घोराही/ राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीको हालै बसेको बैठकले सिमा अतिक्रमण र राष्ट्रियताको विषयमा घोराहीमा अन्तरक्रिया गर्ने भएको छ । भारतीय साम्राज्यवादले बारम्बार नेपालको सिमा मिच्दै आएको र अहिले आफ्नो नाक्सामा कालापानी लिपुलेक को ठूलो नेपाली भुभागलाइ समेत सामेल गरेकोले त्यसका विरुद्धमा आगामी पौष २१ गते घोराहीमा अन्तरक्रिया गर्न लागेको जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा बैठक जारी विज्ञप्तिमा उल्लेख छ ।
देशको राष्ट्रियता संकटमा परेको, गणतन्त्र र धर्म निरपेक्षता माथी हमला भैरहेको र संघीयताका कारण दिन प्रतिदिन देशमा संकट थपिदै गएको उल्लेख गर्दै गणतन्त्र , धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा र संघीयताको खारेजीको लागि माघ महिना भरी जिल्लाव्यापी जनजागरण कार्यक्रम गर्ने विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी प्राकृतिक श्रोत साधन माथिको अनियंत्रित दोहनको बिरोधमा लमहि र गढबामा स्थानीय जनसमुदाय र सरोकारवालाहरु बीच अन्तर्कृया कार्यक्रम गर्ने निर्णय समेत गरेको अध्यक्ष आचार्यले बताउनुभयो । बैठक राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।