सन्धिखर्क । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मुलुकको सङ्घीयता खारेज नभए नेपाल नरहने उद्घोष गर्नु भएको छ । कालान्तरमा पहाड र तराइलाई टुक्राएर नेपाललाई भारतमा गाभ्ने योजना अनुसार सङ्घीयता आएको दाबी गर्दै अध्यक्ष केसीले मुलुकमा सङ्घीयता टिके नेपाल रहन नसक्ने जिकिर गर्नु भएको हो । कोजाग्रत पूर्णिमाको अवसरमा २०७५ कार्तिक ७ गते राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अर्घाको रानीगैरामा आयोजना गरेको बिशाल साँस्कृतिक सभालाई सम्बोधन गर्दै उहााले यस्तो जिकिर गर्नु भएको हो ।
कर वृद्धि, महङ्गी र भ्रष्टाचारको विरोध, गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको रक्षा र सङ्घीयताको खारेजी भन्ने मूल नाराका साथ ऐतिहासिक स्थल अर्घाको रानीगैरामा आयोजित विशाल जनसभालाई उद्घाटन गर्दै अध्यक्ष केसीले नेपालको तराई क्षेत्रको भूभाग भारतले आफ्नो कब्जामा पार्ने रणनीति सङ्घीयताबाटै सम्भव रहेको र यसको ज्वलन्त उदाहरण ५ नं. प्रदेशलाई तराईबाट छुट्टाउने खेल भएको बताउनु भयो । अध्यक्ष केसीले एउटा सरकार सञ्चालनका निम्ति विदेशीसँग हारगुहार गर्नु पर्ने देशमा आठवटा सरकार सञ्चालन गर्न नेपाली जनताले थेग्न नसक्ने, जनप्रतिनिधि नामका कर्मचारी पाल्न वृद्धि गरिएको कर तिर्न नसक्ने जस्ता उदाहरण दिंदै कुनै पनि पक्षबाट नेपालमा सङ्घीयता आवश्यक नभएको र टिक्न पनि नसक्ने बताउनु भयो । सङ्घीयता खारेज नभए नेपाल सिक्किम बन्ने चेतावनी दिदै अध्यक्ष केसीले सङ्घीयताको खारेज गरी समृद्ध मुलुक निर्माणका निम्ति सबै जनता एकजुट हुन जोड दिनु भएको थियो ।
अहिलेको सरकार कम्युनिस्टको नभएको दावी गर्दै उहाँले नझुकिकन जनतालाई आग्रह गर्नु भएको छ । “तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा नाम मात्रको पार्टी हो, यो कम्युनिस्ट पार्टी होइन” अध्यक्ष केसीले भन्नु भयो– “वर्तमान सरकारको कार्यशैली परिवर्तन नभए देशमा अझै अराजकता बढ्दै जानेछ ।” उहााले सबैखाले गलत कदमलाई निस्तेज पार्नेगरी काम गर्न सरकारलाई सुझाव समेत दिनुभएको छ ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता, उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्य र सचिव बाबुराम सुनारको सञ्चालनमा सम्पन्न सभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मी, राष्ट्रिय जनमोर्चा प्रदेश नंं ५ का सदस्य शेर बहादुर बिसी, नेता सागर केसी, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष शकुन्तला राना, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष कुलराज खनाल, अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर लगायतका वक्ताहरुले सम्बोधन गर्दै नेपाली जनता कसैको दास र गुलामी नभएको भन्दै मुलुकको बाग्डोर समाल्नेहरुले विदेशीको चाकडी गरेकोमा आफूहरु चिन्तित भएको बताउनु भयो ।
अर्घाखाँची सहित छिमेकी जिल्ला प्युठान, गुल्मी, कपिलवस्तु, रूपन्देही, पाल्पा लगायतका स्थानबाट हजारौा दर्शकहरुको सहभागिता रहेको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्र तथा जिल्लाका कलाकारहरुले विविध जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनु भयो ।