सार्कलाई निष्कृय बनाउनका लागि प्रयत्न गरिंदै छ: मसाल

0
831

भदौ १६, काठमाडौं । भारतले सार्कलाई निस्कृय बनाउनका लागि प्रयत्न गरिरहेको र त्यसको विकल्पका रुपमा विमिस्टेकलाई अगाडि ल्याउने प्रयत्न गरिरहेको नेकपा (मसाल)ले बताएको छ । काठमाडौंमा सम्पन्न विमिस्टेक सम्मेलन लगत्तै सम्मेलन वा त्यसको घोषणा पत्र बारे ने.क.पा. (मसाल)को दृष्टिकोण स्पष्ट पार्न महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गर्नुभएको छ ।

“सार्कको स्थापनाको बेलामा पनि हामीले यो विचार प्रकट गरेका थियौं कि भारतले सार्कलाई आफ्नो विस्तारवादी उद्देश्य पुर्तिका लागि उपयोग गर्ने प्रयत्न गर्ने छ ।” सिंहले वक्तव्यमा भन्नु भएको छ– “तर एकातिर, पाकिस्तान, अर्कातिर, चीनका कारणले सार्कमाथि आफ्नो प्रभूत्व कायम गर्नु वा त्यसद्वारा आफ्ना विस्तारवादी उद्देश्य पूरा गर्नु भारतलाई सम्भव भएन । त्यसैले त्यसले तत्काल हुने भनिएको सार्कको सम्मेलनलाई हुन दिएन र त्यसको ठाउँमा विमिस्टेकलाई अगाडि बढाउने प्रयत्न गरिरहेको छ ।”

विमिस्टेकमा भारतसित प्रतिस्पर्धा गर्न सक्ने पाकिस्तान वा चीन जस्ता कुनै देश नभएकोले त्यसले विमिस्टेकसित सम्बन्धित देशहरुमा आफ्नो प्रभाव बनाउन सक्ने छ भन्ने आशा गरेको मसालको वक्तव्यमा उल्लेख छ ।

विमिस्टेकको सम्मेलनमा नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीले विमिस्टेक सार्कको विकल्प नभएको, तर दुवै एक अर्काको पुरक भएको बताएका छन्, प्रम ओलीले त्यस प्रकारको विचार प्रकट गरेर एउटा प्रशंसनीय कार्य गरेको मसालले बताएको छ ।

ओली पाकिस्तानमा हुने भनिएको सार्कको सम्मेलन बनाउन असमर्थ हुन्छन् र उनको नेतृत्वको कालमा नै त्यसको (सार्कको) विघटन हुन्छ भने त्यो नेपालको कुटनीतिको असफलता नै हुने मसालको ठठहर छ । तर त्यसका लागि मुख्य दोष नेपालको नभएर भारतको नै हुने मसालले जनाएको छ । “भारतले सार्कको सम्मेलन बारे अपनाएको गलत दृष्टिकोणका कारणले नै त्यसको सम्मेलन हुन सकेको छैन र त्यसको भविष्य पनि अनिश्चित भएको छ ।”

“विमिस्टेकको घोषणा पत्रको एक नम्बर बुँदामा नै त्यसका सबै सदस्य देशहरुले एक अर्काप्रति अहस्तक्षेपको नीति अपनाउने भनिएको छ । तर स्वयं भारत नै त्यस प्रकारको नीतिका विरुद्ध भएको कुरा इतिहासले बताउँदै आएको छ ।” वक्तव्यमा सिंहले भन्नु भएको छ– “सबभन्दा पहिले त त्यसले नेपाल माथि नाकाबन्दी सहित नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा लगातार हस्तक्षेप गर्दै आएको छ ।”

अहिलेको विमिस्टेक सम्मेलनले बौद्ध सर्कटको अवधारणा पनि अगाडि ल्याएको छ, त्यस प्रकारको अवधारणाबाट यी देशहरुमा पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुग्ने आशा गर्न सकिने मसालको आंकलन छ । “त्यस विमिस्टेकका धेरैजसो देशहरु बौद्ध धर्मावलम्बी नै छन् । बौद्ध धर्मको केन्द्र नेपाल नै हो । त्यसकारण। त्यसबाट नेपालको विकासमा पनि धेरै नै मद्दत पुग्ने छ । तर त्यो अवधारणाले पनि कहाँसम्म व्यवहारिक रुप लिन सक्ने छ त्यो विचारणीय प्रश्नहो ।”
वक्तव्यको पूर्ण (PFD)

State

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here