बैतडी । प्रदेश नं. ७ मा मात्र १९८ जना कुष्ठरोगी उपचारमा रहेका छन् ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार आ.व. २०७३/७४ मा प्रदेश नं. ७ का जिल्लामा १९८ जना कुष्ठरोगी उपचारमा रहेकामा तीमध्ये सबैभन्दा बढी कैलालीमा १०६ जना रहेका छन् । कञ्चनपुरमा ४७ जना, अछाममा २२, डोटीमा ५, बैतडी, डडेल्धुरा र बझाङमा चार/चार जनाले उपचार गराई रहेका छन् भने दार्चुला र बाजुरामा तीन/तीन जनाले उपचार गराई रहेका छन् । १९८ जनामध्ये ७८ जना महिला र सात जना बालबालिका रहेका छन् ।
कुष्ठरोगकै कारण आ.व. २०७३/७४ मा सात जना अपाङ्गताको शिकार भएका क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ निरीक्षक मनोज ओझाले जानकारी दिए । प्रदेश नं ७ को पछिल्लो तीन वर्षयताको तथ्याङ्क हेर्ने हो भने प्रदेश नं. ७ मा कुष्ठरोगीको सङ्ख्या स्थिर रहेको छ । पहिलाको तुलनामा कुष्ठरोगीको सङ्ख्या घटे पनि अझै अपेक्षा अनुसार कम नभएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले बताएको छ ।
आ.व. २०७३/७४ मा २०९ जना कुष्ठरोगीका बिरामी पत्ता लागेको सुदूर पश्चिममा आ.व. २०७२/७३ मा २०८ र आ.व. २०७१/७२ मा २२६ जना पत्ता लागेका थिए । कुष्ठरोग सरुवा रोग भएकाले यसको लक्षण पाँच वर्षपछि पनि देखा पर्न सक्ने चिकित्सकले बताएका छन् । लक्षण देखिएको धेरै पछि मात्रै उपचारमा आउने प्रवृत्तिले यसले मानिसलाई अपाङ्गताको शिकार बनाउने गर्दछ । सरकारले कुष्ठरोगीको नि:शुल्क उपचार गर्ने गरेको छ ।