मुम्बई, २ सितम्बर । नेपाल जस्तो विविधता भएको मुलुकमा संघीय प्रणाली उपयुक्त नभएको दावा गर्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले यदि नेपालबाट संघीय शासन प्रणालीलाई छिटो भन्दा छिटो खारेज गर्न नेपाली जनता जागरुक नभए यहि संघीयताले नै नेपाललाई नै खारेज गर्ने ठोकुवा गर्नु भएको छ । नेपालीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत मुम्बई नगर भेलालाई सम्बोधन गर्दै अगाडि भन्नु भयो– “सम्पूर्ण प्रवासी नेपालीहरु पनि नेपालबाट संघीय शासन प्रणालीलाई खारेज गर्न संगठनमा आवद्व भएर सक्रिय भुमिका खेल्नु पर्ने अबस्था छ ।”
“देशमा रहेका शासकहरुको अदुरदर्शिताको कारण आज देश फिजि बन्ने खतरा निम्तिएको छ ।” नेपालीले अगाडि भन्नुभयो– “संघीय शासन प्रणालीले गर्दा जनताले सामान्य दुईटा गाई पाले पनि उसको कर तिर्न पर्ने अवस्था रहेको छ जनता करको मारमा परेका छन ।”
नवनिर्वाचित समितिलाई शुभकामना दिदै प्रमुख अतिथि रश्मिराज नेपालीले भारतमा नेपालीहरुले भोग्नु परेका समस्या, उनीहरुलाई संगठनको आवश्यकता र एकता समाजले नेपालको जनपक्षीय आन्दोलनमा खेल्दै आएको भुमिका बारेमा समेत प्रकाश पार्नुभएको थियो ।
भेलाले मोहन ठकुल्लाको अध्यक्षतामा ९ पुर्ण २ वैकल्पिक र २ सल्लाहकार गरि १३ सदस्यीय मुंवई नगर समिति चयन गरेको छ । जसमा: उपाध्यक्ष– बम खड्का, सचिव– बाबुराम अर्याल र कोषाध्यक्ष– प्रेम विष्ट रहेका छन् । त्यस्तै सदस्यहरुमा: हेमराज अधिकारी, करण पुरकोटी, नर बहादुर रावल, किरण आले र एक रिक्त वैकल्पिक सदस्यहरुमा: चन्द्र सुवेदी र डम्मर दर्लामी रहेका छन् । सल्लाहकारको दुई रिक्त राखिएको छ । नयाँ समितिको नामावली टंक कुँवरले प्रस्तुत गर्नुभएको थियो ।
नर बहादुर रावलको अध्यक्षता र मोहन ठकुल्लाको सञ्चालनबाट अगाडि बढेको सो भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव द्वय प्रेम पौडेल र इन्द्र भेटाल, मध्य पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष टंक कुँवर, रायगड नगर समितिका अध्यक्ष जितमान सिंजालले अतिथि आशनग्रहण गर्नुभएको थियो ।
ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनटको मौनधारण पछि उपस्थित जनसमुदायहरुलाई हेमराज अधिकारिले स्वागत गर्नुभएको थियो ।