काठमाडौं । सरकारले सुचना अधिकृतको दरबन्दी कटौती गरि कम्प्युटर इन्जिनियरको दरबन्दी थप गरेको विषयमा सुचना प्रबिधि सम्बद्ध विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् । सिएसआइटि एसोसिएसन अफ नेपाल, कम्प्युटर साइन्स अल्मुनाइ एसोसिएसन तथा कम्प्युटर साइन्स विद्यार्थी एसोसिएसनले सरकारको उक्त निर्णयको प्रतिकार गर्दै कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
गत बैशाख ४ मा बसेको मन्त्रिपरिषद बैठकले १२ वटा मन्त्रालय अन्तरगतका ३४ वटा विभाग तथा विभाग स्तरका निकायहरुको संगठन संरचना र दरबन्दी तेरिज स्विकृत गरेको थियो । नयाँ स्विकृत संगठन संरचनाअनुसार १९ वटा विभागहरुमा २९ वटा कम्प्युटर अधिकृतको दरबन्दी कटाएर २१ वटा कम्प्युटर ईन्जिनियरको दरबन्दी थप गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयको यस निर्णय प्रति घोर आपत्ति जनाउँदै कम्प्युटर विज्ञान तथा सूचना प्रविधि आल्मुनाइका अध्यक्ष सुशान्त पौडेलले सरकारले यस अघि स्थानीय तहहरुमा आइटी अफिसर करारमा राख्ने समयमा पनि यस प्रकारको विषय उठेको र सो समयमा उक्त निर्णय सच्चाएता पनि पुस्न सूचना प्रबिधिक सम्बद्ध विद्यार्थीहरुलाई मारमा पारेको जनाएका छन् ।
कम्युटर इन्जिनियर तथा कम्युटर अधिकृतको कार्य संरचनामा खासै फरक नभएता पनि सरकारले एउटाको दरबन्दी कटौती गरेर अर्कोमा थप गर्नुको कुनै औचित्य नभएको भन्दै सिएसआइटिएनका केन्द्रीय सदस्य सुदिप पौडेलले यो निर्णय नसच्यमा आफुहरु कडा आन्दोलनमा उत्रने बताए ।
नेपालमा त्रिभुवन विश्व विद्यालयलगायतका विश्व विद्यालयहरुबाट कम्प्युटर बिज्ञान तथा सूचना प्रविधि विषयमा बर्सेनि झण्डै २ हजारभन्दा बढी विद्यार्थी स्नातक एवं झण्डै २०० भन्दा बढी विद्यार्थी स्नातकोत्तर तहमा उत्तीर्ण हुने गरेका छन् । यो विषयको माग दिन प्रतिदिन बढ्दै गएको भएता पनि सरकारले यसले सुधारमा उचित ध्यान नदिएको विद्यार्थीहरुको गुनासो छ ।