालन गर्ने सहमति हाम्रो पार्टीले पुर्णरूपमा कार्यनयन गरेको छ । पुर्वाधार विकास कोष अन्तर्गतको ६ करोड बजेट मध्य ३ करोड नेकपालाई खर्च (परिचालन) गर्न दिएर राजमोले सहमति कार्यान्वयन गरेको थियो । तर नेकपाबाट विजयी प्रदेश सांसदहरु र स्थानीय तहको बजेट एकलौटी र मनमर्जी हिसाबले खर्च गरिएको छ, दुरुपयोग गरिएको छ । यस विषयमा राजमोसँग कुनै छलफल र सहकार्य भएको छैन ।
रह्यो कुरा उप-निर्वाचन सम्बन्धि, यो विषयमा मैले माथि नै स्पष्ट पारेको छु । तपाईंले लगाएको बर्गवैरीको जुन आरोप छ, यो सरासर आधारहीन, कपोलकल्पित र राजनीतिक पुर्वाग्रहबाट निर्देशित छ । विगतमा वामपन्थी शक्तिहरुका बीचमा भएको सहमति र सम्झौताहरुमा गद्दारि गर्ने काम स्वयं पुर्व नेकपा (खासगरी तपाईंले नेतृत्व गर्नुभएको पुर्व एमाले ) बाट हुँदै आएको छ । तपाईंहरुको अवसरवादी र ढुलमुले चरित्रका कारण जिल्लामा प्रगतिशील शक्तिका बीचमा प्रतिक्रियावादी शक्तिहरुले ठाउँ पाएको इतिहास ताजै छ । यसको एउटा उदाहरण हो, अघिल्लो निर्वाचका वेलामा ४२ दिनसम्मको लामो छलफल पछि टुंगिन लागेको त्रिपक्ष (तत्कालीन राजमो-एमाले-माओवादी ) चुनावी तालमेल एउटा वार्डको विषयमा तपाईंहरुको हठले गर्दा भंग हुनु । यस्ता दृष्टान्त थुप्रै दिन सकिन्छ, तर यसमा धेरै उदाहरण दिएर तपाईंलाई थप लज्जित बनाउन म चाहन्न । र तपाईंले जोड्नुभएको छ, वामपन्थी समीकरणको सम्भावना कायमै छ । त्यसो होईन कमरेड अहिले यसमा पुर्णविराम लागेको छ । सम्भवतः अब नेकपासँग जिल्लास्तर कुनैपनी तालमेल र मोर्चावन्दी हुनेछैन । यसमा तपाईंलाई विश्वस्त गराउन अर्को शब्द भेटिरहेको छैन, तर तत्काललाई No !
हामी प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध, प्रतिक्रियावादी शक्तिका विरुद्ध जुध्न तयार छौँ र सक्षम पनि, सम्झौता गर्न होईन ! तपाईंहरुले दया गरेर दिएको होइन हामीले हाम्रो सम्पुर्ण शक्ति र तागतले प्रतिनिधि सभा जितेका हौं । यस हिसाबले ५० हजार जनमतको हकदार हामी हौं, हाम्रो पार्टी हो । र अहिले बजारमा उपसभामुखको लड्डु बाडिरहेको जुन निराधार हल्ला छ, यसमा यत्ति भनुँ- अहिले हामीलाई उपसभामुख होईन, स्वर्गद्वारी देखि गौमुखी र ऐरावती देखी नौवहिनी सम्मको संगठन चाहिएको छ ! तपाईंहरु भ्रमबाट मुक्त हुन र पुर्वाग्रह र तुसको राजनीतिबाट माथि उठे मात्रै प्युठानले तपाईंहरुको राजनीतिक चेत र संस्कारको महसुस गर्नेछ, धन्यवाद !
–सरोज न्यौपाने