भरतपुर/ नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकालले पार्टी सदस्य महानन्द शर्मा (का. गाउँले) को निधनबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई गम्भीर क्षति पुगेको बताउनु भएको छ । मंगलबार भरतपुरमा आयोजित शोक सभामा शोक मन्तव्य व्यक्त गर्दै प्रवक्ता ढकालले श्रमजीवी आन्दोलनमा शर्माले पुर्याउनुभएको योगदानको चर्चा गर्दै उक्त कुरा व्यक्त गर्नुभएको हो ।
शर्माको निधनको सातौँ दिनमा नेकपा (मसाल) चितवन र विभिन्न जनवर्गीय सङ्गठनहरद्वारा संयुक्तरुपमा मंगलबार भरतपुर महानगरपालिका वडा नं. ७ लालिगुराँस चोकस्थित उहाँको निवासमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष डम्बर पुरी र राजमो रत्ननगर नगर समितिका अध्यक्ष नारायण आचार्यले शोक मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता राजमो भरतपुर महानगर समितिका अध्यक्ष पुष्पकमल सुबेदी र सञ्चालन सचिव सुमन आचार्यले गर्नुभएको थियो । कार्यक्रमा नेकपा (मसाल) का पूर्व केन्द्रीय प्रवक्ता विमल शर्मा र राजमो नवलपुर जिल्ला अध्यक्ष दिपक पाण्डेलगायतका नेता तथा कार्यकर्ताको समेत उपस्थिति रहेको सचिव सुमन आचार्यले बताउनुभयो ।
शर्मा लामो समयसम्म दक्षिण भारतको पाण्डिचेरीमा मूलप्रवाह तत्कालीन अखिल भारत नेपाली वामपन्थी युवक मोर्चा र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा काम गरी २०५९ मा चितवन जिल्लाको रत्ननगर नगरपालिका–१ मा बस्दै आउनुभएको थियो । त्यसयता चितवन जिल्लाको क्रान्तिकारी आन्दोलनमा सक्रियता पूर्वक सहभागी हुँदै आउनुभएको थियो ।
पिता अनन्तप्रसाद उपाध्याय र माता लीलावति शर्माका माइलो सन्तानको रूपमा २०२० जेष्ठ १५ गते साविक बागलुङ पैयुँथन्थाप गाविस–३ मा जन्मनुभएका शर्माको ५६ वर्षको उमेरमा पुस २२ गते काठमाडौँस्थित वीर अस्पतालमा निधन भएको थियो । उहाँका श्रीमती, एक छोरा, दुई छोरी/ज्वाइँ, तीन नाती र दुई नातिनीहरू हुनुहुन्छ ।