– सिंजाली माइलो
जिउमा थकाइले दाइँ मच्चाएको छ
आँखामा निद्रा कच्पचल्टिएको छ
रातदिन काममै धुरन्धर खटिएको छ
जीवन सदा उरालधुराल भएको छ
गर्जो टार्न गैटी, बेल्चा र भारीकै सहारा छ
लेक, वेशी, कइनेटा र भञ्ज्याङ्को संगत छ
उकाली ओरालीसँग जुध्नु दिनचर्या भएको छ
ढुंगेनी ककारो, वनपाखासँगै पिरती जोडेको छ
उसैले कहिल्यै भर पेट खानै पाएन
राम्रो लुगाले कहिल्यै आङ गुथ्नै पाएन
बा दम र सुगरले गिलिफित्ती परेका छन्
पोहोर आमाले उपचार बिनै स्वास रोकिन्
जिन्दगी के हो ? भाग्यको खेला सम्झन्छ
व्यवस्था के हो ? ठुला बडाको पेवा भन्छ
अधिकार के हो ? आफ्नै औकात सम्झन्छ
शोषण के हो ? उ अझै अचेत नै छ
नुन र सिटामोलको जोहो गर्दागर्दै
शिक्षा र रोजगारको सपना देख्दादेख्दै
ठक्करै ठक्करले अलिक कान ठाडो पार्दैछ
भर्खर उ बाहिरी संसारको कखरा सिक्दैछ
समृद्धि ! उसलाई कुन चराको नाम हो
नोकरी ! उसलाई भ्रष्टाचारको खानी हो
राजनिती ! उसलाई कमाई खाने भाडो हो
विदेशीनु ! उसलाई अत्याधुनिक काम हो
थपक्क ओछ्याइएका दोभानका फाँटहरु
सुस्साउदै गाउने वन जंगल र जडिबुटीहरु
छङ्छङाउदै बगेका ठुल्ठुला खोला र नदिहरु
खित्काएर हाँसेका सेताम्पुर अग्ला हिमालहरु
यहाँ व्यवस्था प्रतिक्रियावादी छ के थाहा
यहाँ कानुन पक्षपाती असमान छ के थाहा
यहाँ दलाल भ्रष्ट सरकार नै टिक्छ के थाहा
यहाँ जो होचो उसकै मुखमा घोचो के थाहा
ब्युझाउनु छ उसलाई यो चकमन्नतामा
झल्मलाउनु छ ज्ञानको घाम यो अन्धकारमा
झकिझकाउ सुन्दर व्यवस्थाको खातिर
सिकाउनु छ लड्न चौडा छाती अदम्य साहसमा