हाँक साप्ताहिकलाई ‘प्राइभेट लिमिटेड’मा लैजान मान्नुभएन – सिंह
हाँकलाई सधैं झैं पार्टीले नै चलाउनु पर्छ – थापा
काठमाडौं,
करिब पाँच दशकदेखि नेकपा मसालमा काम गर्दै आएका हाँक साप्ताहिकका प्रधान सम्पादक गोबिन्दसिंह थापालाई पार्टीबाट निस्कासन गरिएको छ । मसालका महामन्त्री मोहनबिक्रम सिंहले बुधबार एक विज्ञप्ती जारी गर्दै अनिश्चित कालकोलागि पार्टीको साधारण सदस्यताबाट समेत निस्कासित गरिएको बताउनुभएको छ ।
करिव साढे तिन दशकदेखि पार्टीको गोविन्दसिंह थापाको नाममा रहेको हाँक पार्टीले चलाउँदै आएको उल्लेख गर्दै सिंह भन्नुहुन्छ- अहिले उक्त हाँक साप्ताहिकलाई प्राइभेट लिमिटेड बनाएर चलाउन पार्टीले दिएको निर्देशन पालना नगरेकोले उहाँलाई पार्टीबाट निस्कासन गरेको बताउनुभएको छ ।
यसैबिच हाँक साप्ताहिकका प्रधान सम्पादक थापाले वक्तव्य जारी गर्दै हाँकलाई जसरी आजसम्म पार्टीले चलाएको छ त्यसैगरी पार्टीले नै चलाउनु पर्छ । कुनै प्राइभेट कम्पनीलाई जिम्मा लगाउईनु हुन्न भनेर भन्दा आफूमाथि प्रतिशोधपूर्ण डण्डा चलाईएको बताएका छन्
(महामन्त्री सिंहको वक्तब्यको पूर्ण पाठ-
“२०७६ भाद्र ५ गते बसेको नेकपा (मसाल) को पिबीको बैठकले गोविन्दसिंह थापालाई अनिश्चित कालका लागि पार्टीको साधारण सदस्यताबाट समेत निस्कासित गर्ने निर्णय गरेको छ । उहाँले पुगनपुग ५ दशकदेखि हाम्रो पार्टीमा काम गर्दै आउनु भएको थियो । भारतमा अखिल भारत नेपाली एकता समाजको विस्तारमा उहँँको महत्वपूर्ण योगदान रहेको थियो । उहाँ लामो समय नेकपा (मसाल) को केन्द्रीय समिति र केही समयसम्म वैधानिक मोर्चाको केन्द्रीय उपाध्यक्ष भएर काम गर्नु भएको थियो । उहाँले करिब साढे तीन दशकदेखि हाम्रो वैधानिक साप्ताहिक पत्रिका ‘हाँक’ को प्रकाशक तथा प्रधान सम्पादकको रूपमा काम गर्दै आउनु भएको थियो । उहाँ जस्तो व्यक्तिलाई पार्टीको सामान्य सदस्यताबाट समेत निस्कासित गर्नु पर्दा हामीलाई धेरै दुःख लागेको छ । तैपनि उहाँले सहिद शोभाखर धनञ्जय र उहाँको परिवार शान्ता भुसालसित जुन ठुलो विश्वासघात गर्नु भयो र पार्टीले उहाँमाथि गरेको विश्वासमा जति निम्न स्तरमा उत्रिएर धोका दिने काम गर्नु भयो, त्यसले गर्दा हामी उहाँमाथि त्यस प्रकारको कडा कारवाही गर्न बाध्य भएका छौँ ।
हाँक साप्ताहिकलाई कामरेड शोभाखर धनञ्जयले स्थापना गर्नु भएको थियो । उहाँको निधनपछि उहाँकी पत्नी शान्ता भुसालले नेकपा (मसाल)लाई हस्तान्तरण गर्नु भएको थियो । पञ्चायती कालमा हाम्रो पार्टीमाथि प्रतिबन्ध थियो । हाम्रो पार्टीका त्यो बेलाका केन्द्रीय सदस्य गोविन्दसिंह थापालाई प्रकाशक र प्रधान सम्पादक बनाएर त्यसलाई सञ्चालन गर्दै आएका थियौँ र त्यसको करिव साढे तीन दशकको गौरवमय इतिहास पूरा भएको छ । यो अवधिमा देशका कैयौँ पत्रपत्रिका वा महत्वपूर्ण साप्ताहिकहरू बन्द भए । तर हाँक निरन्तर प्रकाशित भइरह्यो । त्यस प्रकारको निरन्तरतामा देशभरका प्रवासका वा विदेशका पनि पार्टीका सदस्य, समर्थक विभिन्न मोर्चा वा जनवर्गीय सङ्गठन वा शुभेच्छुकको ठुलो योगदान रहेको छ । त्यस प्रकारको योगदानको कारणले नै हाँक कैयौँ ठुलो सङ्कट पार गर्दै निरन्तर रूपले प्रकाशित हुँदै आएको थियो । अहिलेसम्म त्यसको प्रकाशनको निरन्तरता दिन देश वा देशबाहिरका विभिन्न साथीहरूको जुन महत्वपूर्ण योगदान रह्यो, ती सबैलाई हाम्रो पार्टीले धन्यवाद दिन्छ र उहाँहरूप्रति आभार प्रकट गर्दछ । त्यसरी अहिलेसम्म हाँकको प्रकाशनलाई जुन साथीहरूले ठुलो योगदान दिनु भयो, उहाँहरू सबैलाई पनि गोविन्दसिंह थापाले धोका दिनु भएको छ । त्यो पत्रिकाको प्रकाशनमा अहिलेसम्म उहाँको एक रूपियाँ पनि लगानी भएको छैन तर सम्पूर्ण रूपले सामूहिक रूपले चलेको साप्ताहिकलाई उहाँले आफ्नो व्यक्तिगत सम्पत्ति बनाउन पुग्नु भएको छ ।
महाधिवेशन पहिले अर्थात् करिब एक वर्ष पहिले बसेको केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले हाँकलाई गोविन्दसिंह थापाको स्वामित्वबाट हटाएर सहकारी वा प्रालिका रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यो बेला उहाँ पनि केन्द्रीय समितिको सदस्य हुनु हुन्थ्यो र उहाँले पनि त्यो निर्णयमा सहमत हुनु हुन्थ्यो । हाँकलाई त्यसरी सहकारी वा प्रालि जेमा लगे पनि त्यसको अध्यक्ष उहाँलाई नै बनाउने समझदारी पनि भएको थियो । पहिलेको केन्द्रीय समितिको उपर्युक्त निर्णयलाई कार्यान्वयन गर्नलाई हाँकको सञ्चालक समितिका सदस्य र स्टाफ समेतको बैठक बसेको थियो । त्यो बैठकमा गोविन्दसिंह थापाले पहिलेकै जस्तै गरेर हाँकलाई प्रकाशित गर्न तयार भएको तर प्रालिमा लैजान सहमत नभएको विचार उहाँले प्रकट गर्नु भयो ।पछि उहाँसित पार्टीले लिखित स्पष्टीकरण नै मागेर पठायो । पार्टीले पठाएको पत्रको जबाफमा उहाँले लेखेर पठाएको स्पष्टीकरण पत्र यस प्रकार छ–
का. महामन्त्री, नेकपा (मसाल) केन्द्रीय कार्यालय
विषय ः स्पष्टीकरणबारे ।
महोदय,
उपरोक्त विषयमा श्रावण १७ गतेको पत्र श्रावण २४ गते प्राप्त भयो । वैधानिक साप्ताहिक प्रकाशनको सम्बन्धमा मैले प्रालिमा नलगेर अहिले कै प्रकाशन व्यवस्थालाई निरन्तरता दिने भनेर प्रकट गर्ने विचार अनुशासनविहीन र अनैतिक हुँदैन ।
भवदीय
क. नरेश
त्यसरी उहाँले हाँकलाई प्रालिमा लैजाने निर्णयलाई मान्न अस्वीकार गर्नु भयो र त्यसलाई पहिले जस्तै गरेर अर्थात् उहाँको स्वामित्वमा उहाँ प्रकाशक र प्रधान सम्पादक भएर त्यसको प्रकाशनलाई निरन्तरता दिने कुरामा मात्र उहाँले आफ्नो सहमति प्रकट गर्नु भयो । त्यसरी कामरेड धनञ्जय र उहाँकी पत्नीले पार्टीलाई सुम्पिएको, पार्टीले उहाँमाथि विश्वास गरेको, देश र देशबाहिरका पार्टी सदस्य, समर्थक वा शुभेच्छुकहरूको सहयोगमा चल्दै आएको र उहाँको एक रूपियाँ पनि लगानी नभएको सामूहिक सम्पत्तिलाई व्यक्तिगत सम्पत्ति गराउन खोज्ने कार्यले उहाँको अत्यन्त निम्नस्तरको चरित्रलाई नै बताउँछ ।
हामीले पहिलेदेखि नै यो कुरा प्रष्ट गर्दै आएका छौँ, पार्टी सदस्यहरूको नाम दुई अवस्थामा सार्वजनिक गरिन्छ ः प्रथम– कुनै पार्टी सदस्यको निधन भएमा, द्वितीय– कुनै पार्टी सदस्यलाई कारवाही गरेर अनिश्चित कालका लागि पार्टी सदस्यताबाट निस्कासित गरिएमा । अहिले उहाँलाई अनिश्चित कालको लागि पार्टी सदस्यताबाट निस्कासित गरिएको हुनाले उहाँको नाम सार्वजनिक गरिएको छ । उहाँमाथि गरिएको कारवाहीबाट यो कुरा प्रष्ट हुन्छ ः हाम्रो पार्टीका नियम र अनुशासन अत्यन्त कडा हुन्छ र गल्ती गर्नेहरूमाथि बिना पक्षपात वा कुनै पूर्वाग्रह बिना कारवाही गर्ने गरिन्छ । यहाँ यो उल्लेखनीय छ कि उहाँ (गोविन्दसिंह थापा) वा महामन्त्रीका साख्खै मामा हुनु हुन्छ । तर त्यो नाताका कारणले पनि उहाँलाई कुनै छुट दिइएन । त्यसबाट पार्टीभित्र कुनै निर्णय गर्दा कुनै पनि प्रकारको पक्षपात वा भेदभाव गरिन्न भन्ने कुरा प्रष्ट हुन्छ ।
गोविन्दसिंह थापाको सन्दर्भमा माओको एउटा भनाइको उल्लेख गर्नु शायद अप्रासङ्गिक हुने छैन । त्यो भनाइअनुसार कुनै व्यक्ति कम्युनिस्ट पार्टीको सदस्य बने पनि सबै जना पुरै कम्युनिस्ट हुँदैनन् र उनीहरू बेग्लाबेग्लै कमबेसी मात्रामा नै कम्युनिस्ट बनेका हुन्छन् । कोही ५ प्रतिशत मात्र कम्युनिस्ट बनेका हुन्छन् भने कोही १०, २०, ३०, ४०, ५०, ६०, ७०…. प्रतिशत पनि बनेका हुन्छन् । ८०, ९० जस्ता उच्च प्रतिशतमा कम्युनिस्ट बन्ने त कोही कोही मात्र हुन्छन् । १०० प्रतिशतको कुरा त धेरै टाढाको कुरा हो । कुनै व्यक्ति थोरै समयमा मात्र काम गरेर पनि उनीहरूमा उच्च प्रतिशतमा कम्युनिस्ट चरित्रको विकास हुन सक्दछ भने कतिपय व्यक्तिहरू ३०÷४० वा ५०÷६० वर्ष काम गरे पनि उनीहरू अत्यन्त कम प्रतिशत मात्र कम्युनिस्ट बनेका हुन्छन् । कैयौँ देशमा र नेपालमा पनि पार्टीको उच्च पदमा पुगेका सिसिएम, पिबिएम वा महामन्त्री समेत भएका कैयौँ कम्युनिस्टहरूको पतन भएका थुप्रै उदाहरण पाइन्छन् । त्यही प्रकारको एउटा उदाहरण गोविन्दसिंह थापाले प्रस्तुत गर्नु भएको थियो । त्यस्ता सबै नकारात्मक उदाहरणबाट हामीले शिक्षा लिने प्रयत्न गर्नु पर्दछ । गोविन्दसिंह थापाको उदाहरण हाम्रो नजिकैको र ताजा उदाहरण हो । त्यस प्रकारको गोविन्दसिंह थापाको नकारात्मक उदाहरणबाट हामीले शिक्षा लिनु पर्दछ । हामीले कोशिस गर्नु पर्दछ कि त्यस्ता व्यक्ति पार्टीमा नआउन् र पार्टीलाई बारम्बार धोका नदिउन् । कोही त्यस्तो व्यक्ति पार्टीमा आइहाले पनि त्यस्ता व्यक्तिलाई समयमा नै चिन्न हामीमा उच्च प्रकारको सतर्कता हुनुपर्दछ ।
अन्तमा, हामीले क. धनञ्जय र क. शान्ता भुसालप्रति श्रद्धाञ्जली तथा आभार प्रकट गर्दछौँ, जसले आफ्नो सम्पत्ति पार्टीलाई सुम्पिनु भएको थियो । यसका लागि हामीले दुःख प्रकट गर्दछौँ, उहाँको नासोलाई हामीले बचाउन सकेनौँ । तैपनि हामीले यो विश्वास प्रकट गर्दछौँ कि युगदर्शन साप्ताहिकले हाँकको गौरवर्पूण इतिहासलाई अगाडि बढाउने छ ।”
यसैबिच हाँक साप्ताहिकका प्रधान सम्पादक थापाले वक्तव्य जारी गर्दै हाँकलाई जसरी आजसम्म पार्टीले चलाएको छ त्यसैगरी पार्टीले नै चलाउनु पर्ने बताउनु भएको छ । कुनै प्राइभेट कम्पनीलाई हाँक जिम्मा लगाउईनु हुन्न भनेर आवाज उठाउँदा आफूमाथि प्रतिशोधपूर्ण ढंगले डण्डा चलाईएको बताएका छन् ।
(हाँक साप्ताहिकका प्रधान सम्पादक थापाको वक्तव्यको पूर्ण पाठ-
ने.क.पा.(मसाल) को २०७६ भाद्र ५ गते बसेको पी.वी.को बैठकले “गोविन्दसिंह थापालाई पार्टी सदस्यताबाट समेत अनिश्चितकालका लागि निष्काशित गरेको” कुरा हिजो भाद्र १० गते जारी पार्टीको वक्तत्वबाट मलाई जानकारी हुन आएको छ । यो मेरो लागि कुनै अप्रत्यासित र अनपेक्षित विषय होइन, लामो समयदेखि पार्टीभित्र क्रान्तिकारी वामपन्थी र दक्षिणपन्थी विचारका बीचमा चलेको तीब्र संघर्षको सिलसिलामा आठौं महाधिवेशन भन्दा पहिले धेरै कमरेडहरु निलम्वन र निष्काशनमा पर्नु भएको थियो भने महाधिवेशन पछिको अवस्थामा पहिलो प्रहार ममाथि गरिएको छ । यसबाट देश विदेश रहने कुनै पनि कमरेडहरु नआत्तिन, उत्तेजित नहुन र अनुशासित ढंगले काम गर्न म हार्दिक अपिल गर्दछु । किनकि यो भित्री पार्टी संघर्ष निरन्तर चलिरहने कुरा हो ।
हाम्रो पार्टीको आठौं महाधिवेशनमा अल्पमतको र बहुमतका विचारमा व्यापक छलफल भएको थियो । त्यो बेला म अल्पमतको क्रान्तिकारी वामपन्थी विचारको पक्षमा उभिएको थिँए । म बहुमतको दक्षिणपन्थी लाइनमा उभिएको भए सायद म निष्कासित हुने अवस्था आउने थिएन । महाधिवेशनमा प्राविधिक बहुमत जुटाएर दक्षिणपन्थी विचार पारित गराउने महामन्त्रीले महाधिवेशनपछि पनि अल्पमत पक्षका कमरेडहरुलाई एक एक गरेर अनेक प्रकारले प्रताडित गरिराख्नु भएको छ र महाधिवेशनदेखि नै अल्पमतले पार्टी फुटाउछ भनेर हल्ला गरिरहनु भएको छ । तर अल्पमतले उहाँले भने जस्तो गरी पार्टीलाई फुटाउने कहिल्यै प्रयत्न गरेन । आफूले भविष्यवाणी गरेजस्तो नभएपछि महामन्त्री यतिबेला अतालिनु भएको छ । महाधिवेशनपछि त्यो संघर्षलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोंचाई महामन्त्रीमा कहिल्यै देखिएन । एकातिर सिद्धान्ततः पार्टीभित्र दुई लाइन संघर्ष एउटा जीवित पार्टीभित्र चलिरहने कुरा हो भनेर स्वीकार गर्ने अर्काेतिर, पार्टीभित्र एकमनावाद लाद्न खोज्ने, यो दार्शनिकरुपले अधिभूतवादी र व्यवहारमा सामन्तवादी पद्धति हो । यो पद्धतिललाई मैले मात्र होइन, पार्टीभित्रका हजारौं पार्टी सदस्यहरुले विरोध गर्दै आउनु भएको छ । यो अधिभूतवाद, सामन्तवाद र प्राधिकारवादको विरुद्धको भित्री पार्टी संघर्षलाई रोक्नका लागि मलाई कार्वाही गर्दैमा रोकिन्छ भन्ने सोंच्नु सूर्यलाई हत्केलाले छेक्नु सरह हुनेछ । फरक विचारलाई सम्मान नगर्ने, कार्यकर्ताहरुलाई उचित जिम्मेवारी नदिने भिन्न विचारको सवालमा छलफल नगर्ने र जनवादी केन्द्रियताको सही प्रयोग नगरेर सबैलाई कार्वाही गरेर नै तह लगाउन सकिन्छ भन्ने सोंच्नु लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत कुरो हो । यसले एकातिर पार्टीलाई विसर्जनवाद तर्फ धकेल्दै छ भने अर्कोतर्फ क्रान्तिकारी विचारलाई योजनाबद्ध किसिमले छिन्नभिन्न पारिंदैछ ।
महामन्त्री कमरेडले विज्ञप्तिमा लेख्नुभएको छ गोविन्दसिंह थापाले “पहिले कै जस्तो गरेर हाँकलाई प्रकाशित गर्न तयार भएको तर प्रालिमा लैजान तयार नभएको” भन्ने उल्लेख गर्नु भएको छ । मैले प्रालिमा हाँकलाई लैजानु हुन्न भनेर अस्वीकार गरेकै हो । यो पत्रिका पार्टीकै निर्देशनमा मेरो नाममा दर्ता भएको हो । यो पत्रिकाको स्थापना शहिद शोभाखर धनञ्जय (सरोज शर्मा) ले गर्नुभएको थियो । कैयौं पटक पंचायती तानाशाही व्यवस्थाको आक्रमणको शिकार बन्न पुग्यो । त्यसको बाबजुद पनि क्रान्तिकारी विचारलाई निरन्तर जनतामा प्रवाह गर्दै आएको यसको गौरवपूर्ण इतिहास छ । पार्टी केन्द्रमा दक्षिणपन्थी विचार हावी भएपछि पत्रिकालाई प्रालिलाई दिने प्रस्ताव आएको थियो । तर मैले त्यसलाई स्वीकार गरिन । यो पार्टीकै पत्रिका हो । पार्टीबाटै चलाउनुपर्छ भन्ने मेरो मान्यता हो । यहाँसम्म हाँकको यात्रालाई निरन्तरता दिन र अहिले “क” वर्गमा स्थापित गर्नमा हजारौं कार्यकर्ता र शुभचिन्तकहरुको खुन पसिना भिजेको छ र अहिले पनि पटक पटक कार्यकर्ता र शुभचिन्तकहरुको सहयोगबाट चलिरहेको छ । यो अवस्थामा कुनै कम्पनीको जिम्मा लगाएर हाँक प्रकाशनबाट पार्टी पन्छिनु हुँदैन भन्ने मेरो मान्यता हो । हाँकको प्रकाशक र सम्पादक म भए पनि मबाट कुनै प्रकारको निर्देशन जाने गरेको छैन । त्यसको पछिल्लो उदाहरण वर्ष ३६ अंक ४० मा मेरो विरुद्ध महामन्त्रीको वक्तव्य तथा जिम्मेवार कमरेडहरुका लेखहरु प्रकाशित हुनुले पनि त्यो कुरा स्पष्ट पार्दछ । मैले पार्टीलाई पत्रिका नदिएको कसरी भयो ? म पार्टी केन्द्रसित सोध्न चाहन्छु, शहिद शोभाखर धनञ्जय र उहाँकी पत्नीले हामीलाई हस्तान्तरण गरेको क्रान्तिकारी विचार बोकेको पत्रिकालाई पार्टीले चलाउनु पर्छ कि कम्पनीलाई जिम्मा दिएर पन्छिनुपर्छ ? एउटा क्रान्तिकारी विचार बोकेको पत्रिकालाई कम्पनीलाई संचालन गर्न दिनु अनुशासनविहीनता पनि नहुने र अनैतिक पनि नहुने । तर पार्टीको हातको पत्रिका कम्पनीलाई दिन नखोज्नु कसरी अनुशासनविहीन र अनैतिक हुन्छ ? मैले महामन्त्रीलाई अहिले पनि भन्न चाहन्छु, पत्रिका बन्द गर्ने निर्णय पुनर्विचार गर्नोस, पत्रिका पार्टीले नै चलाउनु पर्छ अझै केही बिग्रेको छैन । पार्टीबाट मलाई निष्कासित गरेपनि केही फरक पर्दैन तर पत्रिका पार्टीले उही रुपमा चलाउनु पर्छ भन्ने मेरो मान्यता छ । यो मेरो सम्पत्ति होइन, यो क्रान्तिकारी श्रमजीवी वर्गको साझा सम्पत्ति हो । म त संरक्षक मात्र हो । म ४० वर्षदेखि सुगर रोगबाट पीडित छु । अहिले म दौडधुप गर्न र सक्रिय हुन सक्दिन । यो अवस्थामा यदि पार्टी केन्द्रले बन्द गर्छ भने त्यसलाई चुप लागेर टुलुटुलु हेरेर बस्न पनि सकिन्न । म त्यसलाई निरन्तरता दिन बाध्यताले प्रयास गर्नुपर्दछ । यो पत्रिका सबै क्रान्तिकारी साथीहरुको साझा सम्पत्ति भएको हुनाले यसलाई बन्द भएको देख्न सक्नु हुनेछैन भन्ने कुरामा पनि म पूर्णत ः विश्वस्त छु ।
अन्तमा एउटा महत्वपूर्ण कुराको उल्लेख गर्न चाहान्छु । क. महामन्त्रीले शोभाखर धनञ्जयलाई शहिद भनेर लेख्नु भएको छ । त्यो देख्दा मलाई खुशी लागेको छ । शहिदलाई शहिद भन्दा खुशीलाग्नु स्वाभाविक हो । तर गणतन्त्र स्थापनापछि सरकारले सबै पार्टीसित शहिदहरुको सिफारिस माग गरेको बेला उहाँले शोभाखर धनञ्जयलाई हाम्रो पार्टीको शहिदको सूचीमा राख्नुु भएन । आज बडो दुःखको साथ यो कुरा मैले उठाउनु परेको छ । जब पत्रिका बन्द गर्नुप¥यो, यतिबेला मलाई “शहिद शोभाखर धनञ्जयमाथि विश्वासघात गरेको” भनेर आरोप लगाउनु भएको छ । “विश्वासघात” कसले गरेको छ ? स्वतः स्पष्ट छ । अर्को कुरा पनि जोड्न चाहान्छु, आज भदौ ११ गते शोभाखर धनञ्जय, नयाँ दिल्लीमा नेपाली एकता मासिक पत्रिका बेलारोडमा बिक्री गर्न जाँदा पडयन्त्रमूलक तथा रहस्यमय ढंगबाट हत्या गरिएको थियो । प्रत्येक वर्ष हाँक साप्ताहिकमा शहिद शोभाखर धनञ्यको स्मृतिमा लेख तथा समाचार छापिन्थे । आजको अंकमा शहिद धनञ्जयको स्मृतिमा एक शब्द पनि नलेख्ने र त्यही स्मृति दिवसको अवसरमा उहाँले स्थापना गरेको हाँक साप्ताहिकलाई सधैका लागि बन्द गर्ने पार्टी केन्द्रले शहिद भनेर गोहीका आँसु चुहाउनुको कुनै तुक छैन ।
हाँकका सम्पूर्ण शुभचिन्तक, पाठक, लेखक, स्तभकार, सम्वाददाता, सहयोगदाता तथा विज्ञापनदाताहरुसित म के अनुरोध गर्छु भने क. मोहन विक्रम सिंहले हाँक बन्द गरे पनि हाँक बन्द हुनेछैन । यसले निरन्तरता पाउने छ । “हाँकलाई प्रालिमा लैजान नदिएको” भन्ने विवाद बहाना मात्र हो मूल कुरो महामन्त्रीको दक्षिणपन्थी विचारलाई पार्टीमा स्थापित गर्न नसकेको आक्रोशपूर्ण अभिव्यक्ति हो । यो सिलसिला यही मात्र रोकिने छैन । अझै थुपै्र क्रान्तिकारी कमरेडहरुलाई अनुशासनको नाममा सफाया अभियान चलाइनेछ । भित्री पार्टी संघर्षको यो अवस्थामा सबै कमरेडहरुलाई अनुशासित, धैर्यता र संयमका साथ अगाडि बढ्न र पार्टीलाई एकताबद्ध तथा सुदृढ पार्नका लागि म सबै कमरेडहरुलाई पुनः अपिल गर्दछु ।”