किन मर्छन् कम्युनिस्ट पार्टीहरू ?

0
62

 

 नेपालमा नयाँ जनवादी क्रान्तिको राजनीतिक कार्यभार आधारभूत रूपले पूरा भएको छ । अब अर्को नयाँ जनवादी क्रान्ति हुँदैन । त्यसैले अब सेना वा हतियार आवश्यक छैन । यही नै जनवादी राज्यव्यवस्था हो । यसमा सहभागी बन्दै सामाजिक-आर्थिक रूपान्तर र समृद्धिमा केन्दि्रत हुँदै बढ्नु नै आजको कार्यभार हो ।

‘यथार्थमा -माओवादी) पार्टी मरिरहेको छ’, कमरेड प्रचण्डले पार्टीमा पेस गरेको प्रतिवेदनमा यी पङ्क्ति लेखिएका छन् । प्रचण्डका अनुसार, ‘पार्टीको संगठनात्मक स्थिति भयावह रूपले विघटित र विसर्जित भइरहेको छ । ….यथार्थमा पार्टी मरिरहेको छ, गुटहरू मौलाइरहेका छन्, गुटहरूभित्र पनि उपगुटहरू अझ झाँगिएका छन्, उपगुटहरूभित्र व्यक्तिगत स्वार्थले प्रमुख उत्प्रेरकको भूमिका खेलिरहेको छ । ….लेबी, कोटा, आर्थिक पारदर्शिता, त्याग-बलिदान सबैलाई व्यक्तिगत स्वार्थको बुल्डोजरले किचिरहेको छ….सर्वत्र व्यक्तिगत स्वार्थ हावी हुँदै गइरहेको छ ।’ 

आफ्नो असफलतालाई स्वीकार्दै उनी भन्छन्, ‘गहिरिँदै गएको राजनीतिक संकटलाई क्रान्तिकारी संकटमा बदल्ने तथा जनविद्रोहद्वारा सत्ता लिने प्रयत्न’ गरिएको थियो, तर त्यस्तो ‘विद्रोह सफल हुनसकेन ।’ कमरेड प्रचण्डले बीस वर्षभन्दा बढी निरन्तर र एकलौटी नेतृत्व गरेको ‘सर्वहारा वर्गको अग्रदस्ता’ माओवादी विभिन्न हिसाबले, उनकै भाषामा ‘स्खलित’ भएर लेबी, कोटाजस्ता पार्टीका नियमित स्रोतहरूमा समेत अपारदर्शिता व्याप्त हुनु र त्यस पार्टीका सबैलाई ‘व्यक्तिगत स्वार्थको बुल्डोजरले किचिरहेको’ र ‘पार्टी मरिरहेको’ अवस्था आउनुमा को जिम्मेवार छ त ?
२०५७ सालतिर माओवादी ‘जनयुद्ध’लाई विश्व क्रान्तिको केन्द्र भनिन्थ्यो । त्यसको नेताका हिसाबले कमरेड प्रचण्डलाई विश्व क्रान्तिकै नेता भनियो, आफू विश्व क्रान्तिको नेता भइसकेको कुरा प्रचण्ड स्वयम्ले बेला-बेलामा सार्वजनिक गरेका थिए । उनै प्रचण्ड अगुवा रहिरहेको एकीकृत माओवादी किन यो हालतमा आयो ? प्रचण्डले यस्ता प्रश्नहरू त गरेका छन्, तर तिनको कारण र समाधानबारे केही पनि उल्लेख गरेका छैनन् । माओवादी शान्ति प्रक्रियामा किन आयो त ? भन्ने प्रश्नबारे घुमाउरो उत्तर छ ः विद्रोह सफल हुन नसकेको हुनाले । के अब उनले विद्रोहको राजनीति छोडेका हुन् त ? त्यसो पनि होइन, उनैका अनुसार, अहिले ‘सेना समायोजन र पुनःस्थापन गर्नु तथा संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु….नयाँ ढङ्गले चार आधार निर्माण गरी क्रान्तिलाई निरन्तर अगाडि बढाउने नयाँ पहल हो ।’ उनको प्रतिवेदन पढ्दा माओवादी पार्टी शान्ति प्रक्रियामा आउन थालेपछि मर्दै जान थालेको हो वा शान्ति प्रक्रिया र संविधान निर्माणमा अझ राम्ररी जान नसक्दा त्यसो भएको हो भन्ने स्पष्ट छैन । पार्टी मर्दै गरेको घोषणा गर्ने प्रचण्ड स्वयम् अर्को ठाउँमा भन्छन्, ‘…. नयाँ जनवादलाई पार्टीको रणनीति र …न्यूनतम कार्यक्रम मान्ने…जनताको संघीय गणतन्त्रलाई पार्टीको मूल कार्यनीति बनाउने तथा राष्ट्रिय स्वाधीनता र संघीय गणतन्त्रमा जोड दिँदै जनविद्रोहमा जाने कुरामा समेत पार्टीमा कुनै औपचारिक विवाद छैन ।’ त्यस्ता महत्त्वपूर्ण विषषमा विवाद छैन भने पार्टी किन ‘मर्छ’ ? वा ‘पार्टी मरिरहेछ’ भन्ने हल्ला चलाएर उनले के गर्न खोजेका हुन् ?माओवादी विवादको मुख्य विषय आज शान्ति र संविधान मुलुकको आवश्यकता हो । तर त्यसलाई हाम्रो राजनीतिक जीवनको आवश्यकताभन्दा पनि ‘उपयोग गर्ने’ अर्थमा मात्रै प्रयोग गरियो भने शान्ति र संविधान दिगो हुँदैन । कमरेड प्रचण्डको प्रतिवेदनले के देखाउँछ भने उनले एउटा प्लेकार्ड बोकेका
छन् । त्यसको एकातिर ‘क्रान्ति’ लेखिएको छ, अर्कोतिर ‘शान्ति’ । या त त्यहाँ अलग-अलग अर्थ छ या अर्थै छैन । यदि विद्रोह नै गर्ने हो भने भएकै हतियार बिसाएर र सेना विघटन गरेर कसरी विद्रोह हुन्छ ? अर्को विद्रोह गर्ने नै हो भने शान्ति प्रक्रिया र संविधानको निर्माणमा लाग्नु भनेको स्वतः दक्षिणपन्थी, अवसरवादी वा पलायनवादी काम हुन्छ कि हुँदैन ? ‘जनताको संघीय गणतन्त्र’ नै ठीक हो भने यो लोकतान्त्रिक गणतन्त्रभन्दा के फरक छ ? यदि ‘नयाँ जनवादलाई पार्टीको रणनीति र…न्यूनतम कार्यक्रम’ मान्ने हो भने शान्ति प्रक्रियाबाट त्यो कसरी पूरा हुन्छ ? उनले कल्पना गरेको ‘जनविद्रोह’ कसरी हुन्छ ? अर्थात् नयाँ जनवादी क्रान्तिको मुख्य राजनीतिक कार्यभार नै बाँकी छ भने ‘जनसेना’ विघटन गर्नेभन्दा ठूलो गद्दारी के हुनसक्छ ? किरणहरूका यस्ता अनेकौँ प्रश्नहरूको उत्तर प्रचण्डले दिनु पर्नेछ । प्रचण्ड भन्न सक्छन् ः क्रान्ति भइसकेको होइन, शान्तिपूर्ण रूपले सत्ताकब्जा गर्ने बाटोमात्रै खुलेको हो । त्यसो हो भने दुनियाँलाई उनले बताउनुपर्ने हुन्छ ः शान्तिपूर्ण सत्ताकब्जाको बाटो के हो त ? यदि शान्तिपूर्ण क्रान्ति नै गर्ने हो भने पनि अबको क्रान्ति कुन वर्गको विरुद्ध हुन्छ ? कुन वर्गलाई लिएर सम्पन्न गरिन्छ ? अहिलेका कुन-कुन पार्टीले प्रतिनिधित्व गरेका वर्गका विरुद्ध त्यो क्रान्ति सम्पन्न गरिएला ? क्रान्ति गरेपछि कस्तो राजनीतिक व्यवस्था स्थापना गरिन्छ ? लोकतान्त्रिक व्यवस्था हुन्छ कि माओवादले भनेजस्तो ‘नयाँ जनवादी’ व्यवस्था हुन्छ ? यदि लोकतान्त्रिक नै हुन्छ भने यो लोकतन्त्र र त्यो लोकतन्त्रमा के फरक हुन्छ ? आदि ।
कमरेड प्रचण्ड अहिले यस्तै अनेकौँ प्रश्नको घेरामा परेका छन् । ससाना व्यक्ति र घटनाहरूले ‘शक्तिशाली’ व्यक्तित्वसँग प्रश्न गर्ने साहस गर्दैनन् । सोधिहाले पनि सुनवाइ हुँदैन, किनकि साना घटना र व्यक्तिका सीमा धेरै हुन्छन् । तर जब सिङ्गो इतिहास खडा भएर चिहानमा गाडिएका प्रश्नको बाकस खोलेर सोध्न थाल्छ, त्यसपछि इतिहासका कथित शक्तिशाली व्यक्तित्वहरूको परीक्षा पूरा हुन्छ । वस्तुतः नेकपा माओवादीको उत्थानको कथामा कथित ‘जनयुद्ध’को रणभूमिमा वास्तविक पात्रहरूले खेलेको भूमिकामात्रै थिएन, त्यसभन्दा पनि रङ्गमञ्चहरूमा सूत्राधारद्वारा नियन्त्रित अभिनय अझ महत्त्वपूर्ण थियो । निश्चय नै यस वास्तविकतालाई इन्कार गर्नु अन्याय हुनेछ कि त्यस ‘जनयुद्ध’मा हजारौँ युवक-युवतीले आफ्नो जीवन अर्पण गरे, जवानीको बलिदान गरे, सिउँदो मेटाए, काख रित्याए, टुहुरा भए- जसरी कि नाटकहरूमा गरिबी र अत्याचार वा बलात्कारविरुद्ध लडिरहेको कुनै व्यक्तिको अभिनयमा गरिब, निमुखा वा प्रेमी-प्रमिकाहरूले आफ्नो अनुहार देख्छन् र घुँक्क-घुँक्क रुन्छन् । कस्तो विरोधाभाष बन्न जान्छ भने जो नाटक खेल्दैछ, उसले नियोजित भूमिका खेलिरहेको हुन्छ वा त्यो आफैंमा अवास्तविक हुन्छ । तर वास्तविक मानिसहरू अवास्तविक घटनाबाट नराम्ररी प्रभावित हुन्छन्, रुन्छन्-कराउँछन् वा दुःखी हुन्छन् ।
त्यसैगरी ‘जनयुद्ध’मा आफ्नो सम्पूर्ण मुक्तिको सपना देखेकाहरूमा आज रुवाबासी हुनु स्वाभाविक छ । संवैधानिक राजा र सार्वभौम सत्तासम्मन संसदका बीचका अन्तरविरोध, नेपाल र भारतका राष्ट्रिय हितका अन्तरविरोध, एमाले र काङ्ग्रेसका अन्तरविरोध, काङ्ग्रेसभित्रैका अन्तरविरोध, एमालेभित्रैका अन्तरविरोध, बाबुराम र वैद्यका अन्तरविरोध, बादल र बाबुरामका अन्तरविरोधका बीचमा कमरेड प्रचण्डको व्यक्तित्व बनेको थियो । एकका विरुद्ध अर्कोलाई प्रयोग गर्न सक्दासम्म उनको प्रचण्डपथ अनुसार सबै कुरा सम्भव हुँदै गएको थियो । कुनै एउटाले सोधेको प्रश्नको उत्तर अर्कोबाट दिलाउन सकिन्थ्यो । राजाको प्रश्नको उत्तर ‘र’ले दिन्थ्यो, ‘र’को प्रश्नको उत्तर राजाले दिन्थे, पुलिसको उत्तर शाही सेनालाई दिन लगाइन्थ्यो, माधव नेपालको प्रश्नको उत्तर गिरिजाले दिँदा हुन्थ्यो । वैद्यका कति प्रश्नको उत्तर बाबुरामको मुखबाट बोल्न लगाइयो, बाबुरामलाई पनि कैयन्पटक वैद्यले उत्तर दिए । अतिरिक्त ‘चलाखी’ भएको व्यक्तिले समाजका सामान्य मानिस र संस्थालाई समेत सजिलै गोलमालमा पार्न सक्छन् । तर जब इतिहासले ती सबै प्रश्नलाई एउटै खाङ्ग्रोमा हालेर त्यो ‘युगीन’ चलाखका अगाडि ठिङ्ग उभिन्छ, त्यसबेला भाग्ने ठाउँ नै रहन्न । अनि अन्तरविरोधमा खेलेर बनेको पार्टी मर्न थाल्छ । यो कदापि संयोग होइन कि आज कमरेड प्रचण्डले नेतृत्व गरेको माओवादी पार्टी ‘मरिरहेको छ’ । र यो पनि महत्त्वपूर्ण छ कि यो कुरा अरूले होइन, स्वयम् कमरेड प्रचण्डले इतिहासको प्रारम्भिक इजलासमा कबोलिरहेका छन् ।
‘नेपालमा नयाँ जनवादी क्रान्तिको राजनीतिक कार्यभार आधारभूत रूपले पूरा भएको छ । अब अर्को नयाँ जनवादी क्रान्ति हुँदैन । त्यसैले अब सेना वा हतियार आवश्यक छैन । यही नै जनवादी राज्यव्यवस्था हो । यसमा सहभागी बन्दै सामाजिक-आर्थिक रूपान्तर र समृद्धिमा केन्दि्रत हुँदै अगाडि बढ्नु नै आजको कार्यभार हो । पुँजीवादी जनवादी राजनीतिक कार्यभार पूरा भएकोले राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादका आधार तयार गर्न अगाडि बढौँ’ भनेर घोषणा गर्नसकेको भए प्रचण्डका भनाइमा सैद्धान्तिक तर्कसङ्गति हुन्थ्यो । पार्टीको छलफल वास्तविक रूपले वैचारिक-सैद्धान्तिक बन्ने थियो । शान्ति र संविधानको काम पनि क्रान्तिलाई संस्थागत गर्ने कार्यभार अन्तर्गत नै हुन्थे । इतिहासको मूल्याङ्कन हुँदै गथ्र्यो । आजको राजनीतिमा उनको इमानदारिता स्थापित हुन्थ्यो । तर उनले यो तथ्यलाई बुझ्न सकेनन् । उनी हिजोजस्तै ‘माओवादी’ पनि बन्न चाहने र आजका परिवर्तनको बाहक पनि बन्न चाहने असम्भव आग्रहले पीडित हुनपुगे । परिवर्तनलाई बुझ्न र व्याख्या गर्न पनि नसक्ने र विद्रोह छोड्न पनि नसक्ने नेतृत्वका कारण गर्दा उत्पन्न हुुने गतिरोधमा पार्टीभित्र विकृतिहरू झाँगिनु वा पार्टी अन्योलको अँध्यारो गुफामा भासिँदै जानु स्वाभाविक हुन्थ्यो, भयो । आफैं अन्योलमा फँसेको नेतृत्वले औपचारिक रूपमा जुन कुरा बोलिरहेको हुन्छ, वास्तविकतामा त्यो हुँदैन । जुन चिज वास्तविक दुनियाँमा छ, त्यो उसले बोलिरहेको हुँदैन । नेताहरूको यो विभाजित व्यक्तित्वबाट अर्थात् सैद्धान्तिक अवसरवादबाट प्रतिक्षित कार्यकर्ताहरूसमेत सिद्धान्तहीन हुँदै गएपछि पार्टीमा सिद्धान्तको नाममा सिद्धान्तहीनता नै उत्पादन हुनथाल्छ, सिद्धान्तहीनतालाई नै सिद्धान्त भन्न थालिन्छ । बरु वास्तविक सिद्धान्तलाई बदनाम गरिन्छ । क्रमशः पार्टीहरू टपरटुइयाँहरूको कब्जामा पर्न जान्छन् । सबैले जानेको कुरा हो, राजनीति भनेको दैनन्दिन शक्ति सन्तुलनको लेखाजोखा हो । सिद्धान्तले निर्देशित नगर्ने बित्तिकै राजनीतिमा धोखा, षडयन्त्र, जालसाजी, कृतघ्नता, खुट्टा तानातान, अनैतिकता, लोभ, ईष्र्याजस्ता चिजमात्रै बाँकी रहन्छन् । संयोग हो वा नियति आज माओवादीले यही भोगिरहेको छ र प्रचण्ड भन्दैछन् ः माओवादी पार्टी मरिरहेछ ।
किन मर्छन्, कम्युनिष्ट पार्टी ? यस्ता कम्युनिष्ट पार्टीहरूको समस्या के छ भने उनीहरू वस्तुगत -वास्तविक) दुनियाँलाई बुझ्नुपर्छ भनेर दोहोर्‍याइरहन्छन्, तर स्वयम्चाहिँ वास्तविक दुनियाँमा आउन चाहन्नन् । ‘फूल हेर्नुछ भने घोडाबाट उत्र’ भन्ने माओको उक्ति दोहोर्‍याउँछन्, तर आफैंचाहिँ घोडाबाट उत्रिन्नन् । उनीहरू घोडाबाट उत्रेर माओको अनुशरण गर्ने भएर होइन, बरु माओको उक्ति कण्ठस्थ गरेकाले आफूलाई माओवादी भन्ठान्छन् । खासगरी क्रान्तिबारे ती कम्युनिष्टहरू कस्तो घातक भ्रममा छन् भने वास्तविक जीवन र अवास्तविक क्रान्तिमध्ये उनीहरू क्रान्ति नै रोज्न पुग्छन् । लेनिन र माओले अबको दुनियाँमा पुँजीपति वर्गले पुँजीवादी क्रान्तिसमेत गर्न सक्दैन, त्यसैले पुँजीवादी क्रान्तिको कार्यभार पनि सर्वहाराको एकलौटी काँधमा आएको छ भनेका थिए । कम्युनिष्ट साहित्यमा त्यसको अर्थ के हुनगयो भने कुनै पनि पुँजीवादी क्रान्तिको नेता सर्वहारा वर्ग वा कम्युनिष्ट पार्टी हुन्छ, अर्थात् कम्युनिष्ट पार्टीको नियन्त्रणमा छैन भने कुनै पनि राजनीतिक आन्दोलन क्रान्तिको स्तरमा विकसित हुनै सक्दैन ।
विश्व क्रान्तिको सन्दर्भमा औपनिवेशिक साम्राज्यवादको कालमा देखापरेको एउटा परिदृश्यका आधारमा लेनिन र माओहरूले बनाएको उक्त मान्यता नै त्यसपछि संसारभरिका ‘नयाँ जनवादी’ वा ‘राष्ट्रिय जनवादी’हरूका लागि क्रान्तिको सर्वोत्तम सूत्र हुनपुग्यो । त्यस नजरबाट समाज र राजनीतिलाई हेर्ने कम्युनिष्टहरूका लागि साम्राज्यवादले गरेको शोषणको महत्त्व छ, तर औपनिवेशिक साम्राज्यको पतनको कुनै खास अर्थ छैन । हिजोको सामन्तवाद सत्य हो, तर त्यसको उन्मूलन उल्लेख्य घटना होइन । हिजोको पुँजीवादी शोषणको विश्लेषण गर्नुपर्छ, तर आजको पुँजीवादलाई नबुझे पनि हुन्छ । सोभियत समाजवाद ऐतिहासिक परिघटना हो, तर त्यसको पतनको कुनै ठूलो अर्थ छैन । उनीहरू माओले भनेकोसम्म कण्ठै बताउन सक्छन्, तर आफ्नै समाजबारे कम बोल्छन्, किनकि हाम्रो समाजबारे माओत्सेतुङले केही भनेका थिएनन् । उनीहरू प|mान्सेली राज्यक्रान्तिबारे कमबेसी बताउन सक्छन्, रूसी क्रान्तिका घटना धेरैलाई कण्ठै छ, चीनबारे उनीहरूले यसरी व्याख्या गर्छन्, मानौँ त्यो उनीहरूको आफ्नै जीवनको घटना थियो । तर आफ्नै समाजबारे भने अति कम अध्ययन-अनुसन्धान वा विचार-विमर्श गर्छन् ।
क्रान्तिको विश्व साहित्यमा प|mान्सेली राज्यक्रान्तिको ठूलो महत्त्व छ । तर ००७ सालको क्रान्तिले खेलेको भूमिका नेपाली इतिहासको सानोतिनो घटना थिएन । त्यहाँ रक्तपात बढी भयो, यहाँ थोरै, त्यहाँको सामन्ती व्यवस्था बढी संगठित थियो, यहाँको कमजोर, त्यहाँ राजतन्त्र गयो, यहाँ राणातन्त्र गयो । त्यसमा क्रान्तिकारी घनत्व बढी थियो, यहाँ कम थियो । त्यो क्रान्ति पुरानो र नयाँ प|mान्सको सीमारेखा थियो भने ००७ साल पुरानो र नयाँ नेपाली समाजको पानीढलो थियो । प|mान्सेली क्रान्तिको सबैभन्दा ठूलो उपलब्धि सबै नागरिकले पाएको सावधिक मताधिकार थियो भने ००७ ले पनि त्यसको घोषणा गरेको थियो । नेपालका ती कम्युनिष्टहरूका लागि प|mान्सेली राज्यक्रान्ति महान घटना हो भने ००७ सालको घटना ‘पुरानै बोतलमा नयाँ रक्सी’जस्तै हो वा सामान्य घटना हो । सन् १९०५ को रूसी राजनीतिक घटना क्रान्ति हो, किनकि लेनिनले त्यसै भनेका थिए । वास्तवमा ००७ सालमा नेपाली जनताले जुन उपलब्धि पाएका थिए, त्यसको तुलनामा १९०५ मा रूसी जनताले केही पनि पाएका थिएनन् । त्यस्तै सन् १९११ मा चीनमा भएको परिवर्तन क्रान्ति थियो, किनकि यो कुरा माओले भनेका थिए । तर नेपालमा ०४७ मा भएको उनीहरूका लागि ठूलो कुरा होइन । निरङ्कुश राजतन्त्र भएको सामाजिक-आर्थिक-राजनीतिक अवस्था र कम्युनिष्ट पार्टीले समेत चुनावद्वारा सरकार बनाउनसक्ने सामाजिक- आर्थिक-राजनीतिक अवस्था उनीहरूका लागि उस्तै भयो । जबकि माओले ‘अब सर्वहारा वर्गले बाहेक अरू कसैले पुँजीवादी क्रान्ति गर्न सक्दैन’ भनेपछि जति मुलुकमा कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्ति भए, त्योभन्दा बढी मुलुकमा पुँजीपति वर्गको नेतृत्वमा पँुजीवादी क्रान्ति भए । पूर्वी एसिया, अरब मुलुकहरू र ल्याटिन अमेरिकाका कैयन् मुलुकहरूमा भएका क्रान्तिहरू नै यसका ज्वलन्त उदाहरणहरू हुन् । तिनै मुलुकमा समेत क्रान्तिबारे लेनिन र माओका उक्तिमा टाँसिएर बस्ने कम्युनिष्टहरूले क्रान्तिका कार्यभार बुझ्न सकेनन्, जसले गर्दा कम्युनिष्ट पार्टीहरू एकलकाँटे, पुरातनपन्थी, जड हुँदै गए र जनताबाट अलग्गिँदै गए । अर्थात् कम्युनिष्ट पार्टीहरू ‘मर्दै’ गए ।

ँनयाँ जनवादी’ क्रान्ति भइसक्यो, यसलाई जोगाऊ
कस्तो विडम्बना छ भने क्रान्ति भइसकेको हुन्छ, तर उनीहरू फेरि पनि ती कम्युनिष्टहरू क्रान्तिकै कुरा गर्छन् । जस्तो कि भारतमा सन् १९४७ मा भएको परिवर्तन राष्ट्रिय स्वतन्त्रतामात्रै थिएन, पुँजीवादी राजनीतिक क्रान्ति पनि थियो । तर त्यहाँका कम्युनिष्टहरूले त्यसको महत्त्वलाई बुझेनन् र फेरि पनि ‘नयाँ जनवादी’ वा ‘राष्ट्रिय जनवादी’ क्रान्ति गर्नुपर्छ भनिरहे । सम्पन्न भइसकेको क्रान्ति दोहोर्‍याउने ध्याउन्नमा भारतमा तेलङ्गाना विद्रोहदेखि अहिलेसम्म लाखौँको सङ्ख्यामा मानवजीवनको लेनदेन भयो । चीनमा त्यही क्रान्ति कम्युनिष्टहरूको नेतृत्वमा भएको थियो भने भारतमा पुँजीपति वर्गको नेतृत्वमा भयो भन्ने कुराको भेउ नै पाएनन् । जसमा कम्युनिष्टहरूको समेत महत्त्वपूर्ण योगदान थियो । आफ्नै आँगनमा ५० वर्षअघि सम्पन्न भएको क्रान्तिबारे उनीहरू अझैसम्म पनि अनभिज्ञजस्तै छन् । सर्वहारा वर्गको प्रतिनिधि भनिएको कम्युनिष्ट पार्टीले चुनावद्वारा सरकार बनाउनसक्ने सामाजिक-आर्थिक अवस्थालाई समेत उनीहरूले सामन्ती वा अर्ध-सामन्ती भनेर त्यसैलाई ‘ध्वस्त’ गर्ने सपना देखे । पश्चिम बङ्गाल र केरलामा उनीहरूले जे गरेका थिए, ती धेरै महत्त्वपूर्ण थिए, तर उनीहरूले नै आफ्ना उपलब्धिको अवमूल्यन गरे । उनीहरूले त्यसलाई ‘सुधार’मात्रै भने र क्रान्ति त भएकै छैन भने । कम्युनिष्टहरू अर्को राजनीतिक क्रान्तितिर लागे, जबकि त्यो सम्पन्न भइनैसकेको थियो । जुन गरेका थिए, त्यो ‘सामान्य’ वा ‘उस्तै’ भयो, जुन हुनै सक्दैनथ्यो, त्यो ‘महत्त्वपूर्ण’ वा ‘क्रान्तिकारी’ भयो । यसरी ‘सुधार’ जीवनको वास्तविकता र ‘क्रान्ति’ केवल सपनाको नारा बन्दै गयो । उनीहरूले जुन काम गरेका थिए, त्यसको महत्त्वलाई अझ स्थापित गर्दै र जनताको पक्षमा त्यस्ता काम अझ धेरै गर्दै गएका भए आज उनीहरूको अवस्था अर्कै हुन्थ्यो । पहिले उनीहरूले काम गरेर भोट अत्यधिक भोट पाउँथे । उनीहरू आफैंले गरेका काम महत्त्वहीन भएपछि जनताले किन भोट दिनुपर्‍यो र ! तर भोट घट्दै गएपछि त्यही भोटका लागि अरूले जस्तै धाँधली गर्नुपर्ने अवस्थामा पुगे । ‘क्रान्ति’ का लागि चुनावमा धाँधली गर्नुपर्ने भयो । स्वतन्त्रता संग्रामका बेलाको भारतीय साहित्यको वैचारिक दिशा निःसन्देह रूपले वामपन्थी थियो । उनीहरू लोकपि्रय पनि थिए । तर आज त्यहाँ किन वामपन्थी भोट घट्दै गयो ? उनीहरूको औपचारिक मूल्याङ्कनलाई विश्वास गर्ने हो भने ‘साम्राज्यवाद र अरू शत्रुहरूले षडयन्त्र गरेर’ कम्युनिष्टहरूको भोट कम आएको हो । त्यसलाई मान्न सकिन्छ । तर त्योमात्रै सही हो भने त साम्राज्यवादले षडयन्त्र गर्न छोडेपछि मात्रै क्रान्ति हुने भयो !
आज नेपालमा त्यही भएको छ । नयाँ जनवादी वा लोकतान्त्रिक वा जनतान्त्रिक वा प्रजातान्त्रिक जे भने पनि ०६२/६३ मा जे भयो, त्यो पुँजीवादी क्रान्ति नै हो । ०४७ सालमा जे भएको थियो, आधारभूत रूपले त्यो पनि पुँजीवादी जनवादी क्रान्ति नै थियो । त्यसमा केही सीमा थिए । ती सीमालाई मदन भण्डारीले संविधानमा रहेका आलोचनात्मक पक्ष भनेर आलोचना गरेका थिए, अर्थात् त्यो अझै पूर्ण भएको छैन भन्ने उनको भनाइ थियो । तर आधारभूत रूपमा त्यो जनक्रान्तिको उपलब्धि थियो । जनक्रान्तिको परिभाषाबारे १९१७ मै लेनिनले ‘बहुसंख्यक जनताले भाग लिएको’ राजनीतिक आन्दोलनलाई जनक्रान्ति भनेका थिए । अझ ०६२/६३ को आन्दोलनमा त बहुसंख्यक जनताले भागै लिएको कुरा सबै पार्टीले आआफ्ना प्रतिवेदनमा लेखेका छन् । सन् १८८० को दसकमै एङ्गेल्सले प्रजातन्त्रले गणतन्त्रमा पूर्णता पाउँछ भनेर राजनीतिक आन्दोलनको व्याख्या गरिसकेका थिए । तर विडम्बना के छ भने नेपालका ती कम्युनिष्टहरूका लागि ०६२/६३ ले गणतन्त्रको स्थापनासमेत क्रान्ति बन्नसकेको छैन ।
२०४७ को क्रान्तिकारी महत्त्वलाई कम्युनिष्टहरूले बुझेको भए आज ‘विदेशी प्रभु’ले नेपालको राजनीतिलाई निर्देशित गर्ने अवस्था आउँदैनथ्यो, साम्राज्यवादी पैसाको बलमा अन्ध-जातिवादी/विखण्डनवादी सामाजिक भाँडभैलो हुँदैनथ्यो । शान्तिपूर्ण र प्रजातान्त्रिक बाटोबाटै सामाजिक न्याय र राष्ट्रिय स्वतन्त्रताको अझै फराकिलो अभ्यासका साथ नेपाल धेरै अगाडि पुग्थ्यो । कतिपय सीमाहरू थिए, तर त्यसको चरित्र मूलतः ‘लोकतान्त्रिक’ र ‘राष्ट्रिय’ थियो । यो लाक्षणिक छ कि ०४७ सालको प्रजातन्त्र मासेर ‘नयाँ जनवाद’ ल्याउन प्रचण्डले ‘विस्तारवादी’ भारतमा ‘सेल्टर’ पाएका थिए, सिमानापारिबाट ट्रकहरूमा विस्फोटक पदार्थहरू भित्रिन सम्भव भएको थियो । अहिले फेरि धेरै ठूलो राष्ट्रिय र सामाजिक मूल्यमा पाएको गणतन्त्रसमेत आज बेवारिस बन्दै गएको छ । नेपालमा प्राप्त गरिएको ‘नयाँ जनवादी राजनीतिक व्यवस्था’ संकटमा छ ।

सिद्धान्तमा र्फक, माक्र्सवादमा र्फक
माक्र्सवादी सिद्धान्तको नजरबाट नेपाली समाजलाई हेरिएको भए ०४७ सालपछिको ‘जनयुद्ध’ गरेर राष्ट्रिय जीवनशक्तिलाई कमजोर पार्ने उपक्रमतर्फ माओवादीहरू लाग्दैनथे । आज मुलुकले जुन राजनीतिक उपलब्धि पाएको छ, त्यसका लागि १६ हजार नागरिकहरूको बलिदान कुनै हिसाबले पनि जरुरी थिएन । आज माओवादी राजनीतिलाई हेर्दा के देखिन्छ भने किरणले माओवादमात्रै बुझे, माक्र्सवादमा टेकेनन् । प्रचण्डले माओवाद छोडेर भाग्दैछन्, तर माक्र्सवाद समातेनन् । अहिले प्रचण्ड मैदानबाट भगाइलाई नै सिद्धान्त भन्दैछन्, उता किरणहरू माओवादलाई नै माक्र्सवाद भन्दैछन् । सिद्धान्तको प्रश्नमा घर न घाट भएका प्रचण्ड पार्टीबाहिर सहारा खोज्दैछन् । उनका लन्डन, मलेसिया, सिङ्गापुर वा सिलिगुडी भ्रमणहरू सिद्धान्तबाट भागेर समाधान खोज्न गरिएका प्रयास हुन् । मधेसी मोर्चाको बाबुराम सरकार पनि त्यसकै उपज थियो । एकबेला वानेश्वरको चोकमा उभिएर उनले विश्व मानचित्रमा भारत भन्ने कुनै अवाञ्छित क्षेत्र राखिएको छ जस्तोगरी भाषण गर्थे, अहिले भारतलाई ‘रामनाम’जस्तै एकमात्र सत्य मान्न थालेझैँ देखिन्छ ।
जे भए पनि ‘महान जनयुद्ध’को उत्थान र पतनको कथा भारतकै वरिपरि छ । अझै पनि शान्ति र संविधानलाई सिद्धान्तभित्रै राखेर हेरेनन् भने शान्ति र संविधानप्रति उनले अहिले देखाएको प्रयास अर्को एउटा चतुर्‍याइँमात्रै हुनेछ । भविष्यको जुन मुरादका लागि उनले यो सबै गर्दैछन्, अब सबैले बुझ्न थाले । धेरैजसो सपेराहरूको मृत्यु साँपले टोकेर हुने गरेको छ । जादुगरहरू आफ्नै जादुटुनामा पर्न सक्छन् । भनिन्छ, जाडोमा कठयाङ्गि्रएको भ्यागुतोलाई मनतातो पानीमा राख्दा आनन्द मान्छ । विस्तारै तातोपानी थप्दै जाँदा पनि उसलाई आनन्द नै लाग्छ । तर जब भ्यागुतोलाई असह्य हुन्छ र तातोपानीबाट निस्कन चाहन्छ, ऊ पानीबाट निस्कनै सक्दैन र मर्छ । अहिले प्रचण्डलाई भएको ‘फाइदा’ सिद्धान्तहीनताको न्यान्योमात्रै हो । सिद्धान्तहीनताको यस विसङ्गतिबाट बाहिर निस्कने एउटामात्रै र सबैभन्दा सजिलो बाटो सिद्धान्तमा र्फकनु नै हो, माक्र्सवादमा र्फकनु हो ।
लेखक एमाले पोलिटब्युरो सदस्य हुन।

-कान्तिपूरबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here