सस्मरण: कालापानी अभियान राष्ट्रियताको आन्दोलनका लागि नेपाल कोशेढुंगा सावित

0
176
  • लक्षीराम आचार्य

भारतले केहि समयअघि हाम्रो देशको पश्चिम उत्तरी क्षेत्रको लिपुुलेक लिम्पियाधुरा कालापानी क्षेत्रको भू–भागलाई बलात रुपमा आफ्नो देशको भू–भाग भनेर नक्साङ्कन गरेको छ । भारतको सो रवैयाको आम नेपालीहरुले विश्वस्तरबाटै विरोध जनाउदै आएका छन् । त्यसै क्रममा राष्ट्रिय जनमोर्चा पार्टीले सुदूरपश्चिम प्रादेशिक समितिको आयोजनामा गत मंसिर ११ देखि १६ गतेसम्म मोटरसाइकिल मार्चको आयोजना गरेको थियो । सो साप्ताहिक कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाले कालापानी अभियानको नाम दिएको थियो ।

मंसिर ११ गते दिउँसो १२ बजे धनगढीको पार्कमोडबाट कार्यक्रमको उद्घाटन गरिए पश्चात कालापानी अभियानले औपचारिक रुपमा चर्चा र चासोको विषय बन्नु स्वाभाविक थियो । राजनीतिक दलदेखि आम नागरिक सम्मलाई यो अभियानले ध्यानाकर्षित तुल्याएकै थियो । मिडियाहरुले उचित महत्व दिएर मोसफलदेखि राष्ट्रिय स्तरमा कालापानी अभियानलाई उभ्याएका छन् । हुन त देशको सर्वभौम भूगोल मानव जातिलाई स्वाभिमानको अन्य बस्तु के नै आँखा लाग्थ्यो र ? त्यसैले पनि त्यो मौसमको प्रतिकुलका बीचमा पहाडी अप्ठ्यारो भूगोलमा समेत राष्ट्रिय जनमोर्चाका तेता, कार्यक्रर्ताहरुसंग केही पत्रकारहरु समेत जोखिम नियाल्दै छिचोल्दै सो अभियानमा सरिक भएका थिए ।

धनगढीबाट सुरु गरिएको कालापानी अभियानका सहभागीहरुले नेपालको झण्डा र पार्टीको झण्डा फरफराउदै धनगढी बजार हुँदै अत्तरिया पुगेर कोणसभा सम्पन्न गरेको थियो । व्यवस्थित कुनै सैन्यदस्ताको रण अभियान जस्तै देशभक्त योद्दाहरुको लालझण्डा सहित मोटरसाइकलको सचेतना आवाजले अत्तरियाबाट पहाडी भूभागतर्फ जनध्यान मोहित गर्दा करिब दिउँसो ४ बजे खानीडाँडा पुगेर टोलीले बिहानैदेखि भोकाएका शरीरलाई बल्लतल्ल काँचोपाको खानाको अवसर दिलायो ।

कहिल्यै पहाडको यात्रामा नहिडेका तराईका मनुवाहरु समेत भूगोलको प्रतिकुलतासंगै आफुलाई रुपान्तरित गर्दै भासुभीरको जोखिम यात्रा पार गर्दै सहजपूर, फल्टुडे हुँदै अगाडी बढ्दा झिमिक्कै रात परिसकेको थियो । धनगढीमा उद्घाटन भएको कार्यक्रममा वितरित पर्चा र समयतालिका अनुसार यसै दिन साँझ डोटीको बुडरमा कार्यक्रम सम्पन्न गर्ने कर्ययोजनालाई मिडियाहरुले प्रसारित गरी दिएका कारण हामी अध्यारोमा पुग्दा समेत बुडरमा असंख्य मानिसहरु हाम्रो जुलुसलाई पर्खिएर बसेका थिए । उनिहरु हाम्रो कर्यक्रमलाई हेर्न सुन्न र बुझ्नका लागि व्यग्र देखिन्थे । टोलिको बास डडेल्धुराको सदरमुकाम निर्धारित भएका कारण हामीले डोटी बुडरमा कार्यक्रम दिनु सम्भब भएन । मनले कता कता धिक्कारी रहेको थियो । ती प्रतिक्षित मान्छेहरुको व्यग्रतालाई धोका दिनु पर्दाको बाध्यताले । तर, पनि हामीले केहि मानिसलाई हामी फर्केर आउदा यहाँ कार्यक्रम गर्ने छौ भन्यौं ।

त्यसपछि मन अमिलो पार्देै जनताले तालीले स्वागत र बिदाई गर्दै हामीलाई डडेल्धुराका लागि हात हल्लाए ।
हामी गैरा, भातकाडा, स्याउले हुँदै राती ९ः१५ बजे चिसोले कठ्याङ्ग्रीदै डडेल्धुरा गुग्यौ । त्यहाँको जिल्ला पार्टीले हाम्रो गास र बासको व्यवस्था गरेको थियो । दिनभरका थकित ज्यानहरु भोलिको गन्तव्य परिकल्पना गर्दै सुते ।

भोलीपल्ट बिहान ६ बजे उठ्नु पर्ने निर्देशन बमोजिम नै योद्धाहरु बसपार्क (डडेल्धुरा ) मा प्रतिवद्ध भएर उभिए । कठ्याङ्ग्रीदो चिसोको प्रवाह नगरि हामी आठ बजे हुने कार्यक्रमका लागि कोहि मञ्च बनाउन र कोहि बजारतिर कार्यक्रमको निम्ता गर्न तथा कोहि झण्डा व्यानर लगाउन थाल्यौं । आ–आफ्नो भूमिकामा नेता कार्यकर्ता पूर्ण रुपमा परिचालन भएका थियौ । केहि समयपछि बिहान ९ः३० बजे डडेल्धुरामा उत्साहपूर्ण रुपले कार्यक्रम सम्पन्न गर्दै मार्चपास अगाडी बढायौं । हामीले बजार तुफानडाँडा, पोखराको यात्रा गर्दै बिहान ११ः३० मा बैतडीको खोड्पेमा कोणसभाको कार्यक्रम सञ्चालन गरेर अपरान्ह १२ः०० बजे हामी बैतडीको पाटन बजार पुग्यौ ।

पाटन बजारमा कार्यक्रम सोचेको भन्दा राम्रो रह्यो । त्यसपछि खाना खाएर हाम्रो टोली बैतडी हुँदै दार्चुलाका लागि अघि बढ्यो । पाटन क्षेत्र पार नहुँदै त्यो कहरलाग्दो चिसोमो प्रकृतिले झनै बज्रपात थोप¥यो । पानीका पर्राहरु बर्सिन थाले, तर योद्धाहरु रोकिएनन् । मौसमको प्रतिकुलतालाई चुनौति दिदै हामी सतबाँझ बैतडी पुग्यो । मोरसाइकलमा निथु्रक्क भिजेका ८० जनाको टोली देख्दा बैतडीबासीको ध्यान हाम्रो टोलीतिर खिचिनु स्वाभाविक थियो ।

बाटोमा कैयौ कमरेडहरु मोटरसाइकलसंगै बजारिदै घाउमा पट्टी कसेर हिडीरहेको देख्दा टोलीका सदस्यहरुलाई नरमाईलो अनुभुति हुदै गएको थियो । सतबाँझमा जनताले यतै बस्नुहोस पानी परिरहेको छ, अगाडी गोकुलेश्वर तर्फको बाटो चिप्लो र ओरालो तथा असहज छ, भन्दाभन्दै पनि हामीले बिदाईको हात हल्लाउदै लड्दैपड्दै अघि बढ्यौं ।

जोखिमयुक्त यात्रामा निथु्रक्क भिजेर साँझ ७ः३० बजेतिर हामी गोकुलेश्वर पुग्यौ र बजार परिक्रमा गरेर अगाडी गएको टोलीको व्यवस्थापनमा हामी गासबासको व्यवस्था गर्न लाग्यौं । लगातार दुई दिनदेखिको थकाई त्यसैमा पानीले भिजेका शरिर राष्ट्र निर्माणका सुनौला सपना बोकेर सुत्यौ ।

तेस्रो दिन । बिहान ६ बजे हामी सबै नित्यकर्म पुरा गरेर ६ः३० मा एकतित्र भयौ । चियानास्तापछि ७ः३० बजे हाम्रो गोकुलेश्वर दार्चुलाको कार्यक्रम शुरु भयो । वक्ताहरुले निर्धारित समयमै कार्यक्रमलाई सम्बोधन गरिसकेपछि हामी दार्चुलाको उभौला उकालीतर्फ मोटसाइकलका एक्सलेटरहरु बटार्दै उकालोतर्फ अघि बढ्यौं । धार्मिक पर्यटकीयस्थल मालिकार्जुन प्रवेशद्वार पार गरेर अघि बढ्यौं ।

हामी दार्चुला सदरमुकाम खलंगातर्फको यात्रामा अघि बढिरह्यौं । हाम्रो अभियानको सन्देश पाएका दार्चुलाबासी चोक, बजार, घुम्तीहरुमा हामीलाई ताली बजाएर मुठ्ठी उठाएर ढाडस दिईरहेको देख्दा खुशीको सिमा नै हुदैनथ्यो । टोलीका सदस्यहरुमा अदभ्य साहस भरिन्थ्यो । हाम्रो यात्रा जारी रह्यो । सानोतिनो चोटपटकको कुनै परबाह गरिएन । हामी थाकेनौं । रोकिएनौ ।

हामी दिउँसो १२ः३० बजे दार्चुला पुग्दै गर्दा स्थानीय प्रहरीले हाम्रो अभियान टोलीलाई बजार प्रवेश गर्न नदिनका लागि अनेकौ जालझेलका बहाना बनायो । हामीले सहायक मार्ग प्रयोग गरेर बाङबजार सदरलाइन मार्ग हुँदै बसजीप स्टेशनतर्फको जोखिम यात्रातर्फ अघि बढ्यौं । तर पनि प्रहरीको रवैया उही नै देखेपछि हामीले प्रहरीको घेरा तोडेर दार्चुलाबासीलाई राष्ट्रियताको आन्दोलनमा समर्थन गराउन सफल भयौ ।

चौतर्फी घेरा हालेर हामीलाई छेक्न खोज्ने प्रहरी प्रशासन अन्ततः क्रान्तिकारी देशभक्त योद्धा सामु फिका र निरिह बन्न पुग्यो । हामी दार्चुलाको खुलामञ्चमा जनताको बृहत सहभागितामा सभाको कार्यक्रम आयोजना गर्यौ । कालापानी अभियानको बारेमा जनतालाई थप प्रष्ट्याई सकेपछि त्यस दिनको कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रम सकेर हामी जनतासित छलफल गर्नलाई सहभागी हुदै गर्दा त्यहाँका जनताले “पारी भारतको धार्चुला बजार बीचमा महाकाली नदिमा बनेको झोलुङ्गे पुलले दुई देशको सिमाना छुट्याएको छ । हामी तपाइईहरु संगै हिड्न सक्दैनौ । अहिले हिडे भोली उसले हाम्रो रोजगारी बन्द गरिदिन्छ । हाम्रो मौन समर्थन रहने छ” भनेको सुन्दा हाम्रा आँखा रसाउनु स्वाभाविक थियो । किनकि हाम्रा देशका शासकहरुले निहित स्वर्थका लागि बिरासत स्वाभिमान बोकेका नेपाली जनताहरुलाई निरिह हुुनुपर्ने बनाएको कारुणिक बाध्यताले दार्चुलामा समेत नराम्ररी प्रहार गरेको रहेछ ।

दार्चुला जिल्लामा पर्ने लिपुलेक लिप्मियाधुरा र कालापानीमा भएको अतिक्रमणको सबैभन्दा बढि गहिरो चोट त दार्चुलाबासीलाई नै परेको छ । उनिहरु लामो समयदेखि व्यग्रतापूर्ण पर्खाईमा थिए । कालापानीबाट भारतीय सेना हट्ला भनेर सरकार फेरियो । गणतन्त्र आयो । तर, नेपालीको शीर, मुटु, र स्वाभिमान लुटेर दुष्टले आफ्नो भागमा दर्ता गर्ने धृष्टता गरि छोड्यो । जति बेचैन हामी आमनेपाली छौ त्योभन्दा बढि पिर दार्चुलाबासीलाई हुन स्वाभाविक छ । तर, बाध्यता उनिहरुको भोको पेटको पनि छ । जनतासितको साक्षात्कार पश्चात दार्चुलाका पत्रकार साथीहरुलाई साँझ नै हामीले अभियानको उद्देश्य र महत्वबारे थप प्रस्टाएका थियौं ।

अभियानको चौथो दिन । हामी बिहानै दार्चुलाबाट बैतडीको सदरमुकाम गोठालापानीका लागि हिँड्यौ । त्यसदिन बिहानको खाना बैतडीको पन्ज्युनाथमा भयो । अभियानका क्रममा सवारी साधनको समस्याले गिज्जाईरहदा पनि हाम्रो टोली सो दिन साँझ गोठालापानी गुग्यौं । साँझ त्यहाँका साथीहरुले हाम्रो गासबासको व्यवस्था गरेका थिए ।

पाँचौ दिन बिहानै सभाको कार्यक्रम सकेर हामी खाना खान डडेल्धुराको सदरमुकाम पुग्यौं । खानापछि हामी डोटीका लागि हिँड्यौं । डोटी पिपल्ला (दिपायल) मा ४ बजे आमसभाको कर्यक्रम भयो ।

दिपायलको आमसभामा जनताको अति नै राम्रो समर्थन र सहभागिता रहेको थियो । कार्यक्रम सम्पन्न गरेर हामीले त्यो दिन डोटीका साथीहरुको आतिथ्य ग्रहण ग¥यौं ।
छैठौ दिन बिहान ७ बजे हामी दिपायलबाट डडेल्धुराको भातकाँडा बजारमा आमसभाको कार्यक्रम गरेर चिया नास्ता गर्दै बुडर (डोटी) मा खाना खाएर सभाको कार्यक्रम सम्पन्न भयो । हामी दिउसो ३ बजे कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ फल्टुडेमा आमसभा गर्दै साँझ ७ बजे अत्तरिया कैलालीमा आइपुग्यौ ।

यात्राका क्रममा अत्तरिया आइपुग्दा सहभागीहरुले आ–आफ्नो अनुभूति र अनुभबहरु साटासाट गरेर अभियानको समिक्षा गरिरहेका थियौ । सातौ दिन अत्तरियामा बिहानैदेखि सयौ सहभागीहरु थपिएर हामी कञ्चनपुरको सीमाना गड्डाचौकी पुगेर फर्कियौ ।

यसरी कालापानी अभियान कुनै एउटा पार्टीको मात्र नभएर पुुरै देशको सार्वभौमसत्ता र भू–अखण्डताको रक्षाको आन्दोलनका लागि कोशेढुङ्गा सावित हुनेछ । एकातर्फ राष्ट्रको अतुलनीय माया, स्नेह, अर्कोतर्फ अभियानमा १८ वर्षदेखि ७० वर्षसम्मका उमेर समुहका सहभागीहरुको त्यो सम्मान हिम्मत र बलिदानी भावको इतिहासले कहिल्यै बिर्सिने छैन । केही फोटोहरु-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here