समाजवादको विजय अवस्यम्भावी- सिंह

0
438

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री सिंहले समाजवादको विकास अवश्यम्भावी भएको बताउनुभएको छ । विश्व सर्वहारावर्गका नेता लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा मसालका तर्फबाट सोमबार एक वक्तव्य प्रकाशित गर्दै उक्त कुरा बताउनुभएको हो । उहाँले बिश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको भएपनि आर्थिक संरचनाको विकास र पूँजीवादभित्र बढ्दै गइरहेको सङ्कटका कारण समाजवादको भविश्य उज्ज्वल रहेको बताउनुभएको छ ।

वक्तव्यको पूर्णपाठ:
“आज २२ अप्रिल, लेनिनको जन्मजयन्ती र पार्टीको स्थापना दिवस पनि हो । पार्टीको स्थापना भएको ७० वर्ष पूरा भएर ७१ वर्षमा लागेको छ । त्यसैले आजको दिन अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलनका दृष्टिकोणले नै धेरै महत्वपूर्ण रहेको छ ।

गतकालमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलनमा पनि धेरै महत्वपूर्ण उपलब्धीहरू भएका छन् । यही कालमा नै विश्वमा समाजवादी व्यवस्थाको स्थापना भयो र कम्युनिष्ट आन्दोलन विश्वको एउटा निर्णयात्मक शक्ति बन्यो । नेपालमा पनि यो कालमा हाम्रो पार्टीले धेरै नै महत्वपूर्ण भूमिका खेलेको छ र देशका राजनीतिक आन्दोलनहरूमा त्यसको ऐतिहासिक योगदान रहेको छ ।

तर यो कालमा विश्व कम्युनिष्ट आन्दोलनमा कैयौँ समस्या र असफलताहरू पनि रहेका छन् । यो कालको सबैभन्दा ठूलो असफलता विश्व समाजवादी व्यवस्थाको पतन नै हो । खास गरेर दुश्मनहरूको वाह्य आक्रमणलेभन्दा कम्युनिष्ट आन्दोलन भित्रका आन्तरिक भड्कावहरू र समाजवादी व्यवस्था भित्रका असङ्गतीहरूका कारणले नै त्यस्तो भएको हो । त्यसको परिणामस्वरूप विश्व कम्युनिष्ट आन्दोलन अहिले रक्षात्मक र अत्यन्त कमजोर अवस्थामा पुगेको छ ।

नेपालको कम्युनिष्ट आन्दोलनमा पनि विभिन्न प्रकारका भड्कावहरू, खास गरेर दक्षिणपन्थी र उग्र‘वामपन्थी’ भड्कावहरूका कारणले तथा सङ्गठनात्मक क्षेत्रमा जनवादी केन्द्रियताको उल्लङ्घनका कारणले धेरै नै क्षति पुग्ने गरेको छ ।

अन्तर्राष्ट्रिय वा नेपालको कम्युनिष्ट आन्दोलनमा तात्कालीक रूपमा धेरै क्षति पुगे पनि त्यसको अर्थ कम्युनिष्ट आन्दोलनको अन्त भयो भन्ने होइन । समाजभित्रको कुनै संरचना वा व्यवस्थालाई निर्धारण गर्ने निर्णयात्मक तत्व भौतिक परिस्थिति नै हो । त्यसैले माक्र्सवादी–लेनिनवादी दर्शन वा कम्युनिष्ट आन्दोलनलाई जन्म दिएको थियो । अहिले कम्युनिष्ट आन्दोलन कमजोर भएको भए पनि भौतिक परिस्थिति वा आर्थिक संरचनाको जसरी विकास भइरहेको छ, त्यसले समाजवादको लागि भौतिक आधार तयार पार्ने कार्य गरिरहेको छ भने, अर्कातिर, पूँजीवादभित्र झन्‌पछि झन् सङ्कट बढ्दै गइरहेको छ । त्यस प्रकारको स्थितिमा समाजवादको विजय अवस्यम्भावी छ । अन्तर्राष्ट्रिय क्षेत्रमा र नेपालको कम्युनिष्ट आन्दोलनमा पनि त्यस प्रकारको सफलतालाई सुनिश्चित गर्न काम गर्नु संसारका सबै माक्र्सवादी–लेनिनवादीहरूको दायित्व हुन्छ । त्यसरी नै समाजवादको क्रान्तिकारी वस्तुगत परिस्थिति अनुसार क्रान्तिकारी परिस्थिति तयार पार्नु सम्भव हुने छ र त्यसले समाजवादको उज्ज्वल भविष्यलाई व्यवहारिक रूप दिनेछ । निश्चय नै त्यसका लागि संसारभरका र नेपालका पनि कम्युनिष्टहरूले लामो र कडा सङ्घर्ष गर्नुपर्ने छ र आज लेनिन जयन्ती तथा पार्टीको ७१ औँ स्थापना दिवसको अवसरमा हामीले त्यही प्रतिबद्धता प्रकट गर्नुपर्दछ र गर्दछौँ पनि ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here