मेघराज नेपाली
म एउटा नेपाली नागरिक हुँ मलाई नेपाली हुनुमा जति गर्व छ शायद संसार कै सम्पूर्ण मानव जातिलाई आफ्नो देशप्रति उत्तिकै गर्व हुन्छ । म एक जना प्रदेशी नेपाली जसले जम्मा १६ बर्ष आफ्नो जन्म भुमिमा र ३२ बर्ष प्रदेशमा बिताएको छु । म जस्ता ७० लाजायति भन्दा बढी नेपाली आफ्नो जन्मभुमीबाट टाढा कर्मभुमीमा दिनलाई रात र रातलाई दिन सम्झेर उर्जाशिल जीवन बिताउँदै हुनुहुन्छ । उहाँको मन सधैं नेपाल र नेपाली राज्य ब्यबस्था अनि आफ्नो जहान बच्चा आमा–बुवा, दिदी–बहिनी, साथी–संगी, गाउँ–बेशी, इस्टमित्र–नातागोतालाई सम्झँदै बिताउनु हुन्छ । हामीलाई कति पिडा छ त्यो हामी बाहेकका कसैलाई थाहा छैन । किन कि प्रदेशिनु हाम्रो रहर होइन । प्रदेश जहाँ जाति, धर्म, भाषा, भेष जाति सबैमा फरक हुन्छ ।
प्रदेश तिज, दशैं, तिहार, माघि, होली समग्रमा भनौं चाढपर्व बिनाको हुन्छ । आफन्त मर्दा उपस्थित हुन सक्दैन । कसैको विवाह, आजा–पूजा परिवारको खुशी सबै त्यागेको हुन्छ प्रदेशिले । उस्तैपरे छोरा छोरीले चिन्न नसक्ने अवस्था पनि हुन्छ प्रदेशिको, तर पनि आफ्नो देशको राजनीतिक अवस्था तङि«यला सुध्रियला र काम गरेर खाने बातावरण बन्ला कि भन्ने झिनो आश मनमा राखेर बाचेँका हामी लाखौं नेपालीको मतदान गर्ने नैसर्गिक अधिकारलाई बेवास्ता गरेका हाम्रा शासकहरुलाई हामीले बगाएको खुन पसिनाको उपज पैसा भन्दा बाँकी कुनै सरोकार नै छैन । हामी नेपाली विश्वको जहाँ बसे पनि नेपालप्रति आस्था माया सधैं राखे कै हुन्छौं ।
नेपालमा हुने हरेक राजनीतिक परिवर्तनमा हामी प्रदेशी नेपालीको उत्तिकै योगदान हुन्छ जत्तिको नेपाल भित्र बस्ने नागरिक बुद्दिजिबी कर्मचारी राजनीतिक पार्टीहरुको । हामीले प्रदेशबाट हरेक परिवर्तनका लागि आर्थिक सहयोग नैतिक समर्थन उस्तैपरे भौतिक उपस्थिति भएको हुन्छ । तर पनि हामीलाई हेर्ने दृष्टिकोण फरक छ । गरिने व्यबहार फरक छ । माछा मिठो, काढा तितो किन ? राष्ट्र चलाऊने अर्थिक श्रोत प्रदेशी नेपाली हुन सक्छ भने नेपालको राज्यसत्ता सञ्चालकहरुलाई चयन गर्ने उसको मत किन हुन सक्दैन ? हामी हजारौं सपना मनमा बोकेर प्रदेशिन्छौं । अनी काठको बाकसमा फर्किनु पर्दाको पिडा राज्यले महसुस गर्ने कि ? हाम्रा जहान बच्चाको शिक्षा स्वास्थ्य राज्यको जिम्मेवारीबाट पन्छिनु के ठीक हो ? समयमा तलब नपाउँदा हामीले समयमा पैसा पठाउन नसक्दा, हामी बिरामी पर्दा हामी अङभङ हुँदा हामीलाई राहतको व्यवस्था समेत नगर्ने सरकारलाई हामीले कर किन तिर्ने ? हामीले तिरेको करबाट हाम्रो लागि राज्यले कुनै काम नगरर्ने अनी हामीले किन कर तिर्ने ? कर तिर्नु को पनि उद्देस्य हुन्छ ।
तर हामीहरुको करबाट उठेको पैसाको हिसाब किताब खै ? मन्त्री, नेता कर्मचारी पाल्न हामीले कर तिर्नु पर्ने हो ? कि हामी प्रदेशी नेपालीको हकहित संरक्षणको लागि कुनै काम गर्नको लागि ? नेपालमा जसले करछलि गरेको छ दुनियाँ हुँदै राज्यलाई ठगेको छ । त्यस्ता ब्यक्ती उच्च ओहोदाको मानिन्छन् । संस्कार नभएको मेरो देशमा करको पिडा इमान्दार सोझा नागरिकको लागि मात्रै बन्न पुगेको छ । बेइमानहरु हरेक ठाउँमा बसेका छन् । कसरी सम्पत्ती विवरण घटाउन सकिन्छ ? कसरी बढाउन सकिन्छ कसरी राज्यलाई ठग्न सकिन्छ ? भन्ने दिनरात योजना बनाउँछन् । उनीहरु अडिटर इन्जिनियर कम्पनी खोलेर लुट्न बसेका छन् । वकिल, अदालत, मालपोत कार्यालय सबै ठाउँ अछुतो कही छैन भन्ने आधारहरु प्रसस्तै छन् । तर प्रदेशीहरु कुनै ठाउँमा बेइमानी गर्दैनन् । पैसा बैंकबाट पठाउछन्, त्यहीँबाट उसको तिर्ने ठाउँ सुरु हुन्छ । पठाउने बैंक अनि पाउने बैंक दुबै ठाउँमा पैसा असुलिन्छ । घरसम्म पैसा पुग्दा हामीले राष्ट्रलाई कर तिरि सकेका हुन्छौं ।
यदी मैले तिरेको करबाट मेरो देशमा उद्योग खुल्छ भने म कर दुगुना तिर्न तयार छु । यदी मैले तिरेको करबाट व्यबहारिक शिक्षा बालबालिकाले पाउछन् भने म कर खुशी खुशी तिर्छु । यदी मैले तिरेको करबाट मेरो बृद्ध अवस्थामा मेरो मुखमा माड हाल्ने सरकारी योजना छ भने म कर बिन कर तिर्छु । यदी मलाई स्वास्थ्य सामाजिक सुरक्षा उपलब्ध मिल्छ भने म कर हासी खुशी तिर्छु । तर यदी मैले तिरेको करबाट तबल खाने हाकिम मन्त्री कर्मचारी राजदुत नै मलाई प्रताडित गर्न लागेको हुन्छ भने म किन कर तिछु ? कुनै उध्योग कुनै आयोजना कुनै उर्जा कुनै कृषि योजना कुनै शिक्षा कुनै स्वास्थ्य बेबस्था ठीक छैन र योजना पनि छैन भने तपाईं हामी किन के को लागि कर तिर्ने ? यिनै राष्ट्रघाती देश लुटेरा नेताहरुको भरण पोषण गर्न ?
क्रमशः…….