काठमाडौँ । देशलाई स्थायी सरकार दिएर समृद्धि र विकासको गतिमा अघि बढाउने उद्घोष गर्दै निर्वाचनमा गएको एमाले, माओवादी–केन्द्र सम्मिलित वाम गठबन्धनले निर्वाचनबाट स्पष्ट बहुमत त हासिल गर्यो तर निर्वाचनका बेला गरेका प्रतिबद्धताहरु प्रति इमान्दार रहनेमा भने आशङ्का गर्नु पर्ने अवस्था सिर्जना भएको छ । एमाले–माओवादी केन्द्रले वाम गठबन्धन बनाएर चुनावमा होमिदा निर्वाचन लगत्तै पार्टी एकता गर्ने समेत घोषणा गरेका थिए । तर अहिलेसम्म त्यो पार्टी एकताले मूर्त रूप पाउन सकेको छैन । राष्ट्रिय सभा सदस्य प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखहरुमा उनीहरुले भागबण्डा लगाएका छन् । उनीहरुका गतिविधि हेर्दा आपसमा पदीय भागबण्डा नमिलेकै कारण अहिलेसम्म उनीहरुका बीचमा पार्टी एकता हुन नसकेको हो । यसबाट प्रष्ट हुन्छ, उनीहरुबीचमै पहिले कायम भएका परस्परका सहमतिहरुप्रति उनीहरु दुवै पार्टी इमान्दार छैनन् । आपसका सहमतिप्रति त इमान्दार रहन नसक्नेहरु जनताका बीचमा गरेका प्रतिबद्धताप्रति कति इमान्दार रहन सक्लान् ? स्वाभाविक रूपमा प्रश्न उब्जिएको छ ।
भारतीय विदेश मन्त्री शुष्मा स्वराजको नेपाल भ्रमणका बेला जे जस्ता परिदृश्यहरु सतहमा देखिए त्यसबाट पनि ‘वाम’ गठबन्धन आफ्ना पूर्व प्रतिबद्धताहरुप्रति इमान्दार नरहने हो कि भन्ने आशङ्का जन्मिएको छ । कुनै पनि देशको मन्त्री अर्को कुनै देशको भ्रमणमा जाँदा त्यहाँको सरकार र परराष्ट्र मन्त्रालयको निमन्त्रणा वा स्वीकृतिमा मात्र जाने प्रचलन हुन्छ । तर भारतीय विदेश मन्त्री शुष्मा स्वराजको नेपाल भ्रमणबारे औपचारिक जानकारी हाम्रो परराष्ट्र मन्त्रालयले शुष्मा काठमाडौँ विमानस्थलमा उत्रेपछि मात्र पायो । नेपाल आएपछि स्वराजले सरकार र सरकारमा आबद्ध दलका नेता होइन, सरकार बाहिर रहेका दलका नेताहरुलाई प्राथमिकताका साथ भेटिन् । एमालेले स्वराजको सम्मानमा रात्रीभोज नै गर्यो । स्वराज र केपी ओलीका बीचमा वान टू वान वार्ता भयो । प्रचण्ड र स्वराजका बीचमा पनि भेटवार्ता भयो । यसरी नयाँ सरकार गठनको तयारीमा रहेका दलका नेताहरुलाई छुट्टाछुट्टै भेटवार्ता गरेर स्वराजले के भनिन् ? त्यसको सम्पूर्ण सत्य तथ्य अहिले नै बाहिर आई सक्यो भनेर मान्न सकिदैन । रहस्यको पर्दा अझै पुरै उघ्री सकेको छैन । त्यसबाट सहजै अनुमान गर्न सकिन्छ– वाम गठबन्धनलाई सरकार गठन गर्न नदिन या उनीहरुका बीचमा फुट पारेर मात्र सरकार गठन गर्न लगाउनकै लागि स्वराजको नेपाल भ्रमण भएको थियो । आफ्ना विस्तारवादी नीतिहरुलाई नयाँ प्रकारले नेपालमाथि लागु गर्नका लागि नै भारतले विदेश मन्त्री शुष्मा स्वराजलाई नेपाल भ्रमण गराएकोमा कुनै शङ्का छैन । नयाँ सरकार गठनको तयारीमा रहेका भनिएका एमाले र माओवादी–केन्द्रका नेताहरु स्वराजले बिछ्याएको जालमा फसेर जनताप्रति गरेका पूर्व प्रतिबद्धता र घोषणाप्रति घात त गर्दैनन् ? परिस्थितिले यो आशङ्का पनि गर्नु पर्नेतर्फ इङ्कित गरी रहेको छ ।
राजनीतिमा इमान्दारिता र नैतिकता सबैभन्दा मुख्य कुरा मानिनु पर्ने हो । तर ‘वाम’ गठबन्धन पछिल्लो समयमा बेइमानीको पर्याय जस्तै बनेको छ । राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले राष्ट्रिय जनमोर्चासँग गरेका सहमतिहरुप्रति वाम गठबन्धनले बेइमानीपन देखाएको छ । राष्ट्रिय जनमोर्चा जस्तो निश्कलङ्क छवि बोकेको पार्टीलाई चुनावी तालमेलमा समेट्दा त्यसबाट सबैभन्दा बढी राजनैतिक फाइदा वाम गठबन्धनलाई नै पुग्दथ्यो । तर एमाले र माओवादी केन्द्रले त्यसरी सोच्न सकेनन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ५ र ४ बाट राजमोलाई कमसेकम एक एक सिट दिने पूर्व सहमतिप्रति एमाले र माओवादी केन्द्र इमान्दार बन्न सकेनन् । आफूहरुबीचकै भागवण्डा मिलाउनका लागि उनीहरुले राजमोसँग बेइमानी गरेका प्रष्ट छ । वाम गठबन्धनमा मौलाउँदै गरेको यो बेइमान प्रवृत्ति कहाँसम्म पुग्ने हो ? यो पनि एउटा चिन्ताको विषय बनेको छ ।
एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनलाई जनताले नयाँ सरकार गठनका लागि स्पष्ट जनादेश दिएका छन् । वाम पक्षधरहरुको सरकारको निर्माण गर्नु नै अहिले जानदेश अनुरूपको कार्य हुने छ । तर वाम गठबन्धनलाई तोड्नका लागि निम्ति देशी–विदेशी प्रतिक्रियावादीहरु लागी परी रहेका छन् । यस्तो बेला एमाले र माओवादी–केन्द्रका नेताहरु गम्भीर बन्नु आवश्यक छ । प्रतिक्रियावादीहरुले आफूहरुलाई कसरी उपयोग गर्न खोजेका छन् भन्ने कुरालाई एमाले माओवादीले समयमै बुझ्न सकेनन् भने कालान्तरमा उनीहरुले त्यस्को महङ्गो मुल्य चुकाउनु पर्ने छ । यसर्थ आफूहरुमा हुर्कदै गएको बेइमान प्रवृत्तिलाई एमाले र माओवादी केन्द्रले समयमै नियन्त्रण गर्नु पर्दछ । राजनैतिक रूपमा ती दुई पार्टीहरुका बीचमा खासै त्यस्तो ठुलो भिन्नता केही छैन । उनीहरुले पार्टी एकता गर्न अब ढिलाइ गर्नु हुँदैन । निर्वाचनमा जनताका बीचमा जाँदा जे प्रतिबद्धता जनाएका थिए, त्यसप्रति इमान्दार बन्दै वाम गठबन्धन नयाँ सरकार गठनको दिशामा अघि बढ्नु पर्दछ ।