काठमाडौं । राष्ट्रिय जनमोर्चाकि सांसद दुर्गा पौडेलले सरकारले सम्झौता गर्ने र त्यसको पालना नगर्ने प्रवृत्ति दोहोरिँदा डा गोविन्द केसी फेरि अनसन बस्नुपरेको भन्दै त्यसको सम्बोधन गर्न माग गरेकी छिन्।
आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पौडेलले कसैले माग राखेर अनसन बसेपछि सरकारसँग भएको सम्झौता सम्झाउनुपर्ने अवस्था आउनु दुःखद भएको टिप्पणी गरिन्।
‘सम्झौता गर्नुअघि नै सरकारले सोच्नुपर्थ्यो’, उनले भनिन्, ‘यो पदमा बसेका मानिसले पनि सम्झौता गर्ने र कार्यान्वयन नगर्ने हो भने यसको महत्व कहाँ पुग्छ?’
सरकार सम्झौता गर्ने अनि केसी अनसन मात्र बस्ने शृंखलाको अन्त्य हुनुपर्ने उनको भनाइ थियो।
सरकारले विधेयक ढिलो दर्ता गर्दा संसदले नियम निलम्बन गरी पारित गर्ने प्रक्रियाप्रति पनि उनले असन्तुष्टि जनाइन्।
‘सरकारलाई विधेयक ल्याउनुपर्ने थाहा हुँदाहुँदै समयमा पेस नगरी अन्तिममा आएर पेस गरी नियम निलम्बन गर्नु उचित होइन’, उनले भनिन्, ‘नियमावली निर्माण गर्ने र उक्त नियमावली निलम्बन गरेर कानुन बनाउनुको के अर्थ छ?’
चिकित्सा शिक्षा विधेयक आजै नियम निलम्बन गरेर पारित गराउने तयारी सरकारले गरेको छ। शुक्रबार राष्ट्रियसभा लगायतका केही विधेयक पनि यही प्रक्रिया अन्तर्गत पारित गरिएको थियो।